मुग्लानी खबर डटकम
सन्तोष के.सी
नेपाली हरुको महान दोस्रो चाड हो तिहार, बिजया दशमी जस्तै तिहार नेपालीहरूलाई गजबले लाग्छ । यी चाडबाडमा हामि नेपालीहरूको मनस्थितिनै अलि बेग्लै भएको हुन्छ ।
हो गरिबी, बेरोजगारी, उत्पीडन र अभावमा बाँच्न बाध्यहरूका लागि दसैं तिहार र अन्य चाडबाडहरूले थप चिन्ता पनि उत्पन्न गर्छन् तर पनि ऋणपान र सरसापट गररे भए पनि दसैं तिहार मज्जाले मनाउन्छौ र उत्सव जीवनमा केही दिनका लागि भए पनि प्रवेश गर्छ ।
तिहार अव नेपालका घरगाउँ र सहरहरूमा मात्रै सीमित छैन । मेची-महाकालीभित्र मात्र पनि सीमित छैन । दार्जिलिङ, आसाम, मेघालय र बर्मा (म्यानमार) मा मात्र पनि सीमित छैन । तिहार त लन्डन, वासिङटन, न्युयोर्क र सिड्नी, अमेरिका, अस्टे्रलिया, बि्रटेन, क्यानडादेखि दुबई, कतार, नाइजेरिया दक्षिण अफ्रिका लगायत प्राय देसमा पुगेकोछ । अर्थात् तिहार 'ग्लोबलाइज' भएको छ र यसको अन्तर्राष्ट्रियकरण बढ्दो छ । जहाँ-जहाँ नेपालीहरू पुगेका छन्, त्यहाँ-त्यहाँ तिहार पुगेको छ । परिवारहरू मिलेर नेपालमा लक्ष्मी-पूजा, भाईटीकाको तयारी गर्दै छन् तर कारणवस घर-परिवारसंग टाढा रही आफ्ना दिदीबहिनीको हातबाट टीका, माला ग्रहण गर्न नसक्ने नेपाली हरु युरोपका चिसा भूभागदेखि अरबका ताता मरुभूमिहरूसम्म लाखौ रहेकाछन ।
दाजुभाई तथा दिदिबहिनि बिचको आत्मीय र पबित्र स्नेह एवं सम्बन्ध प्रदर्सन नै तिहारको बिशेषता हो | तिहारमा दाजुभाईको आयु, सधा वृद्धिहोस् भनेर दिदीबहिनी ले कामना गर्ने गर्दछन | विदेशमा नेपाली हरुपनि 'दाजुबहिनि वा दिदी-भाई'को आदर्श नाता गाँसि हातबाट टीका माला ग्रहण गर्दै हर्षोल्लास साथ हासखेल, नाचगान, खानपिन, भेटघाट गरेर तिहार मनाएको देख्न पनि पाइन्छ, भने कुनै नेपाली दाजुभाई ल्यापटप, मुबाईलको पर्दा मार्फत घरको टीका टालोको सम्पूर्ण दृश्य हेर्दै ल मेरोपालो आयो भन्दै टाउको निहुराउँछ । अनि दिदीबहिनी ल्यापटप, मोबाईलको स्क्रिनमा निधारमा टीको, माला लगाईदिदै आशिर्बाद दिन्छन । परिवारका सबै सदस्यहरू रमाइलो मान्दै दंग परेर ताली बजाउँछन् । यसरी तिहार युरोपका चिसा भूभागदेखि अरबका ताता मरुभूमिहरूसम्म नेपालीहरुले मनाउदै छन ।