मुग्लानी खबर असोज ११
मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले पछिल्लो पटक तय गरेको भाका फेरि सरेको छ। मेलम्ची खानेपानी आयोजनाका अनुसार मेलम्चीको पानी काठमाडौं आइपुग्न अझै दुई महिना लाग्ने भएको छ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले मेलम्चीको पानी काठमाडौंमा खस्न अझै ६० दिन समय लाग्ने जवाफ दिएका हुन्।
खानेपानीमन्त्रीमा नियुक्त भएसँगै बिना मगरले गत २७ चैतमा दशैंअघि नै काठमाडौंबासीलाई मेलम्चीको पानी पिलाउने आश्वासन दिएकी थिइन्। पछिल्लो समय गत १० असारमा पत्रकार सम्मेलन नै गरेर मन्त्री मगरले दशैंअघि नै मेलम्चीको पानी काठमाडौं आइपुग्ने दाबी पुनः दोहो¥याएकी थिइन्।
यसअघि सरकारले गत बैशाखमै काठमाडौंबासीलाई मेलम्चीको पानी पिलाउने आश्वासन दिएको थियो।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले टनेलको फिनिसिङ गर्नुपर्ने कुल लम्बाई २५ हजार ८ सय मिटरमध्ये हालसम्म १५ हजार ३ सय ८७ मिटर टनेल निर्माण सम्पन्न भइसकेको बताए। ‘अहिले दैनिक २ सयदेखि २ सय ५० मिटरका दरले सुरुङ निर्माण कार्य भइरहेको छ’, उनले भने।
सबै कुरा सोचेअनुसार भए ३० देखि ४० दिनमा टनेल निर्माणको सम्पूर्ण काम सम्पन्न हुने र बाँकी अवधिमा अन्य काम सकेर आगामी ६० दिनभित्र मेलम्चीको पानी सुन्दरीजल ल्याइसक्ने सचिव ठाकुरले बताए।
फिनिसिङ गर्ने कामका लागि अहिले ६ चरणमा काम भइरहेको आयोजना प्रमुख कँडेलले बताए। ‘पहिले दैनिक २ देखि साढे २ सय मिटर फिनिसिङ गर्न सक्ने अनुमान गरिएको थियो,’ उनले भने, ‘दुई महिनापछि अहिले आएर मात्रै त्यो गतिमा काम गर्न सकेका छौं।’
टनेल बनाई साधारण फिनिसिङ गरेपछि पानी आउने बुझाइका आधारमा दशैंको मिति तय गरिएको, तर त्यसको काम सोचेजस्तो सहज नभएका कारण थप लम्बिएको आयोजना प्रमुख कँडेलले बताए। ‘काम गर्दा कतै बढी खन्नुपर्ने, कतै बढी खनेकालाई पुर्नुपर्ने र नमिलेको साइज मिलाउनुपर्ने भयो’ उनले भने। यस्ता काम टनेल खन्दा नै गर्नुपर्ने काम भएपनि नगरिएका कारण समय लम्बिएको उनको भनाइ थियो।
‘नयाँ प्रकृतिको काम र अनुभवको अभावमा समय लागेको हो’, सचिव ठाकुरले भने।
मेलम्ची बासिन्दाले काठमाडौंलाई पानी दिएबापत केही हिस्सा खोजेका आयोजना प्रमुख कँडेलले बताए। यस्तो विषय ऋण सम्झौता गर्दा नै एसियाली विकास बैंकसँग गरिएको उनले बताए। समयमै ठोस निर्णय नभएपछि असहजता निम्तिन सक्ने उनले बताए। त्यसका लागि राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा एक समिति पनि गठन भइसकेको उनले बताए।
त्यस्तै, रकम भुक्तानीका विषयमा पनि ठेकेदारले केही समस्या देखाएको र त्यसका लागि पहल भइरहेको आयोजना प्रमुख कँडेलले बताए।
समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’ले मेलम्चीको पानी काठमाडौं आउने मिति अब नसार्न मन्त्रालय र आयोजनालाई चेतावनी दिइन्।