टि एन धमला (मुनामदन) - काठमाण्डौं - यतिबेला हिटलर शब्द निकै भाइरल बनिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका सांसदहरूलाई पत्रकारहरुले केहि दिनअघि तपाई ‘हिटलर’ हो भन्दै प्रश्न सोधेपछि हिटलर शब्द निकै चर्चामा आयो ।
गत फागुन ४ गतेको संसद बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका पत्रकारले उत्तर नआएपछि हिटलरको संज्ञा दिएका थिए । फागुन ४ गते संसदको 'प्रधानमन्त्री प्रश्नोत्तर' कार्यक्रमबाट निस्किने क्रममा पत्रकारहरूले प्रधानमन्त्रीलाई ‘तपाईं हिटलर हो ? भनेर प्रश्न गरेका थिए । पत्रकारद्वय सुनौलो नेपालका प्रकाश ओली र युवा मन नेपालका किशोर कुमार श्रेष्ठले प्रधानमन्त्रीलाई ‘तपाईं हिटलर हो ? भनेर प्रश्न गरेका थिए ।
अहिले संघीय संसद सचिवालयले दुईजनालाई नै संसद प्रवेशमा रोक लगाएको छ,भने संघीय संसद सचिवालयले गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेको संसद प्रवेश पास समेत निलम्बन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका सांसदहरूलाई गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेको संसद प्रवेश पास निलम्बन गरिएको हो ।
खासमा कस्ता थिए हिटलर ?
जर्मनीको नाजी पार्टीका तत्कालीन नेता अडोल्फ हिटलरको चर्चा अहिले पनि विश्वभर हुन्छ । लाखौँ यहुदीको सम्हार गरेका हिटलरकै कारण दोस्रो विश्वयुद्ध भएको थियो। सो युद्धमा ६ करोड मानिसले ज्यान गुमाए । क्रुर तानाशाहको संज्ञा पाएका हिटलरको जीवनका पाटा रोचक खालका रहेका छन् । हिटलर बन्दुकको नालबाट आएका थिएनन् चुनावबाटै आएका थिए। उनी सरकारमा गएका बेला लोकतान्त्रिक अधिकारहरू कटौती गरी निरकुंश बने ।
को हुन वास्तविक हिटलर ? किन भइरहन्छ चर्चा ?
एडल्फ हिटलरको जन्म अष्ट्रियाको बोनमा २० अप्रिल १८८९ मा भएको थियो। उनको प्रारम्भिक शिक्षा लिन्जमा भयो। पिताको मृत्यु पश्चात् १७ वर्षको उमेरमा हिटलर भियना आएका थिए । अस्ट्रियामा जन्मिएका हिटलर जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता थिए । हिटलर विश्वका क्रूर शासकका रुपमा चिनिन्छन् । उनी सन् १९३३ देखि १९४५ सम्म जर्मनीका चान्स्लर तथा सन् १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए । हिटलर नाजीबाद तथा दोश्रो विश्वयुद्धका नाइके अर्थात केन्द्रीय पात्र हुन ।
जब प्रथम विश्वयुद्धको सुरुवात भयो, तब उनी सेनामा भर्ती भए र फ्रान्समा कयौं लडाइँमा उनले भाग लिए। सन् १९१८ मा युद्धमा घाइते भएकाले उनी अस्पतालमा रहे। युद्धमा जर्मनीको पराजय भएपछि उनलाई निकै दु:खी बनाएको थियो । उनी पहिलो विश्वयुद्धका अनुभवी थिए । उनले सन् १९१९ मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी पार्टी ) को सदस्यता लिए तथा सन् १९२१ मा सोही पार्टीको नेता बने । जर्मनीमा सन् १९२३ मा उनले एक 'कू' को असफल प्रयास समेत गरेका थिए । सोहि असफल 'कू' को कारणले उनी जेलमा परे जहाँ उनले आफ्नो संस्मरण 'मेरो संघर्ष ' समेत लेखे । सन् १९२४ मा जेलमुक्त भएपछि उनी भर्साइल्सको सन्धिको कडा आलोचना गरेर चर्चामा आए । उनले बृहत जर्मन यहूदी बिरोधी र कम्युनिष्ठ बिरोधी गतिविधिलाई आफ्नो विशिष्ट व्यक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल समेत गरे । सन् १९३३ मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे । उनको उद्देश्य युरोपमा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो ।
सन् १९१८ मा हिटलरले नाजी पार्टीको स्थापना गरे। यसको प्रत्येक सदस्यमा देशप्रेमको भावना ओतप्रोत थियो। यस दलले प्रथम विश्व युद्धमा जर्मनीको पराजयको लागि यहुदीलाई दोषी ठहर्यायो। आर्थिक स्थिति खराब भएकोले जब नाजी पार्टीका नेता हिटलरले आफ्नो ओजस्वी सम्बोधनहरूमा आर्थिक अवस्थालाई सुधृढ गर्ने आश्वासन दिए, कयौं जर्मन यस दलको सदस्य बने । त्यतिबेला हिटलरले भूमिसुधार गर्ने, भर्सेलिज सन्धी समाप्त गर्ने र एक विशाल जर्मन साम्राज्य स्थापनाको लक्ष्य जर्मन नागरिकको सामु प्रस्तुत गरे जसबाट जर्मनी नागरिकहरू निकै खुसी भएका थिए । त्यसपछि सन् १९२२ मा जर्मनीमा हिटलर एक प्रभावशाली व्यक्ति बने।
यसैबिच सन् १९३० देखि ३२ सम्ममा जर्मनीमा बेरोजगारी निकै बढ्यो। संसदमा नाजी दलको सदस्य संख्या २३० पुग्यो। सन् १९३२ को चुनावमा हिटलर राष्ट्रपति निर्वाचनमा उम्मेदवार बने तर हिडनबर्ग संग नराम्ररी पराजित भए। त्यसपछि जर्मनीको आर्थिक अवस्था झनै खराब हुँदै गयो र विजयी देशहरूले जर्मनीलाई सैनिक शक्ति बढाउने अनुमति दिए।
सन् १९३३ मा चान्सलर बन्ने बित्तिकै हिटलरले जर्मन संसद् भंग गरे, कम्युनिस्ट पार्टीलाई गैरकानूनी घोषित गरे र राष्ट्रलाई स्वावलम्बी बनाउनको लागि आह्वान गरे। हिटलरले डा.जोजेफ गोयबल्सलाई आफ्नो प्रचारमन्त्री नियुक्त गरे। नाजी दलको विरोधी व्यक्तिहरूलाई जेलमा पठाइयो। कार्यकारिणी र कानून बनाउने सम्पुर्ण अधिकार हिटलरले आफ्नो हातमा लिए। सन् १९३४ मा उनले आफूलाई सर्वोच्च न्यायाधीश घोषित गरे। त्यसैसाल राष्ट्रपति हिन्डनबर्गको मृत्यु पश्चात् हिटलर राष्ट्रपति बने। नाजी दलको आतंक जनजीवनको प्रत्येक क्षेत्रमा छायो। सन् १९३३ देखि १९३८ सम्म लाखौं यहुदीहरूको हत्या गरियो। नवयुवकहरूमा राष्ट्रपतिको आदेशको पूर्ण रूपमा पालन गर्ने भावना विकसित गरियो र जर्मन जातिको भाग्य सुधार्नको लागि सबै शक्ति हिटलरले आफ्नो हातमा लिए।
पछि सन् १९३३ मा हिटलरले राष्ट्रसंघको सदस्यता त्यागे र भावी युद्धलाई ध्यानमा राखेर जर्मनीको सैन्य शक्ति बढाउन सुरु गरे। प्राय सबै जर्मन जातिलाई अनिवार्य सैनिक प्रशिक्षण दिइयो। त्यसपछि उनको चर्चा संसारभर भयो । सन् १९४५ अप्रिल १५ मा सोभियत संघको सेनाले बर्लिन शहरको पूर्वी हिस्सामा जर्मन सेनामाथि बमबारी गरेपछि बर्लिनमाथि निर्णायक हमला शुरू भएको थियो । अप्रिल २१ मा सोभियत संघको रेड आर्मीद्वारा बर्लिनको बाहिरी क्षेत्रमा प्रवेश गरी वरपरका नगरमाथि कब्जा भयो । अप्रिल २७ मा सोभियत र अमेरिकी सेनाको भेट जर्मनीको एल्ब नदीमा पुगेर भयो, र उनीहरूले जर्मन सेनालाई दुई तिर विभाजित पारिदिए।
जब सोभियत सेनाले बर्लिनमाथि आक्रमण गरेसँगै ३० अप्रिल १९४५ मा हिटलर र उनकी श्रीमती इभा ब्राउनले आत्महत्या गरे। उनीहरूको शव जलाइयो । जर्मन रेडियोबाट मे १ मा हिटलरको मृत्यु भएको सार्वजनिक घोषणा गरिएको थियो। त्यसपछि हिटलरको चर्चा भइरहन्छ।
अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन हिटलर भनियो त ?
यतिबेला केपी शर्मा ओली देशको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्री रहेका छन् । प्रधानमन्त्री ओलीमाथि जनताको असन्तुष्टि बढ्दै गएको छ । जनताको आकांक्षा र जनचाहाना अनुसार उनले काम गर्न नसकेको भन्दै चौतर्फी आालोचना भइरहेको छ । जनताले अहिलेको सरकार हिटलरकै तरिकाले प्रस्तुत भइरको भन्दै तिब्र विरोध जनाइरहेका छन् । त्यही सन्दर्भमा गत ४ फागुनमा संसद भवनबाट बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई पत्रकारहरुले तानाशाह र हिटलर भनेका थिए । त्यसबारेमा सत्तारूढ नेकपा एमालेका सांसद सूर्य थापाले ५ फागुनको संसद बैठकमा ध्यानाकर्षण समेत गराएका थिए ।
प्रधानमन्त्री ओलीले संविधान नमानेर हिटलर प्रवृत्ति देखाएको आरोप समेत लाग्ने गरेको छ । प्रधानमन्त्री ओलीले आफूले संविधान मान्न नपर्ने तर अरु सबैले मान्नुपर्ने सोचाई राखेको भन्दै संसदमा सांसदहरुले समेत हिटलरको संज्ञा दिएका छन् । प्रश्न सोध्ने क्रममा पत्रकारले प्रधानमन्त्री ओलीलाई हिटलरकै शैलिमा शासन गर्न खोज्नुभएको हो ? भन्दैमा कोहि हिटलर बन्दैन । जर्मनीको नाजी पार्टीका तत्कालीन नेता अडोल्फ हिटलरको अपव्याख्या गर्न जरुरी पर्दैन । (विभिन्न स्रोतबाट संकलित )