नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रमाथि गम्भीर खतरा आयो, यसको रक्षाका निम्ति सबै दलहरु एक हुनुपर्छ भन्ने भाष्य गलत रहेको बताएका छन् । आज (आइतबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेको बताएका हुन् । उनले उक्त कुरा जनआधारले पुष्टि नगर्ने बताए ।
‘गणतन्त्रप्रति गम्भीर खतरा आयो भनेकोजस्तोगरी सोच्न पनि जरुरी छैन । दलहरु गणतन्त्रको रक्षाको निम्ति एक हुनैपर्ने, नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक छैन । गणतन्त्रमा हाम्रो कसको विमति छ र ? उहिलेदेखि नै सहमति छ नि । त्यसैको निम्ति लडेर यहाँसम्म आएको हुनाले दलहरुको बीचमा विमतिको कुरा कहिले पनि थिएन । अहिले पनि छैन,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले कांग्रेस–एमालेभित्र देखापरेको स्थितिका आधारमा आफूले वर्तमान सरकार धेरै लामो अवधि नटिक्ने दाबी गरेको बताए । हिजो (शनिबार) तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएपछि माओवादी पनि यही सरकारमा सहभागी हुनेभयो रे भनेर भ्रम फैलाइन खोजेको बताए । उनले यो गठबन्धनमा जाने वा समर्थन गर्ने कुरा विलकूल गलत रहेको बताए ।
‘मैले विश्वासको मत लिँदै गर्दा पनि हुनुपर्ने प्रधानमन्त्री ठूलो दलको नेता हो, त्यतिबेला नै भनेको थिएँ मैले । त्यसैलाई अहिले भित्रभित्रै नेपाली कांग्रेसभित्र पनि, एमालेभित्र पनि जो स्थिति देखिएको छ, त्यो स्थितिको आधारमा भनेको हो मैले । अहिलेको गठबन्धनलाई समर्थन विलकूल होइन, त्यो भ्रम नपरोस्,’– उनले भने ।