सूर्य थापा : काठमाडौँ, १८ फागुन (रासस): जुनसुकै देशले प्रगतिको सही बाटो पक्रेर अघि बढ्न बलियो, सुझबुझयुक्त र विशिष्ट नेतृत्वको खाँचो पर्छ । चीनमा माओत्सेतुङ, देङ सियाओ पिङ र हाल सी जिङपिङ, रुसमा लेनिन, स्टालिन र हाल पुटिन, भारतमा महात्मा गान्धी, नेहरू र हाल नरेन्द्र मोदी, अमेरिकामा क्लिन्टन, ओबामा र हाल ट्रम्पको उदय तथा नेतृत्वलाई ती देशको यही आवश्यकताको कसीमा हेर्ने गरिएको पाइन्छ । नेपालमा निर्विवाद रूपमा भन्न सकिन्छ, टङ्कप्रसाद आचार्य, बिपी कोइराला, पुष्पलाल, मदन भण्डारी, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र हाल प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली त्यसप्रकारको राष्ट्रिय धुरी व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ । एक समय उहाँलाई लक्षित गर्दै एक आलोचक कित्ताका लेखकले नै ‘यो देशमा म एउटा ‘ली क्वान यू’ खाजिरहेछु...’ भनेर लेखेका थिए । (मगर ः २०७५) प्रधानमन्त्री ओली ली क्वान युको नेपाली संस्करण बनून् भन्ने आम नेपालीको अपेक्षा छ भन्ने उनको निष्कर्ष थियो । यद्यपि प्रधानमन्त्री हुँदैमा वा नहुँदैमा सक्षम नेतृत्वको कसी र मूल्याङ्कनमा खासै फरक पर्दैन ।
१. भुइँमान्छेबाट राष्ट्रिय नेतृत्व
नेपाली राजनीतिमा नेता त हजारौँ–लाखौँ क्रियाशील छन् । तर, नेताहरूमध्येका पनि नेता वास्तवमा उहाँ अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । पदको भारीले होइन, विचार, समर्पण, अध्ययन, वक्त्तृत्वकला, नेतृत्वकला, दूरदर्शिता र प्रभावकारी नेतृत्वका दृष्टिले समकालीन नेपाली राजनीतिमा उहाँ मियो व्यक्तित्वका रूपमा स्थापित हुनुहन्छ । २०७२, २०७४, २०७८ र २०८१ गरी चार पटक मुलुकको कार्यकारी प्रमुखको नेतृत्व सम्हाल्दा÷सम्हालिरहँदा उहाँले राष्ट्रिय जीवनमा आफ्नो भिन्न प्रभाव र छविका साथ कार्यसम्पादन गर्नुभएको तथ्य स्पष्ट छ ।
विसं २००८ फागुन ११ गते तेह्रथुमको इवामा सामान्य किसान परिवारमा जन्मिनुभएका उहाँले बाल्यकालमै आमा मधुमाया ओलीलाई गुमाउनुप¥यो । त्यसपछि हजुरआमा राममाया र बुबा मोहनप्रसाद ओलीले उहाँको लालनपालन गर्नुभयो । अत्यन्त तीक्ष्ण र जेहेनदार विद्यार्थीका रूपमा उहाँले जन्मस्थल तेह्रथुम र बसाइँसराइपछि झापामा आफ्नो पठनपाठन अघि बढाउनुभयो । एसएलसी उत्तीर्ण गर्दा–नगर्दै झापा विद्रोहको राप, ताप र प्रभावले नेपाली कम्युनिस्ट आन्दोलनमा जोडिएर त्यसयता आजीवनजस्तै क्रियाशील रहनुभएको छ – अविराम, अविचल र अनवरत ।
२८ वर्षअघि मैले उहाँको व्यक्तित्वका बारेमा ‘आइरन टङ्ग, आइस स्ट्यान्ड !’ शीर्षकमा लेखेको थिएँः
‘केपी शर्मा ओली नेकपा (एमाले) भित्र वैचारिक सङ्घर्षमा सक्रिय नेताका रूपमा चर्चित हुनुहुन्छ । झापा सङ्घर्षलाई उग्रवामपन्थी भड्काव भनेर उहाँले त्यतिबेला नै आफ्नो अभिमत राख्नुभएको थियो । २०३० साल असोज २३ गते रौतहटको गौरबाट पक्राउ परेपछि ओलीलाई ‘खतरनाक कम्युनिस्ट’को अभियोगका साथ १४ वर्ष लामो जेल सजाय र अमानुषिक यातनाको शिकार बनाइयो । उहाँलाई चार महिनाभन्दा बढी समयसम्म प्रहरी हिरासतमा नियमितजस्तै कुटिन्थ्यो । गोलघरको कालकोठरीमा उहाँ चार वर्षभन्दा लामो नारकीय जीवन बिताउन बाध्य हुनुभयो । उहाँ नेपालका एकतिहाइ जेलहरूमा राजबन्दीका रूपमा बस्नुभएको र २५ पटक भन्दा बढी उहाँलाई जेल सरुवा गरिएको थियो । नख्खु, भद्रगोल, वीरगञ्ज, स्याङ्जा, पोखरा र गौर आदि जेलहरूमा उहाँ कहाँ बस्नुभएन र ? तर, अचम्मको कुरा, भद्रगोल जेलको कालकोठरीमा रहेका बखत उहाँको पार्टी सदस्यता नै खारेज गरिएको थियो । अर्थात्, झापा आन्दोलनलाई उग्रवामपन्थी भड्काव भनेबापत त्यसै आन्दोलनको सिलसिलामा बलिदानीमा चढ्न तम्सिनुभएका ओलीको पार्टी सदस्यता नै खारेज गरिँदा पनि उहाँ आफ्नो अडानमा दृढ रहनुभयो । निरन्तर उग्रवामपन्थविरुद्ध सम्झौताहीन सङ्घर्षमा डटिरहनुभयो । कालान्तरमा पार्टीले झापा आन्दोलनलाई उग्रवामपन्थी गल्ती भनेर स्वीकार ग¥यो । अनि, एउटा गम्भीर वैचारिक सङ्घर्षमा उहाँ पहिलो पटक विजयी हुनुभयो ।’ (थापाः २०५३)
गृहमन्त्रीका रूपमा २०५१ सालको पहिलो कम्युनिस्ट सरकारमा उहाँले आफ्नो राजकीय नेतृत्व–कौशल सबैले देख्नेगरी प्रस्तुत गर्नुभयो । उहाँको कार्यकालअघि झ्यालबाट सडकतिर हेरिरहेका नाबालक अनिश शाक्य लगायत दर्जनौँ व्यक्तिहरूले ‘प्रजातान्त्रिक सरकार’को आदेशमा गोली खाएर जीवन आहुति दिनुपरेको थियो । तर, ओलीको गृहमन्त्रीकालमा अकारण र अनाहकमा ‘लाठीचार्ज, अश्रुग्यास, हवाई फायर वा नागरिकलाई ताकीताकी गोली चलाउने’ जस्ता पूर्ववर्ती सरकारको रवैया कहीँकतै देख्नुपरेन । सरकार जनताको रक्षक हो भन्ने दृष्टान्त उहाँले व्यवहारतः देखाइदिनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको उक्त सरकार नौ महिना मात्रै चल्यो । त्यसलाई बहुमतमा पु¥याउन राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थन गर्न तयारै थियो ।
उहाँले सरकार टिकाउन प्रस्तुत गर्नुभएको विकल्पलाई पार्टीका केही नेताहरूले मानेको भए सायद मनमोहन अधिकारी नै पूरा अवधि प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले त्यसबखत राप्रपाका केही सांसदहरूलाई सामान्य वा कम महत्वका केही मन्त्रालयहरू दिएर अघि बढ्नु सरकारका निम्ति सुरक्षित हुने उपाय सुझाउनुभएको थियो । तर, समयमै त्यस विकल्पलाई सही ठानिएन, स्विकारिएन । त्यसो गर्नुलाई ‘प्रतिगामी’ गल्ती देख्ने र भन्ने नेताहरू नै पछि राप्रपाको ढोका ढक्ढकाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीको कल्की भिरिदिनु भन्दै हिँडेको विरोधाभासपूर्ण व्यवहार देखियो । खासमा यो ओलीको अर्को वैचारिक विजय थियो । (थापाः २०५३)
उहाँको व्यक्तित्व भनेको एक्लै हुँदा पनि सही विचारको पक्षमा चट्टानी अडान राख्न सक्नु हो । उहाँ सत्यसँग नजुध्ने र शक्तिसँग नझुक्ने विशेष धातुले बनेको असधैाँरण व्यक्तित्व हुनुहुन्छ ।
चौध वर्ष लामो कष्टसाध्य जेल जीवनबाट उन्मुक्ति पाएपछि उहाँ लुम्बिनी अञ्चलको पार्टी प्रमुखको जिम्मेवारीमा खटिनुभयो । २०४६ सालको जनआन्दोलनभरि लुम्बिनीकै भौगोलिक कार्यक्षेत्रमा नेतृत्व प्रदान गर्नुभयो । तर, यहाँनिर एउटा विशेष मोडको चर्चा हुनैपर्छ– नेपाली काँग्रेसको नेतृत्व पहिले कहिल्यै कम्युनिस्ट पार्टीसँग सहकार्यको निम्ति तयार थिएन । पञ्चायती शासनको ३० वर्ष भोगिसक्दा र नेपाली काँग्रेसका संस्थापक धरोहर बीपी कोइरालाको निधन भएपछिको अवस्थामा मूलतः गणेशमान सिंहको सुझबुझका कारण वाम मोर्चा र नेपाली काँग्रेसबिच कार्यगत एकता भई सहकार्यमा संयुक्त जनआन्दोलन आह्वान गरियो । सफल पनि भयो । यसमा गणेशमान सिंह र मदन भण्डारीको घनिष्ट संवाद अनि ओलीसहितका नेताहरूको मदन भण्डारीलाई रहेको साथले विशेष भूमिका खेलेको थियो ।
२०४७ साल जेठ १ गते ३९ वर्षीय ओलीको नेतृत्वमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपाल (प्ररायुसङ्घ नेपाल) स्थापना भयो, जो आज राष्ट्रिय युवा सङ्घका रूपमा क्रियाशील छ । २०४६ को चौथो र २०४९ को पाँचौँ राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलीय जनवादको अवधारणा र व्यवस्थित कार्यक्रम नै स्थापित गर्न उहाँले निरन्तर मदन भण्डारीको साथमा रहेर योगदान गर्नुभयो । २०४८ सालको आमनिर्वाचनमा पार्टीको चुनावी घोषणापत्रको मस्यौदा उहाँकै नेतृत्वमा गरिएको थियो । पार्टीको उम्मेदवारका रूपमा ‘२० रूपैयाँ’ खल्तीमा बोकेर काठमाडौँबाट प्रस्थान भएपछि झापाबाट लोकप्रिय मतका साथ निर्वाचित भएर काठमाडौँ आउँदा पनि त्यति रकम खर्च नभई जोगिएको थियो !
विसं २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ गरी ६ पटक उहाँ ३३ वर्षमध्ये २८ वर्ष झापाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ । २०६४ मा देखापरेको माओवादी ‘डढेलो’मा परी उहाँ समेत पराजित हुनुप¥यो । तर, निर्वाचित जनप्रतिनिधिका रूपमा उहाँको निरन्तरजसो नै जनअनुमोदन देख्न सकिन्छ ।
विसं २०५३ मा महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिको अध्ययन गर्न संसदीय दलले उहाँको नेतृत्वमा अध्ययन कार्यदल गठन ग¥यो । त्यसै कार्यदलले पहिलो पटक ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय अतिक्रमण र कब्जा’ रहेको तथ्योद्घाटन गरेको थियो । खासमा उहाँलाई उक्त तथ्य सार्वजनिक नगर्न भयानक दबाब थियो । तर, उहाँले राष्ट्रिय हित र स्वाभिमानविरुद्ध जोसुकैका त्यस्ता अनुचित दबाबलाई वास्ता गर्नुभएन । पार्टीको ह्वीप उल्लङ्घन, फ्लोरक्रस गरी जनताका बिचमा स्थापित नेकपा (एमाले) लाई विभाजित गर्ने कार्यको बिजारोपण त्यतिबैलै गरियो । पार्टीभित्र कथित ‘राष्ट्रवादी’ र ‘राष्ट्रघाती’ भन्ने कपटपूर्ण र कृत्रिम विभाजन गर्ने कार्य भयो । त्यसै उद्देश्यका साथ उहाँविरुद्ध अनेक प्रपञ्च र दुष्प्रचारको थालनी गरियो । त्यतिबेलाका कैयन् व्यक्तिले भनेजस्तो महाकाली सन्धि नेपालको अहित र भारतीय हितमा थियो भने आजसम्म त्यसको कार्यान्वयन किन भएन भन्ने अहम् प्रश्न छ । खासमा नेपाल र भारत दुवै देशको हितमा भएकाले नै आज तीन दशक बितिसक्दा समेत उक्त सन्धि कार्यान्वयनमा कुनै प्रगति हासिल भएको छैन । यस परिप्रेक्ष्यमा उहाँको अध्ययनकै तथ्य, मन्त्रीपरिषद्को निर्णय र संसद्को प्रायः सर्वसम्मतिमा पछि २०७७ सालमा नेपालको नयाँ नक्सा प्रकाशन र निशान छापमा समावेश गर्नेगरी ऐतिहासिक निर्णय र अनुमोदन पनि भएको छ ।
‘हिमाल, पहाड, तराई ः कोही छैन पराई’ यो उहाँको राष्ट्रिय एकतामा आधारित स्पष्ट अवधारणा हो । सामाजिक सहिष्णुता, समानता, सामाजिक न्याय र एकता उहाँको मूलमन्त्र हो । एकल जातीय पहिचान र जातीय अहंकार होइन, मिश्रित सामाजिक र जनसाङ्ख्यिक बनोटमा आधारित राज्यको नयाँ संरचना उहाँकै जोडका कारण सम्भव भयो । अशोककुमार राईको नेतृत्वमा नेकपा (एमाले) ले पार्टी विभाजनको मूल्य चुकाएरै भए पनि संविधानसभाबाट नयाँ संविधान र राज्यको नयाँ पुनःसंरचना संस्थागत गरेको छ ।
हिंसविरुद्ध लड्दा एमालेले आफ्ना ३०० भन्दा बढी होनाहार नेता, कार्यकर्ताहरू अनाहकमा गुमाउनुप¥यो । यदुकुमार गौतम, चक्रबहादुर डगौरा चौधरी लगायतको बलिदानले मात्र नपुगेर हिंसा, सामाजिक फासीवाद र आतंकविरुद्ध कमरेड केपी शर्मा ओलीले हिम्मतका साथ गर्नुभएको कठोर चुनौतीपूर्ण सङ्घर्षको परिणाम– ‘बन्दुकको नालबाट सत्ता जन्मन्छ’ भन्दै ‘जङ्गल र भारत’ पसेकाहरूको शान्ति सम्झौता, सेना समायोजन र संसदीय मूलधारमा आगमन अनिवार्य र सम्भव भयो । सही समयमा, सही मुद्दामा उहाँको यस्तै अगुवाइका कारण बन्दुकको छायाँमा संविधानसभाको चुनाव र नयाँ संविधान निर्माणको दुराशय पूरा हुन सकेन । घुमिफिरी रुम्जाटार भनेजस्तो २०५१ सालमा संसद्बाट बाहिरिएका माओवादीहरू २०६३ सालमा संसद्मै आइपुग्न बाध्य भए । १२ वर्षमा खोलो पनि फर्किन्छ भनेको सायद यस्तै घटना र परिघटनाहरूका निम्ति भनिएको थियो होला ।
‘मधेस स्वराज’को नारा उराल्दै ‘एक मधेस, एक प्रदेश’को पक्षमा मच्चाइएको ताण्डव नृत्य सामान्य थिएन । २०६३ सालमा अन्तरिम संविधान जारी भएलगत्तै संविधानसभाको चुनावलाई ‘मधेस कार्ड’का रूपमा दुरुपयोग गर्न खोजिएको थियो । पहाडीविरुद्ध मधेसी जुधाउने ‘पराईको षड्यन्त्र’ले यसमा काम गरेको थियो । मधेसीलाई विदेशीका रूपमा देख्ने वा मधेसको उन्नति र विकासलाई पृथकतावादको औचित्यसँग जोडेर अर्थ लगाउने कोसिस समेत नभएका होइनन् । रामचन्द्र झासहितका कतिपय मधेसी नेताहरू पार्टीबाट बाहिर र विरोधी कित्तामा उभिन पुग्दा समेत उहाँले तराई, पहाड र हिमालको अन्तरनिर्भरता र अभिन्नतालाई सदैव उच्च महत्व दिनुभयो । तराईको विकासलाई गुलजार बनाउने कार्य ‘मधेस विरोधी’का रूपमा ‘ट्याग’ भिराएर दुष्प्रचारको कुहिरीमण्डल सिर्जना गर्नेहरूकै अगाडि उहाँले पहिलो पटक प्रधानमन्त्री बनेपछि व्यवहारतः सबैका सामु योजनाबद्ध प्रयास र बजेट विनियोजनको दृष्टान्त प्रस्तुत गर्नुभयो ।
विदेशीको चाहनामा सरकार बन्ने वा ढाल्ने, अझ संविधान नै विदेशीले नचाहेसम्म जारी नगर्न दबाब दिने रवैयविरुद्ध उहाँले आफूलाई निरन्तर र अविचल रूपमा उभ्याउनुभयो । संविधानसभाबाट देशको संविधान जारी गरेबापत एउटा छिमेकीले नाकाबन्दी गर्नु आश्चर्यजनक प्रतिक्रिया थियो । दुनियाँमा यस्तो भएको विरलै उदाहरण पाइन्छ । तर, उहाँले विदेशी वा छिमेकीका लागि ‘कम्फर्टेबल’ सरकार बनाउने वा चलाउने प्रवृत्तिविरुद्ध सदासर्वदा सङ्घर्ष गर्नुभएको छ । सीमापारि बसेर माृतभूमितर्फ ढुङ्गा हान्नेहरूलाई उहाँले कहिल्यै राम्रो मान्नुभएन । विदेशीको काखमा लुटपुटिन, विदेशीको हितका पक्षमा उभिएर भित्रभित्रै तिनका विभिन्न निकायमा लिखित निवेदन दिने तर बाहिर सुरुङ युद्धको हुँकार गर्नेहरूका राष्ट्रहित विपरीतका रवैयविरुद्ध पनि निरन्तर लड्नुभयो । छिमेकीको आधिकारिक प्रतिनिधि भएर गुप्तचर प्रमुख सामन्त गोयल आउँदा भएको भेटलाई उहाँले गुपचुप नराखी दुनियाँको सामु सार्वजनिक गरेर जानकारी गराउनुभयो । यस किसिमको पारदर्शी व्यवहार कोही प्रधानमन्त्रीले आजपर्यन्त प्रदर्शन गर्नसकेको दृष्टान्त पाइँदैन ।
विसं २०७१ असार–साउनमा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट नेकपा (एमाले) को अध्यक्षमा उहाँ निर्वाचित हुनुभयो । अत्यन्त बिरामी अवस्थामा पार्टीको नेतृत्व सम्हाल्नुअघि उहाँले २०७० माघमा संसदीय दलको नेतामा बहालवाला पार्टी अध्यक्ष झलनाथ खनाल र उहाँको साथमा मोर्चाबद्ध माधवकुमार नेपाललाई एकसाथ २३ मतको अन्तरले पराजित गरिसक्नुभएको थियो । नवौँ महाधिवेशनमा फेरि त्यही मोर्चाबन्दीमा बनेको ‘प्यानल’ निर्वाचनमा प्रत्यासी भएर १६ वर्ष पार्टी प्रमुख रहिसक्नुभएका माधवकुमार नेपाललाई पराजित गरेर मात्रै उहाँ पार्टीको मुख्य नेतामा स्थापित हुनुभएको दृष्टान्त यहाँ विशेष उल्लेखनीय छ । जब कि उहाँभन्दा अघि या त आफैँले स्थापना गरेर (को–अर्डिनेसन केन्द्र÷नेकपा (माले) को स्थापना) या केन्द्रीय कमिटीले प्रस्ताव गरेर (चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठाँै महाधिवेशनमा समेत) पार्टीको मुख्य नेता चयन गरिएका अभ्यासहरू थिए । तर, उहाँको हकमा शक्ति बाँडफाँट (पावर सेयरिङ) वा केन्द्रीय कमिटीको तर्फबाट प्रस्ताव गरी नेतृत्वमा स्थापित गर्नेजस्ता कार्य कहिल्यै भएको पाइँदैन । बरु महाधिवेशनको हलमा प्रत्यक्ष निर्वाचन लडी जितेर मात्रै उहाँलाई मुख्य नेतृत्वको जिम्मेवारी प्राप्त हुनसक्यो । २०५० जेठ ३ गतेको दासढुङ्गा हत्याकाण्डपछि माधवकुमार नेपालले १६ वर्ष नेतृत्व गर्दागर्दै २०६४ को संविधानसभा निर्वाचनमा लज्जास्पद पराजय भोग्नुपरेको सङ्कटपूर्ण अवस्थामा समेत पहिले र पछि गरी झलनाथ खनाल १४ वर्ष नेकपा (माले) र नेकपा (एमाले) को मुख्य नेता रहिसक्नुभएको थियो । तर, ओलीले सधैँै अरूलाई नेतृत्वमा स्थापित गर्ने भूमिका खेल्नुभयो, उहाँलाई समकालीनहरूले कहिल्यै मुख्य नेतृत्व सुम्पिने जरुरी ठानेको देखिएन । उहाँ कार्यकर्ताको बल र लोकप्रियतामा उभिएर प्रतिस्पर्धाको माध्यमबाट अरूबाट खोसेर मात्रै नेतृत्व हासिल गर्न सफल हुनुभयो । यसरी नेतृत्व निर्माणका हिसाबले पनि उहाँ अरूभन्दा भिन्न अभ्यासबाट मात्रै पार्टीको मुख्य नेतामा स्थापित हुनुभयो ।
२. बक्ररेखाको नेतृत्व अभ्यास
मैले मनमोहन अधिकारीसँग २०५६ सालमा नजिकको सम्बन्धमा रही काम गर्ने अवसर पाएको थिएँ । माधवकुमार नेपाल, झलनाथ खनाल, भरतमोहन अधिकारी, ईश्वर पोखरेल, प्रदीप नेपाल, प्रदीप ज्ञवाली, रघुजी पन्त र वामदेव गौतमसँग निकट रहेर विभिन्न जिम्मेवारीहरू बहन गरेँ । त्यस क्रममा सबैका आ–आफ्नै विशेषता र नेतृत्व शैलीको अनुभव गरेको छु । केपी शर्मा ओलीसँग सायद सबैभन्दा धेरै अन्तर्वार्ता (करिब दुई दर्जन) मैले गरेको छु । उहाँले पार्टीभित्र अल्पमतमा पर्दा जमेर सङ्घर्ष गर्नुभयो, देशभरि आफ्नो छुट्टै सञ्जाल पनि सञ्चालन गर्नुभयो । पार्टी नेतृत्वले उहाँलाई संस्थागत रूपमै जिल्ला–जिल्ला र कार्यकर्ताको बिचमा पुग्नबाट नियन्त्रण समेत गर्ने ग¥यो । केन्द्रीय सचिवालयबाट अनुमति लिएर मात्रै प्रमुख अतिथि तोकिने अभ्यास खासमा उहाँलक्षित नै थियो । तर, त्यसले पनि उहाँलाई खासै नियन्त्रण गर्नचाहिँ सम्भव भएन ।
उहाँ जसरी र जुन प्रक्रियाबाट नेतृत्वमा स्थापित हुनुभयो, विगत १० वर्षयता केन्द्रीय कमिटीमा सँगै रहेको अनुभवका आधारमा मलाई लागेको छ– उहाँको नेतृत्व सरल, नियमित र साधारण ढङ्गको मात्रै छैन । बाङ्गोटिङ्गो बाटोमा कहिले झ्याप्प ब्रेक लगाएजस्तो गरेर त कहिले बेगवान् गतिमा कुँदेर मात्रै उहाँलाई हरेक नेता–कार्यकर्ताले पछ्याउन सम्भव हुन्छ । रातभरि काम गर्नसक्ने, दैनिक १८ घण्टा काममा सक्रिय हुनसक्ने, शान्त नभएर सदैव अशान्त आँधीबेहरीको गति र परिवेशमा अभ्यस्त हुन नसक्ने हो भने उहाँसँग टिक्नै सम्भव हुँदैन । चाहे काँकडभिट्टा–कञ्चनपुर–सुर्खेत (मेची–महाकाली राष्ट्रिय अभियान) होस् अथवा पुष्पलाल लोकमार्ग केन्द्रित (झुलाघाट–चिवाभञ्ज्याङ) समृद्धिका लागि सङ्कल्प यात्रा होस् – यी असामान्य अभियान र जनपरिचालन उहाँको नेतृत्वकालमा आयोजना भएका छन् । उहाँ हरेक व्यक्तिलाई अल्छीपन, आलस्य र ढिलासुस्ती होइन, जागृत, सचेत र सक्रिय तनमन र मस्तिष्कमा आफूजस्तै अहोरात्र क्रियाशील गराउन सधैँै सधैँै प्रयत्नशील देखिनुहुन्छ । हिँडिरहेको गाडी रोकेजस्तै, बसिरहेको बथान कुदाएजस्तै गरी उहाँ कहिले के गर्नुहुन्छ ? खासमा धेरैलाई अत्तोपत्तो नै हुँदैन । सम्बन्ध, सम्पर्क र भेटघाटमा उहाँको हकमा कुनै कार्यतालिकाले काम गर्दैन । पद, ओहदा र दज्र्यानीको कारणले पनि सम्बन्धलाई फरक पार्दैन । सामान्य मान्छेसँग उहाँको घण्टौँ समय बित्छ र कहिलेकाहीँ जरुरी भेटघाटलाई नै समय मिलाउन हम्मेहम्मे परेको अनुभव हुन्छ । उहाँ अरूको विश्लेषण, धारणा र सापटी विचारको आधारमा नभएर आफ्नै ‘एन्टीकरेन्ट’ (अलग) दृष्टिकोणका साथ सक्रिय हुनुहुन्छ । सम्भवतः यही स्थितिलाई विश्लेषण गरेर उहाँलाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुँदा कतिपय विश्लेषकहरूले ‘विद्रोही’ प्रधानमन्त्रीका रूपमा पनि प्रस्तुत गर्ने गरेको पाइन्छः
‘प्रायः विद्रोह जनताले गर्छन्’ ओलीको सन्दर्भमा त्यो कुरा मिल्दैन । कहिलेकाहीँ ओलीले जनतविरुद्ध विद्रोह गर्छन् । पहिलो संविधानसभा निर्वाचनमा पराजित भएपछि उनले दिएको अभिव्यक्ति रोचक छ । झापाबाट काठमाडौँ फर्कने क्रममा उनले पत्रकारलाई प्रतिक्रिया दिएका थिए, ‘जनताले गल्ती गरेकाले पराजित भएँ । जनताले यो कुरा महसुस गर्नुपर्छ । आगामी निर्वाचनमा सच्याउने छन् ।’ यो उनको जनताप्रति ‘साइलेन्ट’ विद्रोहको अभिव्यक्ति थियो । जति पराजित भए पनि कहिल्यै नझुक्ने स्वभाव ओलीमा देखिन्छ । (बीसी ः २०७७)
उहाँको व्यक्तित्व, निष्ठा र समर्पणलाई नबुझ्नेहरू अनेक आरोप लगाएर विरोध, निन्दा र भत्र्सना गर्न जुट्छन् । तर, सिङ्गो पृथ्वी पल्टिएर निन्दामा जुटे पनि त्यसले उहाँलाई खासै फरक पारेको देखिँदैन । खासमा उहाँ भिडसँग कहिल्यै डराउनुहुन्न । सदासर्वदा भिडलाई आफ्नो पछिपछि डो¥याउन सक्नुहुन्छ । चाहे माओवादी हिंसविरुद्ध सम्झौताहीन सङ्घर्षको बेला होस् वा नेपालविरुद्ध लगाइएको नाकाबन्दीको प्रतिरोधमा नेपाली राष्ट्रिय स्वाभिमानको बादशाहका रूपमा ‘नाकाबन्दी नहटाई म भारत भ्रमणमा जान्नँ’ भन्ने अभिव्यक्ति दिइरहँदा होस् अथवा संसद्को रोस्ट्रमबाट ‘सत्यमेव जयते कि सिंहमेव जयते’ भनेर म भारतसँग सोध्न चाहन्छु भनिरहँदा होस्, कहिलेकाहीँ त लाग्छ– उहाँको मुटु नै छैन, जो कुनै शक्तिका सामु डरले थरथर काँपोस् ।
लोकतन्त्रका लागि लामो सङ्घर्ष गर्नुभएका ओलीलाई कतिपयले लोकतन्त्रविरोधी, प्रतिगामी, तानाशाह र अधिनायकवादी सिद्ध गर्न एक समय न्वारनदेखिको बल लगाएका थिए । यसै सन्दर्भमा २०७७ पुस ५ पछिको एउटा बसाइँलगत्तै एक विश्लेषकले लेखेका थिएः
प्रतिनिधिसभा विघटन गरेपछि केपी ओलीलाई विपक्षी र आलोचकहरूले ‘तानाशाह’, ‘निरकुंश’, र ‘प्रतिगामी’को बिल्ला भिराइदिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोकतन्त्रको हत्यारा’ को आरोप पनि लगाए । नसामा रगतभन्दा राजनीति बग्ने मानिसहरूले ओलीप्रति एक प्रकारको धारणा बनाइरहेकै हुन्छन् । तर, स्वयम् उनकै मुखबाट ‘तानाशाही होइन, डिसिप्लिन डेमोक्रेसी’ भनेको सुन्दा र ‘त्यो पानी ट्याङ्करको चालकलाई ट्याङ्करबाट पानी खन्याउन १० मिनेटमा सकिने कामका लागि चालकलाई एक घण्टा किन कुराउने ? बरु हामी माथिबाट मगाएर मिठो कफी खाऊँ, उसलाई छिटो पानी खन्याउन लगाएर पठाइदिऊँ’ ओलीले यस्तो भनेको सुन्दा ओलीमा त्यस्तो तानाशाही प्रवत्ति हामीले भेट्टाएनौँ । ओली त उल्टै नरम पो सुनिए । ‘मानिसको एउटै अन्तर्राष्ट्रिय जाति हुने छ’ भन्ने गीत गाउने कम्युनिस्टहरू पदमा पुगेपछि आफैँलाई शासक ठान्छन् । तर, एक मजदुरको समयको मूल्य बुझिदिने प्रधानमन्त्रीको यो शैली काठमाडौँदेखि गाउँगाउँका सिंहदरबारमा बस्ने ‘शासक’हरूले बुझिदिने हो भने वास्तविक अर्थमा सामाजिक न्याय र समाजवादको गफ गरेको सुहाउला कि ? (पन्तः २०७७)
अग्रजहरूबाट विरासतमा देशको दोस्रो ठुलो पार्टी बुझ्नुभएका उहाँले आफ्नो नेतृत्व, पौरख र कार्यनीतिक चार्तुयसँगै क्रमशः पहिलो पार्टी बनाउनुभयो । दुई तिहाइ बहुमतको सरकार चलाउने शक्तिशाली शक्ति र सामथ्र्य निर्माण गर्नुभयो । उहाँले एकता र विभाजन दुवै भोग्नुभयो । आफू हाराहारीको दोस्रो अध्यक्ष बनाएर उस्तै–उस्तै रङ र बुट्टेदार कुर्सीमा नै प्रचण्डलाई आसीन पनि गराउनुभयो । तर, दुई वर्ष बित्दा नबित्दै ‘१९ बुँदा’को लिखित आरोपपत्र मात्रै बेहोर्नु भएन, पार्टी अध्यक्ष, संसदीय दलको नेता, सांसद र पार्टी सदस्यबाटै निष्काशित गरिनुभयो । पार्टी एकतामा ४० प्रतिशत हिस्सा प्राप्त गरेका सहकर्मी नेताबाट यसरी निष्काशित भएको घोषणा सुन्न पनि उहाँ अभिशप्त हुनुप¥यो । अध्यादेशको चर्को विरोध गरी ‘र’ लाई ‘वा’ बनाउनु संविधानविपरीत भयो भन्नेहरूबाटै ४० प्रतिशतलाई २० प्रतिशतमा झारेर नेकपा (एमाले) को संसद्बाट विभाजन गरियो । १६ र १४ वर्ष पार्टी प्रमुख भएका नेताहरूबाट नेकपा (एमाले) यसरी विभाजन गरिने छ, त्यो पनि नेपाली काँग्रेस र माओवादी केन्द्रको साथ, वैदेशिक शक्तिहरूको उक्साहट र एमाले विरोधीहरूको लगानीमा भन्ने कसरी सोच्नु र विश्वास गर्नु ? यस्ता भोगाइहरू सबैभन्दा बढी उहाँकै स्मृतिपटलमा सुरक्षित र ताजै हुनुपर्छ । विभाजनबाट शक्ति कहिल्यै प्राप्त हुँदैन र पार्टी बलियो बन्दैन । आज माधवकुमार नेपाल, झलनाल खनाल, सीपी मैनाली, वामदेव गौतम, डा. भीम रावल, घनश्याम भुसालहरूको हविगतबाट त्यसका परिणाम र परिणतिहरू स्पष्ट भएका देखिन्छन् ।
३. असमान्य सपना
पुष्पलाल, रामनाथ दाहाल र मदन भण्डारीलाई विशेष रूपमा सम्मान गर्नुहुने प्रधानमन्त्री केपी शर्मा ओली मान्छेमा अन्तर्निहीत क्षमता, पहलकदमी र सक्रियताको संयोजनमा नयाँ पुस्ताको खास हिमायती हुनुहुन्छ । साधारण भुइँमान्छे उहाँको आफ्नो खास वर्ग हो । व्यक्तिगत मेहनत, परिश्रम र पौरखको बलमा चुनौतीसँग पौठेजोरी खेल्दै उहाँको आजको विराट् व्यक्तित्व निर्माण भएको छ । जेलबाट छुटेपछि पाटन निवासी राधिका शाक्यसँगको विवाहले उहाँलाई पारिवारिक जीवनमा आबद्ध गरी प्रतिकूल स्वास्थ्यको विशेष ख्याल गर्न सहयोग पुगेको यथार्थ सबैका सामु छर्लङ्ग छ ।
आफ्नो र श्रीमती शाक्यको सम्पूर्ण सम्पत्ति ट्रस्टमार्फत जीवनको शेषपछि राष्ट्रको नाममा सुम्पने निर्णय गरेर उहाँले सबैका निम्ति उदाहरणीय कार्य गर्नुभएको छ । दुई–दुई पटक मिर्गौला प्रत्यारोपण गरी टीबी, एपेन्डिसाइटिस र अन्य जटिल रोगहरूसँग जुझ्दै आफ्नो भौतिक शरीरलाई आधुनिक स्वास्थ्य विज्ञान र उपचार पद्धतिको प्रयोगशालाकै रूपमा उहाँले सदुपयोग गर्नुभएको छ भन्दा अत्युक्ति हुँदैन । राजनीतिक जीवनलाई सर्वोपरि रूपमा नेपाली जनताको नियतिमा परिवर्तन, सुख, खुसी र समृद्धिका पक्षमा समर्पित गरिरहनुभएको छ । त्याग, निष्ठा, विचार निर्माण र कार्यान्वयनमा उहाँ एक अद्वितीय व्यक्तित्व र सधैँकका रूपमा क्रियाशील हुनुहुन्छ । वास्तवमा यो नै केपी शर्मा ओलीको वास्तविक सपना, सङ्घर्ष र सुङ्कल्पको त्रिआयामिक व्यक्तित्व बन्न पुगेको छ ।
पार्टी सञ्चालनमा होस् वा राज्य सत्ताको नेतृत्व गर्ने क्रममा ओली सामान्य, सनातनी र एक थान ओहोदाधारी मात्र देखिनुहुन्न । आफ्ना विरुद्ध ‘१९ बुँदा’को आरोपपत्र, निष्काशनको ऐलान, पार्टी विभाजन र पाँच दलीय गठबन्धन गरी चौतर्फी रूपमा घेरेर समाप्त पार्न उद्धत व्यक्ति र शक्तिहरूलाई समेत उहाँले जनताको बल र साथमा ‘साइज डाउन’ गर्ने सफलता हासिल गर्नुभयो । जनमतमा पहिलो पार्टी अर्थात् सबैभन्दा धेरै २८ लाख मतदाताले मन पराएको पार्टीलाई षड्यन्त्रपूर्वक विभाजनका बाबजुद स्थापित गराउनुभयो । अझ आफूकहाँ क्षमाप्रार्थी मुद्राभावमा आउना