दोहा : बाग्लुङ सेवा समाज कतारको संस्थागत संरक्षकत्वमा स्थापित बाग्लुङ सेवा समाज कतार " बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन भब्यरुपमा सम्पन्न भएको छ ।
कतारको होलीडे भिल्लामा सम्पन्न भएको कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकार लोक तथा दोहोरी गायक रेसम निर्दोष र नव गायिका सिम्रन परियार लगायत स्थानिय प्रतिभावान कलाकार हरुको बेजोड साङ्गितिक प्रस्तुतिमा कार्यक्रम सम्पन्न भएको हो ।
अक्षयकोषका तदर्थ समितिका संयोजक सन्तोष पौडेलको सभाध्यक्षतामा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा, कतारका लागि नेपाल सरकारका पर्यटन राजदूत आरके शर्मा, कोषका संरक्षक राजरेग्मी लगायत कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो ।
कोषका सचिव चन्द्रकान्त शर्मा पौडेलको स्वागत मन्तव्य रहेको अधिवेशनमा कोषका बारेमा कार्यक्रम संयोजक रमेश भट्टले कुल कोषमार्फत् स्वास्थ्य क्षेत्रमा २५, शिक्षा २५, खेलकुद २०, दैवी प्रकोप तथा आपत्कालीन २० र कला, साहित्य तथा संस्कृतिमा १० प्रतिशत खर्च गर्ने गरी वर्गीकरण गरिएको जानकारी दिए । अक्षयकोषका लागि हालसम्म ५५ लाख भन्दा बढी संकलन भई सकेको र यसलाई १ करोड पुर्याउने लक्ष्य रहेको भट्टले बताए ।
तदर्थ समितिका कोषाध्यक्ष नीराजन गौतमले कोषको आयव्यय पेस गर्दै १ करोडको लक्ष्य भेटाउन अब ४५ लाख रुपैयाँ अपुग रहेको जानकारी दिए ।
कार्यक्रममा कलाकार सिम्रन परियारले ‘मेरो घर त बाग्लुङ दाजैको कहाँ पर्यो ’ बोल्को गीत बाट आफ्नो प्रस्तुति सुरु गरिन् । क्रमशः ‘पानी परेको’ लगायतका आफ्ना हिट गीतहरू गाइन ।
नेपालबाट आमन्त्रित अर्का अतिथि कलाकार रेसम निर्दोषले सोरठी गीतबाट आफ्नो प्रस्तुतिको सुरुवात गरे । उनले आधा दर्जन गीत गाएर दर्शकलाई भरपुर्ण मनोरञ्जन दिए ।
कार्यक्रममा प्रमुख अतिथि ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गर्दै नेपालमा केही पनि छैन, केही भएन भन्ने जस्ता गलत भाष्य निर्माण गरिएको समेत बताए
“नेपालमा सम्भावना नै छैन भन्ने गलत र नकारात्मक भाष्य बनाउन खोजिएको छ, विदेशमा बसेर यहाँको विकास र प्रविधिसँग तुलना गर्दै नेपालको विरोध पनि गरिएको पाइन्छ, नेपालमा पनि विदेशमा जस्तै मेहनत गर्ने हो भने धेरै काम गर्न सकिन्छ । अध्यक्ष ढकालले जोड दिए ।
बागलुङबाट कतारमा आएका बागलुङवासीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्षयकोष स्थापना गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै आफ्नो तर्फबाट कोषमा रु १५ लाख सहयोग गर्ने घोषणा गरे
शारदा भुजेल र बाबु कौसलले मिलेर कार्यक्रमको सहजीकरण गरेको, कार्यक्रमका सभापति पौडेलले परोपकारी कार्यमा जोडिएर साथ् र सहयोग गर्नुहुने साथै कार्यक्रम सफल तुल्याउन विभिन्न माध्यम बाट सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि थप साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापन गरे
बन्द सत्रबाट सन्तोष पौडेलको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
कार्यसमितिको पदाधिकारीहरू मध्ये उपाध्यक्षमा मदन जीसी, सचिवमा भरत पौडेल, सहसचिवमा झपेन्द्र सापकोटा (ईश्वर), कोषाध्यक्षमा नीराजन गौतम र सह–कोषाध्यक्ष सुवास पौडेल छन । त्यस्तै कार्यसमितिका सदस्यहरूमा मिलन गौतम, उमानन्द शर्मा (रामु), राजु खडका, तारानाथ शर्मा र सबिन शर्मा छन ।
