काठमाडौं, शंखरापुर नगरपालिकाको वडा नं ४ स्थित रैले वृद्धाश्रम प्राङ्गणमा सोनाम ल्होछार कार्यक्रम रौनकता र हर्षोल्लासका साथ सम्पन्न भएको छ।
तामाङ समुदायको बिशेष चाड तथा राष्ट्रिय पर्व मञ्जुश्री सम्बत २८६१ औं डुल (सा पुख्री) ल्हो सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम भएको हो।
सोनाम ल्होछार मुल समारोह समितिका संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष सुना बहादुर तामाङ (सोनाम) को सभा अध्यक्षतामा शुरु भएको कार्यक्रममा नेपाल सरकार उपप्रधानमन्त्री एवं शहरी बिकास मन्त्री माननीय प्रकाशमान सिंहको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा संघिय सांसद प्रतिमा गौतम, प्रदेश सांसद तथा पुर्व मन्त्री तीर्थ लामा,राजु बिष्ट,शंखरापुर नगर प्रमुख रमेश नापित,नगर उप प्रमुख समिता श्रेष्ठ,कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्की,पुर्व राजदुत गणेश योञ्जन, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जनप्रतिनिधि, वडा अध्यक्षहरु,वडा सदस्यहरु, समाजसेवी बुद्धिजीवी, कर्मचारी, कलाकार, झाँक्रीहरू,लामा गुरुहरू,स्थानिय दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्य राख्दै संयोजक सुना बहादुर तामाङ (सोनाम) ले कार्यक्रमको बारेमा स्पष्ट पार्दै विभिन्न बिकास योजना,तामाङ समुदायको चाडपर्व, कला संस्कार संस्कृति,को संरक्षण र सम्बर्द्धन गर्नको लागि सबैको साथ सहयोग र एकताले मात्र सम्भव हुने बताउदै सोनाम ल्होछारको अवसरमा सम्पुर्णमा शुभकामना ब्यक्त गरेका थिए।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी प्रकाशमान सिंहले शुभकामना व्यक्त गर्दै तामाङ समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उनले भने, “नेपालको विविधता नै हाम्रो विविध सांस्कृतिक पहिचान हो । तामाङ समुदायको यो सांस्कृतिक पर्वले सामाजिक एकता र सद्भाव बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ ।”
बिहान ६ बजे देखि बौद्ध धर्म अनुसारको पूजापाठ भएको थियो भने करिब ११ बजे देखि औपचारिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो।
कार्यक्रम झाँक्री लगायत तामाङ समुदायको विभिन्न कला संस्कार संस्कृति झल्किने विभिन्न नृत्यहरू प्रस्तुत गरिएका थिए।कार्यक्रममा विभिन्न व्यक्तिहरुका शुभकामना मन्तब्य राख्दै तामाङ समुदायको कला संस्कार संस्कृति झल्किने राष्ट्रिय पर्व सोनाम ल्होछार सम्पुर्ण नेपालीहरुको एकताको प्रतीक भएको र यसलाई जोगाउनु हामी सबैको दायित्व र कर्तब्य हो भन्दै सबै जनाले सोनाम ल्होछारको पावन अवसरमा देश बिदेशमा रहेका सम्पुर्णमा शुभकामना ब्यक्त गरेका थिए।
त्यसैगरी लामो समय देखि तामाङ समुदायको पक्षमा काम गर्दै आउनु भएका समाजसेवी कुमार मोक्तान तामाङले सोनाम ल्होछार के हो? किन र कसरी मनाउने? तामाङ समुदायका लागि ल्होछारको महत्व किन छ ? लगायत का बिषयमा स्पष्ट पारेका थिए।
ल्होछार विशेषलाई थप मनोरञ्जनात्मक बनाउन विभिन्न स्थानिय कलाकार तथा चर्चित कलाकारहरूका प्रस्तुति राखिएका थिए।विभिन्न नृत्य, गायन तथा लोकदोहोरीको रौनकतमा उपस्थित दर्शकहरु प्रफुल्ल देखिन्थे।कार्यक्रममा सहभागी दर्शकहरुको मुग्लानी खबर मार्फत प्रतिक्रिया लिईएको थियो जसमा सबैले यो ल्होछार अत्यन्तै उत्कृष्ट भएको र खुशी रहेको प्रतिक्रिया दिएका थिए।
सबै जातजातिको सहभागिताले ल्होछार कार्यक्रम अत्यन्तै सौहार्दता आत्मीयता र सांस्कृतिक एकताको रुपमा भएको देखिन्थ्यो ।कार्यक्रममा सहभागी गैर तामाङ समुदायका व्यक्तिहरुले तामाङ पोषाक तथा टोपीमा सजिएको देख्दा थप आत्मीयता र सम्मानले एकताको उदाहरण प्रस्तुत भएको थियो।
उक्त सोनाम ल्होछार कार्यक्रमलाई सफल बनाउन स्वयंसेवक, विभिन्न कमिटी,उप कमिटी समितिहरु लगायतका व्यक्तिहरु निरन्तर खटिरहेका थिए।कार्यक्रम मुल समारोह समिति सदस्यहरुमा वडा नं २ वडा अध्यक्ष रन बहादुर तामाङ,वडा नं ३ का वडा अध्यक्ष सुर्य बहादुर तामाङ र वडा नं ८ का वडा अध्यक्ष पोते थिङ तामाङ लगायतको रहेको थियो भने कार्यक्रम वडा नं ४ को आयोजनामा भएको थियो।
सोनाम ल्होछारलाई विभिन्न सञ्चार माध्यम मार्फत विश्वभर पुर्याउन काष्ठमण्डप टेलिभिजन,मुग्लानी खबर डटकम, मुग्लानी खबर एच डी,यथार्थ खबर,बौद्ध खबर, नेपाल भिउज,नमोबुद्ध खबर लगायतबाट प्रत्यक्ष प्रशारण गरिएको थियो भने कार्यक्रमको शुरु देखि अन्तिम सम्म कार्यक्रम सञ्चालक द्वय सत्यमान लामा र सरिता घलानले सहजीकरण गरेका थिए।