काठमाण्डौ, १५ माघ ।शंखरापुर नगरपालिकामा संचालन हुन गइरहेको 'शंखरापुर सक्व महोत्सव २०८१' को भोली माघ १६ गते भब्य उद्घाटन सहित शुभारम्भ हुने भएको छ ।
बिहान १० बजे विविधता झल्कने मौलिक बाजागाजा सहित सांस्कृतिक झाँकी सहित नगर परिक्रमा गरेपछि महोत्सवको औपचारिक उद्घाटन हुने उधोग बाणिज्य संघ शंखरापुरका अध्यक्ष एवं महोत्सवका ब्यापार तथा स्टल उप समिति संयोजक सत्यनारायण श्रेष्ठले मुग्लानी खबरलाई जानकारी दिएका छन ।
शंखरापुर नगरपालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयुक्त संयोजनमा भोली माघ १६ देखी १९ गते सम्म ४ दिन हुने महोत्सवको उद्घाटन बागमती प्रदेशका सँस्कृति, पर्यटन तथा सहकारी मन्त्री माननीय बिमल ठकुरीको प्रमुख आतिथ्यतामा गरिने कार्यक्रमका संयोजक एवं नगर प्रबक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन ।
संयोजक श्रेष्ठका अनुसार भोलिदेखि शुरु हुने महोत्सवमा सांस्कृतिक झाँकी, परम्परागत जीवनशैली, ऐतिहासिक सम्पदाहरुको जानकारी, रैथाने उत्पादनको प्रदर्शनी एवं बिक्रि बितरण, ऐतिहासिक,धार्मिक स्थलहरुको जानकारी, स्थानिय जात्रा, पर्वहरुको जानकारी, स्थानिय खाजा तथा परिकारहरूको प्रदर्शनी एवं बिक्रि, नेवा भ्वयू, परम्परागत नाच, गीत, लोकदोहोरी,साहित्यिक ,भजन, विद्यार्थीहरुको प्रदर्शनी, हस्तकला काष्ठकला, , प्रस्तरकला, चित्रकला, तथा फोटो प्रदर्शनी तथा प्यानल छलफल हुने छ समेत जानकारी दिएका छन।