वशन्तराज सुब्बा
ताप्लेजुङ, मुन्धुमी पवित्र तीर्थ मुक्कुम्लुङ पाथिभरामा केवलकार निर्माण विरुद्ध संघर्ष गर्दै आएका विभिन्न संघ संगठनका युवाहरूमाथि प्रहरीले गोली हानी घाइते बनाएपछि आजबाट ताप्लेजुङ जिल्लासँग जोडिने मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट आउने नाकाहरूबाट सवारी साधन पूर्ण बन्द रहेका छन् ।
मुक्कुमलुङ बनाउने भनिएको केवलकार खारेजीको निर्णय नभएसम्म बन्द जारी रहने मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति लगायत छ वटा संघ संस्थाहरुले जनाएको छ । बन्दको कारण मेची मार्गको झापाको बुधबारे, इलाम, पाँचथर हुँदै ताप्लेजुङ जाने यातायात ठप्प भएको थियो । त्यसैगरी सुनसरी धनकुटा हुँदै फिदिम जाने तमोर करिडोर ठप्प भएको थियो । बिहानैदेखि सडकमा बन्द गराउन मुक्कुमलुङ आन्दोलनमा जोडिनु भएका संघर्षरत संस्थाका नेता कार्यकर्ताहरु रहेका छन् ।
झापाको चारअली, बुधबारे, इलामको विभिन्न स्थानहरु, पाँचथरको फिदिम, हेवाखोला, तमोर करिडोरको बिभिन्न स्थानमा आन्दोलनकारीहरु रहेका थिए । आज विहान बिभिन्न स्थानमा टायर बालेर आन्दोलनकारीहरुले विरोध प्रदर्शन गरेका थिए । स्थानीय जनता, सरोकारवालाहरुको विरोधको बाबजुद जवरजस्ती गर्ने प्रयास भएपछि मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, समाजिक संस्थाहरु र बिभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरुले विरोध गर्ने क्रममा प्रहरीले शनिबार जथाभाबी गोली प्रहार गर्दा चार जना भन्दा धेरै प्रदर्शनकारीहरु मुक्कुमलुङमा घाइते भएका थिए ।
प्रहरीको गोली लागेका तीन जनाको काठमाडौ स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये सगुन लावतीको छाती वारपार हुनेगरी गोली लागेर उनको फोक्सोमा रगत जमेको वताइएको छ । उनको अवस्था अझै गम्भीर रहेको वताइएको छ । त्यसैगरी याम लिम्बुको तिघ्रा वारपार हुनेगरी गोली लागेको छ दुखाई भईरहेको उनले बताएका छन् । त्यसैगरी अर्का धर्मान पालुङवाको देब्रे कुम भाँचिएर स्टिल लगाई खतरा मुक्त भएपनि दुखाई नघटेको बताउदै आएका छन् । प्रहरीले निहत्था जनता आफ्नो सांस्कृतिक संरक्षणको लागि आवाज उठाउँदा गोली बर्षाएको, केवलकार खारेजीसँगै प्रदेशको नाम कोशी खारेजी लगायतको माग राखेर ताप्लेजुङ जाने सम्पूर्ण नाकाहरु आज (माघ १५ओं) देखि अनिश्चितकालीन बन्द गरेको हो ।मुक्कुमलुङ संरक्षण संघर्ष समितिले गोली हान्न आदेश दिने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी प्रमुखहरुलाई कारबाही हुनुपर्ने माग राख्दै अनिश्चितकालीन सडक बन्दको आव्हान गरेको जनाएको छ । आन्दोलनमा सामाजिक संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघ, किरात थाक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात धर्म तथा साहिन्य उत्थान संघ लगायत दर्जनौ संघ संस्थाहरु रहेका छन् । त्यसैगरी राजनीतिक पार्टीहरूमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल जनमुक्ति पार्टी, जसपा नेपाल, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा सम्वद्ध किराती मोर्चा, मंगोल नेशनल अर्गनाइजेसन (डीजीजी), पहिचानवादी मोर्चा लगायतका नेता, कार्यकर्ताहरु सडकमा रहेका छन् ।