काठमाण्डौ, शंखरापुर सक्व महोत्सव -२०८१ विभिन्न मौलिक सांस्कृतिक बाजा झाँकी, जात्रा र नृत्य सहित विविध कार्यक्रमका बिच भब्य उद्घाटन भएको छ ।
करिब १६ बर्ष पछि आयोजना भएको ४ दिने शंखरापुर सक्व महोत्सवको ऐतिहासिक उद्घाटन गरि विविध कार्यक्रम गरेको छ । महोत्सव उद्घाटन अघि विशाल र्यालीले साँखुको बजार परिक्रमा गर्दा बजारका बासिन्दा मात्रै होइन सालीनदी दर्शन गर्न पुगेका भक्तजन पनि एकछिन रोकिएर र्यालीको मज्जा लिदै गरेको देखिन्थ्यो । किनकी र्यालीमा कुनै नारा थिएन, कसैको समर्थन वा बिरोध थिएन । त्यहाँ थियो त केबल लाखे नाच, परम्परागत नृत्य, कुमारी रथ यात्रा, कलाकार साहित्यकारहरूको लस्कर, स्थानिय उत्पादनको प्रदर्शनी, मुर्तिकला, चित्रकला, धिमे बाजा, झाँक्री प्रहशन, नौमती बाजा, तथा बिभिन्न समयमा मनाइने जात्राका प्रतिबिम्बहरु र्यालीमा समाबेश थिए ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी तथा शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको अगुवाइमा भएको उद्घाटन र्यालीमा साहित्यकारहरु, कलाकारहरु, ९ वटै वडामा रहेका सामुदायीक विधालयका विद्यार्थीहरु, नगरपालिकाका कर्मचारीहरु, उधोग बाणिज्य संघ शंखरापुर, कृषक समूहहरु, महोत्सवका आयोजक टिम, विभिन्न कमिटी उपकमिटिका संयोजक, विभिन्न वडाका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरु,विभिन्न शाखाका कर्मचारीहरु लगायत स्थानीय दाजुभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।
नगर प्रमुख नापितको सभापतित्व तथा मन्त्री ठकुरीको प्रमुख आतिथ्यतामा भएको औपचारीक उद्घाटन समारोहमा वडा नं ६ का वडा अध्यक्ष एवं प्रवक्ता, शंखरापुर सक्व महोत्सव कार्यक्रमका संयोजक राधाकृष्ण श्रेष्ठले स्वागत मन्तव्यद्वारा सम्पुर्णलाई स्वागत गर्नु भएको थियो । 
चर्या नृत्य, डाफा भजन, लोक दोहोरी, पञ्चेबाजा, नौमती बाजा, खैंजडी भजन लगाएत विविध कार्यक्रम भएको उद्घाटन सत्रमा शुभकामना ब्यक्त गर्दै विशेष अतिथी तथा अतिथीहरुले ऐतिहासिक, पौराणिक एवं सांस्कृतिक शहर साँखुले आफ्नो पहिचान गुमाउँदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए ।
महोत्सव मुल समारोहका समितिका संयोजक एवं नगर प्रमुख नापितले त्यहि हराउँदै गएको साँखुको पहिचान फर्काउँदै नवजीवन प्रदान गर्न महोत्सव आयोजना गरिएको बताउनु भयो । साँखुको ऐतिहासिक बिकास, बज्रयोगिनी तथा मणिचूडको प्रचार नगर भित्रका पर्यटकिय तथा धार्मिक क्षेत्रको प्रवर्धन स्थानिय उत्पादनलाई प्रोत्साहन एवं सुस्ताएको ब्यबसायी चलायमान बनाउन महोत्सव आयोजना गरिएको बताउनु भयो ।
करिब ४ दिन सम्म चल्ने महोत्सव उद्घाटन समारोहलाई प्रमुख अतिथी एवं बागमती प्रदेश सरकारका सँस्कृति एवं पर्यटन मन्त्री बिमल ठकुरी, पुर्व प्रदेश मन्त्री एवं प्रदेश सांसद राजु बिष्ट, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रक्षक बहादुर घलान, नेकपा समाजवादीका नगर अध्यक्ष श्याम कुमार वाइवा लगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमलाई थप मनोरञ्जन उक्त कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानका कलाकारहरु शिला आले, उपाध्यक्षहरु द्वय राधिका हमाल, खुमन अधिकारी,लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल लगायतले लोक दोहोरी घन्काएका थिए ।
आयोजकका अनुसार महोत्सव आगामी १९ गते शनिबार सम्म नियमित संचालन हुने सम्पुर्णलाई उपस्थित भई साखुको अवलोकनका लागि अनुरोध समेत गरेको छ।
पुरा फोटो हेर्नुहोस ......