दोहा : बागलुङ सेवा समाज कतारको संरक्षणमा स्थापित, बागलुङ सेवा समाज कतार, बहुउद्देश्यीय अक्षयकोष”को प्रथम अधिवेशन सहित विविध साङ्गितिक कार्यक्रम आउँदो अप्रिल १८ तारिख, शुक्रबार होटेल होलिडे भिल्ला दोहामा हुँने भएको छ ।
अधिवेशनमा सांगीतिक प्रस्तुति दिन अतिथि कलाकारका रूपमा नेपालबाट युवा लोक तथा दोहोरी गायक रेशम निर्दोष र नवप्रतिभा सिम्रन परियार कतारको दोहामा आउन लागेको अधिवेशन संयोजक रमेश भट्टले जानकारी दिए।
भट्टले कलाकारसहित प्रमुख अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल कतार आउन लागेको बताए ।
अक्षयकोषका लागि हालसम्म ५५ लाख भन्दा बढी रकम संकलन भइसकेको र यसलाई एक करोड पुर्याउने लक्ष्यसहित अभियान र अधिवेशनको तयारीलाई तीव्रता दिइएको अक्षयकोषका तदर्थ समितिका संयोजक सन्तोष पौडेलले बताए।
पौडेलका अनुसार गैरआवासीय नेपाली संघका अभियन्ता राज रेग्मी (राजु)ले उक्त कोषका लागि दश लाख र अर्का अभियन्ता राजेन्द्र कुमार शर्मा (आरके) ले पाँच लाख सहयोग गरेकाछन् उनीहरु दुवैको पुर्ख्यौली थलो पनि बागलुङ नै रहेको छ।
बागलुङ सेवा समाज कतारका अध्यक्ष निराजन गौतमका अनुसार बागलुङ जिल्लामा कोही पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस्, जिल्लाका कुनै पनि नागरिक औषधि उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने नै मुख्य उद्देश्यले कोषको स्थापना गरिएको बताए ।
गौतमले हरेक जिल्लाबासी बरावर एकहजारको दरले रकम संकलन गर्न सकियो भने "बहुउद्देश्यीय अक्षयकोष" को सपना साकार गर्न सकिने समेत बताए ।
कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुगेको, निःशुल्क प्रवेश गर्न सकिने र अधिवेशनलाई सफल बनाइदिन बागलुङबासी र दोहामा रहेका सबैलाई उपस्थितिको लागि गौतमले आग्रह गरेका छन्।