श्रीलङ्काका वन्यजन्तु र रेलवे अधिकारीहरूले शुक्रबार सात हात्तीको ज्यान जाने सबैभन्दा खराब वन्यजन्तु दुर्घटनापछि रातको समयमा रेलको ठक्कर कम गर्न समयतालिका समायोजन गर्ने लगायतका कम–प्राविधिक उपायहरूको शृङ्खलाको घोषणा गरेका छन् ।
यी उपायहरू फेब्रुअरी २० मा राजधानी कोलम्बोदेखि लगभग १८० किलोमिटर पूर्वमा रहेको हबरानाको एक वन्यजन्तु आरक्षण नजिकै एक एक्सप्रेस रेलले सात हात्तीलाई किचेपछि आएका हुन् । यो यस प्रकारको सबैभन्दा खराब दुर्घटना थियो ।
अधिकारीहरूले टापुको उत्तरी र पूर्वी क्षेत्रहरूमा हात्ती बसोबास गर्ने वन क्षेत्रहरूमा रेलवे ट्र्याकहरूको कमजोर खण्डहरू पहिचान गरेको र न्यूनीकरणका उपायहरू पहिले नै सुरु गरिसकिएको बताएका छन् ।
“हामीले ट्र्याकको दुवै तर्फका झाडीहरू सफा गर्न थालेका छौँ ताकि चालकहरूले झुण्डहरू नजिकै छन् भने स्पष्ट देख्न सकून्”, रेल्वे प्रवक्ता भिएस पोलवत्तागेले कोलम्बोमा पत्रकारहरूलाई भन्नुभयो ।
वन्यजन्तुसम्बन्धीे दुर्घटना हुने सम्भावना भएका क्षेत्रहरूमा रातमा कम रेलहरू सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
अधिकारीहरूले ठक्कर कम गर्न राम्रो ब्रेकिङ क्षमता भएका पावर–सेट रेलहरू पनि तैनाथ गरिरहेका छन् ।
फेब्रुअरी २० को घटनामा कुनै यात्रु घाइते भएनन् तर लगभग एक दिनसम्म सेवाहरू अवरुद्ध भएका थिए ।
वन्यजन्तु संरक्षण निर्देशक मञ्जुला अमरारत्नले हात्तीहरू रेलबाट भाग्न खोज्दा तिनीहरू फस्नबाट रोक्न अधिकारीहरूले स्लिपरहरू (रेलमुनि समानान्तरमा बस्ने लगहरू) बीचको खाली ठाउँहरू पनि भर्न थालेको बताउनुभयो ।
“हामीले ट्र्याकहरू उज्यालो पार्न सौर्य ऊर्जा बत्तीहरू पनि प्रयोग गरिरहेका छौँ र ट्र्याकमा जङ्गली जनावरहरूको बारेमा चालकहरूलाई सचेत गराउने मोशन सेन्सरहरू स्थापना गर्ने प्रक्रियामा छौँ”, अमरारत्नले भन्नुभयो ।
अधिकारीहरूले तथ्याङ्क सङ्कलन गर्न थालेपछि विगत १७ वर्षमा रेलबाट एक सय ३८ वटा हात्ती मारिएको उहाँले जानकारी दिनुभयो ।
दुई हप्ताअघि सरकारले टापुमा बढ्दो मानव–हात्ती द्वन्द्वका कारण एक दशकमा एक हजार एक सय ९५ जना मानिस र ती हजार चार सय ८४ जनावर मारिएको घोषणा गरेको थियो ।
श्रीलङ्कामा हात्तीहरूलाई मार्नु वा हानि पु¥याउनु अपराध हो । त्यहाँ अनुमानित सात हजार जङ्गली हात्ती छन् । हात्तीलाई बौद्ध संस्कृतिमा तिनीहरूको महत्त्वका कारणले आंशिक रूपमा राष्ट्रिय खजाना मानिन्छ ।
तथापि निराश किसानहरू आफ्ना बालीहरू लुट्ने र जीविकोपार्जन नष्ट गर्ने हात्तीहरूसँग सङ्घर्ष गर्दा हत्याहरू जारी छन् ।
धेरै हात्ती विद्युतीय झट्का, गोली र विष दिएर मारिएका छन् । कहिलेकाहीँ जनावरहरूलाई अङ्गभङ्ग गर्नका लागि विस्फोटक पदार्थले भरिएका फलहरू प्रयोग गरिन्छ, जसको परिणाम प्रायः पीडादायक मृत्यु हुने गर्छ ।