मुग्लानी खबर डटकम
दशैंपर्वको सांस्कृतिक र सामाजिक पक्ष नेपालीहरूको महान् चाड दशैं आफ्नो एकवर्षे यात्रा पूरा गरी पुनः हाम्रो घरआँगनमा आइपुगेको छ । हरेक वर्ष शरद ऋतुमा पर्ने यस पर्वलाई शास्त्रीय भाषामा शारदीय नवरात्रपर्व पनि भनिन्छ । विशेषगरी आश्विनशुक्ल प्रतिपदाको दिन घटस्थापना गरी जमरा राखेर मनाउन शुरू गरिएको दशैं पर्व नौ दिनसम्म शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी दशमीको दिन विसर्जन गरेर प्रसादका रूपमा मान्यजनहरूको हातबाट टीका र जमरा लगाएपछि समाप्त हुने गर्दछ । तर कतिपय क्षेत्र वा भूभागमा त्यसको लगत्तै आउने पूर्णिमासम्म पनि टीका लगाउने परम्परा रहिआएको छ । तथापि मूलभूत रूपमा पर्वको समाप्ति दशमीको दिन नै हुन्छ र प्रतिपदादेखि दशमीसम्मको दश दिन मनाउने भएकैले पर्वको नाम दशैं रहेको अनुभूत गर्न सकिने अवस्था पनि प्रशस्तै देखा पर्दछ । निस्सन्देह अहिलेको परिप्रेक्ष्यमा दश दिनसम्म मनाइने पर्व कतिपयलाई लामो, भद्दा र अनावश्यक जस्तो पनि लाग्न सक्छ र पर्वसँगै जोडिन आएको पशुबलिको परम्पराले पर्वको गरिमा र महत्ता नै होचिन पुगेको यथार्थलाई पनि बिर्सन हुँदैन । स्वाभाविक रूपमा धर्मशास्त्रले माता भगवतीको उपासना गरेको बेला बलिदानको परम्परालाई स्वीकारेको त छ तर आशय भने निरीह पशुपक्षीको नभई आफंैभित्रको काम, क्रोध, लोभ, मोह आदि जड स्वभाव र जड प्रवृत्तिलाई बलि दिनुपर्छ भन्ने रहेको देखिन्छ । धर्मशास्त्र भनेका श्रद्धेय पूर्वजहरूले हिँडेका, देखेका र भोगेका बाटा तथा सर्वहितका लागि बनाएका नियम हुन्, जसले हमेशा माता भगवतीलाई ‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता’ अर्थात् आब्रह्मस्तम्भ पर्यन्त सारा चराचर जगतको आमा मानेर आस्थाको चौतारीमा राखी पूजा र सम्मान दिँदै आएको छ । यस्तो परिप्रेक्ष्यमा आफ्नै आमाले सन्तानको बलि खाने प्रश्नै आउन्न र धर्मशास्त्रले त्यस्तो वीभत्स कृत्यलाई स्वीकृति दिने कुरो पनि आउन्न । त्यति हुँदाहुँदै पनि हिजोआज दशैं भन्नासाथ पशुबलिको परम्परालाई जुन किसिमले सहज रूपमा लिने गरिएको पाइएको छ, यसले पर्वको गरिमालाई होच्याएको मात्र छैन अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक तडकभडकले बढी बोझिलो र खर्चिलो पनि बनाइदिएको छ ।
[caption id="attachment_825" align="aligncenter" width="750"]
साथसाथै यसैको कारण अनेक खाले विकृति बढ्दै गएको यथार्थलाई बिर्सन हुँदैन । तर पर्व आफैंमा भने न अनावश्यक भद्दा छ र न उसले अनेक खाले तडकभडक र विकृतिलाई नै जन्माएको छ । मूलतः दशैं पर्वले शक्तिउपासना र सामाजिक सद्भाव सम्वर्द्धन गरी दुईवटा व्यावहारिक पक्षमा विशेष जोड दिएको देखिन्छ । हुन त यसको सांस्कृतिक पक्ष र शास्त्रीय पक्ष पनि आफैंमा कम महत्वको छैन । यसै पनि पर्वहरू आफैंमा संस्कृतिगर्भा भएकाले दशंै पर्व पनि यसैको सेरोफेरोबाट बाहिर जाने प्रश्नै आउन्न । त्यसमाथि दशैं पर्व मनाउँदा जुन किसिमको सांस्कृतिक कृत्य पूरा भइरहेका हुन्छन् त्यसले हामीलाई जहाँसुकै रहेबसेका भए पनि नेपालीत्वको पहिचान गराइरहेको हुन्छ । संस्कृतिको कुरो गर्दा यही नै सबल पक्ष मान्नुपर्दछ । अब आयो शास्त्रीय पक्षको कुरो, यो त झन गहन र जटिल छ । दशैंको कुरो गर्ने बित्तिकै घटस्थापनाको कुरो जोडिन आउँछ । घटस्थापना विना दशैं पर्व सम्पन्न हुनै सक्दैन किनकि दशैं पर्वको शुरूवात नै घटस्थापनाबाट भएको हुन्छ । सरसर्ती हेर्दा घटस्थापना भनेको एउटा घडामा पानी भरेर अँध्यारो कुनामा राख्नु हो । तर यसभित्र यति बढी शास्त्रीय कृत्य पूरा भएका हुन्छन् कि जसले सिङ्गो सृष्टिलाई नै बुझाउने गरेको छ । त्यसैले यहाँ यिनै व्यावहारिक पक्षलाई नै केलाउने प्रयास गरिएको छ । वस्तुगत रूपमा भन्नुपर्दा दशैं पर्व भनेकै शक्तिउपानाको पर्व हो । यति बेला अष्टभुजा, अष्टादशभुजा, दशभुजा, चतुर्भुजा, सहस्रभुजा, दशानना आदि जे जति नाम र आकृतिमा शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरिन्छन् ती सबै प्रतीक मात्र हुन् । वास्तविक रूपमा हामीले आहार, विहार, विचार र व्यवहार शुद्ध गरी आफैंभित्रको शक्ति वा आफूसित सम्बन्धित शक्तिलाई जगाउन सक्नुपर्छ भन्ने नै यसको आशय हो । आफ्नै भित्रको शक्ति वा आफूसित सम्बन्धित शक्ति भन्नाले यसलाई आन्तरिक शक्तिका रूपमा पनि लिन सकिन्छ र स्थानीय शक्तिका रूपमा पनि व्यक्त गर्न सकिन्छ । आन्तरिक शक्ति पनि दुई किसिमको हुन्छ । एउटा आध्यात्मिक शक्ति जो मानवशरीरमा कल्पना गरिएको षड्चक्रमध्येको पहिलो चक्र अर्थात् मूलाधारचक्रमा विद्यमान कुण्डलिनी शक्ति र अर्को शारीरिक शक्ति । स्थानीय शक्ति पनि दुई किसिमकै हुन्छ जसमध्ये एउटा शारीरिक शक्तिकै रूपमा रहेको हुन्छ भने अर्को बाह्यशक्ति अर्थात् वातावरणीय शक्तिका रूपमा रहेको हुन्छ । जसले आहार, विहार, विचार र व्यवहार शुद्ध राख्छ, उसले उपरोक्त सबै किसिमको शक्तिमाथि विजय प्राप्त गर्न सक्छ वा सन्तुलन कायम राख्न सक्छ र जसले यी शक्तिमाथि विजय प्राप्त गर्न सकेको छ वा सन्तुलन कायम राख्न सकेको छ ऊ यति बढी शक्तिशाली हुन्छ कि फलतः उसका निम्ति अन्य दश हात अठार हात आदि धेरै हातले गर्दै आएको काम गर्न पनि खासै गाह्रो पर्दैन । शक्तिस्वरुपिणी माता भगवतीको उपासना प्रसङ्गले यही सन्देश दिएको छ । दशैं पर्वसितै सम्बन्धित अर्को नाम विजयादशमी पनि हो । विजया शब्दले रामले रावणमाथिको विजय पाएका प्रसङ्ग र देवीदेवताले दानवमाथिको विजय पाएका प्रसङ्गलाई अर्थ्याउने गरेको देखिन्छ । किंवदन्ति वा मिथकीय रूपमा आएको यस प्रसङ्गलाई जहाँजसरी अथ्र्याइएको भए पनि वास्तविक रूपमा असत्यमाथि सत्यको र रोग, भोक, शोक, गरीबी, अशिक्षा, अन्याय, अभाव, अशान्ति, हत्या, हिंसा, आतङ्क आदि दानवीय प्रवृत्तिमाथिको विजय नै हो भन्ने कुरालाई बिर्सन हुुँदैन । साथसाथै यसमाथि विजय पाउन पनि त्यतिबेला मात्र सफल भइन्छ जतिबेला आहार, विहार, विचार र व्यवहार शुद्ध राखी आन्तरिक शक्तिमाथि सन्तुलन कायम राख्न सकिएको हुन्छ भन्ने कुरालाई पनि कदाचित बिर्सन मिल्दैन । दशैं पर्वमा जे जस्ता कृत्यहरू सम्पन्न हुँदै आएका छन् तिनीहरू सबै यतैतर्फ परिलक्षित देखिएकाले पनि यही तथ्य अनुभूत गर्न सकिन्छ । अब आयो सामाजिक सद्भाव सम्वर्द्धनको पक्ष । त्यो पनि आफंैमा कम वैज्ञानिक देखिएको छैन । वस्तुतः दशैंको टीका लगाएर सानाले ठूलालाई मान्ने र ठूलाले सानालाई आशीर्वाद दिएर स्नेह, सद्भाव तथा सहानुभूति राख्नुपर्ने जुन किसिमको परम्परा बसाइएको छ त्यो निस्सन्देह महान् छ । ‘मातृदेवो भव, पितृदेवो भव र आचार्यदेवो भव’ अर्थात् आमा, बाबु, गुरु आदि मान्यजनलाई देवतासरह मान्न्ुपर्दछ भन्ने कुरो उपनिषद् दर्शनमा आएको छ । तर यो त हिजोको विश्वको कुरो हो जतिबेला एकाध गाउँविशेषले समग्र समाजको आवश्यकता पूरा गर्न सक्दथ्यो । विज्ञान र प्रविधिले आजको विश्वलाई यति बढी साँघुरो बनाएको छ कि ‘परस्पर देवोभव’ अर्थात् एकले अर्को देवतासरह मान्ने नभई जहाँसुकै रहेबसेका भए पनि कसैको पनि आवश्यकता पूरा हुन सक्दैन । दशैंको टीकाले यही परस्पर देवोभवको भाव सञ्चार गरेकोले हिजोको समाजमा भन्दा आजको समाजमा यसको महत्ता र आवश्यकता झनै बढी हुुन पुगेको देखिन्छ । वास्तवमा दशैंको टीकाको माध्यमबाट काम विशेषले जतिसुकै टाढा पुगेको भए पनि परिवारको समग्र सदस्यलाई यथासम्भव एकै ठाउँमा जम्मा हुनसक्ने वातावरण मात्र बनाएको छैन गाउँसमाज, टोलछिमेकका कुनै किसिमको रिसइबी भए त्यसलाई समेत मेटाएर आपसमा स्नेह, सद्भाव र सम्मान साटासाट गर्ने वातावरणसमेत बनाइदिएको छ । आज संसारमा भौतिक र प्राकृतिक जे जति समस्या देखिएको छ वा सामाजिक विकृति मौलाएको छ त्यसको मूल जड आत्मिक अनुशासनको कमीलाई नै मान्न सकिन्छ । आफूले खान पर्दा अरूले पनि खान पाउनुपर्छ र आफूले बाँच्ने अवसर खोज्दा अरूले पनि बाँच्न पाउनपर्छ भन्ने नैतिक मूल्य र मान्यतालाई लत्याएर आफूखुशी जे मन लाग्यो त्यही गर्दै हिड्ने प्रवृत्ति बढ्दै गएकाले नैसंसारको स्वरूप यति बढी बिग्रेको हो । वास्तवमा स्वर्ग, नरक, देवता, दानव आदि जे जति भन्ने र सुन्ने गरिन्छ सबै यहीँ छन् । आपसमा स्नेह, सद्भाव, तथा सम्मान र सहयोग साटासाट गरी अगाडि बढेमा मानिसले यसै संसारबाट स्वर्गीय सुख भोग्न सक्दछन् । होइन आपसमा असहयोग तानातानकै वातावरणमा रम्न चाहे यसै संसारमा नारकीय दुःख भोग्न बाध्य हुनुपर्दछ । मानिसको व्यवहार बिग्रे यही संसार नरक बन्दछ अनि व्यवहार सुध्रे यही संसार स्वर्ग बन्दछ । अनि व्यवहार बिगारे यिनै मानिस दानव बन्दछन् भने व्यवहार सुधारे तिनै मानिस देवताको पंक्तिमा दरिन पुग्दछन् । यही नै असत्यमाथि सत्यको विजय हो र यही नै दानवमाथि देवीदेवताको विजय हो । समग्रमा दशैं पर्व र यस पर्वमा सम्पन्न गरिने कृत्यले यही नै सन्देश दिएको छ ।[/caption]