दोहा, कार्तिक १ – यसपालि बडादसैं र बकर इद सँगसँगै परेकाले इदमा पाएको तीन दिने बिदामा यहाँ कार्यरत धेरै नेपालीहरूले खुलेर मनोरञ्जन गर्न पाए । मल अफ एसियाका ब्रान्ड एम्बासेडरसमेत रहेका नायक राजेश हमालसहितको टोलीले इदको पहिलो दिन दोहा र दोस्रो दिन अलखोरमा आफ्नो कला प्रस्तुत गरेका थिए ।
माइक्रोफोन गायिका कोमल वलीले पाउनसाथ दर्शकदीर्घामा बसेका दाङका रेशम सुवेदी आफूसँगै कार्यक्रम हेर्न आएका चितवनका कुवेर श्रेष्ठ, सप्तरीका रामनारायण महतो र मोरङका भागवत घिमिरेसँग ‘कोमलले आगो बाल्ने’ कुरा सुनाउँदै थिए । सुवेदी भुक्तभोगी रहेछन् । उनले भनेजस्तै कोमलले आगो मात्रै बालिनन्, कार्यक्रम अवधिभरि ढल्दै गएको साँझ र चढ्दै गएको चिसोमा दर्शकलाई तताइराख्न सफल भइन् ।
नायक गजित बिष्ट र नायिका सुमिना घिमिरेले पहिलो प्रस्तुति स्वरूप ‘आकाशैको कालो बादल हो पानी पर्यो छम्मछम्म’ र ‘वर्ष है दिनको रमाइलो चाड गाउँघरमा आइसक्यो’ बोलका दुई गीत जोडेर ननस्टप डान्स गरे । पछि पनि उनीहरूले ‘नगर दोमन माया लाएको हैन नभन’, ‘लजाइलजाई चोरीचोरी मलाई माया गर्ने’ र ‘गाला रातै गाला रातै’ बोलका गीतमा पनि आकर्षक डान्स गरे । सुमिनाले ‘राम्री पनि भा’की छु’ बोलको गीतमा एकल नृत्य गरिन् । अघिल्लो पंक्तिमा बसेका झापाका भानु प्रसाइ मन्त्रमुग्ध भावमा भन्दै थिए, ‘नेपाली कलाकार नाच्न जान्दैनन् भनेर कोरा टिप्पणी गर्नेहरूलाई गजित र सुमिनाले गलत सावित गरिदिए ।’
चलचित्र मितिनिको ‘बासै पर्यो आज राति मायालुको घरमा’ बोलको गीतमा गायिका कोमल वलीले दर्शकलाई नचाइन् । रातो गुलाव सुकबहादुर तामाङलाई दिँदै कोमलले ‘आई लभ यू’ भनेपछि उनी लाजले रातो भए । उतिबेलै दशर् कले ‘जोडी मिलेको’ भनेर
हुटिङ गरे ।
यसैगरी नायिका पि्रयंका कार्कीले ‘गैरी खेतको शिरै हान्यो वषर्ायामको दरौँदीले’ गीतमा एकल र गजितसँग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ र ननस्टप गीत ‘तिम्रो खुसीमा सधैं’, ‘मलाई पुगेन मलाई पुगेन यो बैँसले’, ‘ छलक छलक छल्केझँै’ र ‘आँखाको इसाराले जादु’ बोलका फिल्मी गीतमा नृत्य प्रस्तुत गरिन् ।
अहिलेकी ‘हट गायिका’ आस्था राउतले पहिलो चरणमा ‘चौबन्दीमा पटुकी बाँधिन भन्दैमा’, ‘सालको पात टपरी गाँसेर’ र ‘खै त मलाई झुम्के बुलाकी’ र दोस्रो चरणमा ‘माया यो माया’ र ‘घैलाको पानी’ बोलका गीत गाएर माहो ललाई ‘हट’ बनाइन् । त्यसपछि गजित विष्ट एकल नृत्य लिएर स्टेज चढे । उनले ‘सर सर माया वर वर’, ‘मैले माया गर्न जानिँन होला’, ‘माया यो माया’ बोलका गीतमा नृत्य गरेर दर्शको मन जिते ।
लोकगीतका पारखी दर्शकलाई खुमन अधिकारीले लखतरान हुने गरी नचाए । उनले ‘घसौली चमेलीको तेल चढौली नौतुनाको रेल’, ‘गोली चल्यो मायाको ड्याङ ड्याङ ड्याङ’, र ‘नभन के गरौं अब त बिहे गरौं’ बोलका उनका पुराना तर चर्चित गीत गाए ।
लामो भूमिका बाँधेर कोमल वलीले महानायक राजेश हमाललाई स्टेजमा निम्ताइन् । ‘हमाललाई हेर्न आएका दर्शक’ले ताली र सिठीले हमालको स्वागत गरे । उनका एक फ्यान महोत्तरीका साहिम कवारीले रोमाञ्चित हुँदै भने, ‘ महान् कलाकार राजेश हमाललाई यति नजिकैबाट देख्न पाएर मेरो जुनी सफल भएको छ ।’
सुटमा प्रस्तुत भएका हमालले उही पुरानै तर चिरपरिचित आवजमा ‘सञ्चै हुनुहुन्छ ?’ भनेर दर्शकलाई प्रश्न गरे । उनले ‘शंकर’ फिल्मका दुइटा डाइलग सुनाए— ‘साथीका लागि यो हात सलाम हो र दुश्मनका लागि यो हात फलाम हो’ र ‘सज्जनका लागि नायक, दुर्जनका लागि खलनायक, तेरा लागि म साक्षात् मृत्यु हुँ, शंकर हो मेरो नाम ।’ हमालले एउटा कलाकारका लागि दर्शकसँगको प्रत्यक्ष भेट अत्यन्त खुसीको क्षण हुने र आफू अत्यन्तै उत्साहित भएको विचार सुनाए । हमालले कोमल वलीसँग ‘बाँजो खेतमा’ बोलको गीतमा नृत्य गरे । ‘प्रे’ को ब्रेकमा हमाल स्टेजबाट उत्रिए र दर्जन बढी दर्शकसँग हात मिलाउँदै ‘सन्चो बिसन्चो’ सोधे ।
कान्तिपुर टेलिभिजनमा प्रसारण भइरहेको ‘वाट्स द फ्लप सो’ का प्रस्तुतकर्ता ‘स्ट्यान्डिङ कमेडियन’ सन्दीप क्षेत्रीले हास्यव्यंग्य प्रस्तुतिद्वारा दर्शकलाई पेट मिच्न बाध्य बनाए । कार्यक्रमको उत्तरार्द्धमा उनले विभिन्न नेताहरूको क्यारिकेचरसहितको आकर्षक उद्घोषणसमेत गरेका थिए ।
गायक शिव परियारले ‘बेहोसीपछि त होसमा आउँदा क्या दामी भो’ बोलको गीतमा राजेश हमाल र सुमिना घिमिरेलाई मात्रै नचाएनन्, सम्पूर्ण दर्शकलाई नाच्न बाध्य बनाए । परियारले लगातार ‘फेबातालमा साँहिली’ र देउडा भाकाको ‘चित्तली’ बोलका गीतसमेत सुनाउन भ्याए । अलखोरमा रहेको अलमिस्नाद कम्पनीको प्रांगणमा बनाइएको कार्यक्रम स्थलबाहिर रूखमा चढेका दर्शकले निःशुल्क मनोरञ्जनको स्वाद लिए ।
भोजपुरी नृत्यका पारखीहरूका लागी बेबी रोजाले ‘राजा बेइमान ना मारो नजरिया’ बोलको भोजपुरी र ‘अंगडाइयाँ लेती हूँ मै जोरजोर से’, ‘लडके ओ रे लडके कहाँ से आया है रे तू’ र ‘आ रे पि्रतम प्यारे’ जस्ता गीतमा आकर्षक ‘ आइटम डान्स’ गरिन् । कार्यक्रमको अन्त्यमा खुमन र कोमलले दोहोरी गाए भने सम्पूर्ण कलाकार स्टेज
मा आएर नाचे । यो अवसर कार्यक्रम सन्ध्या ग्रुप अलखोरले जुराइदिएका हुन् ।