तिलविक्रम थेवे
दोहा कतार – ताप्लेजुङ पाथीभरा सेवा समाज कतारले “भेटघाट तथा परिचयात्मक कार्यक्रम”को आयोजना गरी कतारको भ्रमणमा रहेका राजनैतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीसँग भेटघाट गरयो ।
सो कार्यक्रममा डा केसीलाई संस्थाको तर्फबाट अध्यक्ष कुमार खडका र प्रमुख सल्लाहकार दुर्गा प्याकुरेलले मायाको चिनो प्रदान गरेका थिए ।
मायाको चिनो ग्रहण गर्दै प्राडा. सुरेन्द्र केसीले कतारमा स्थापित आफु जन्मेको, हुर्केको जिल्लाको सामाजिक संस्था ताप्लेजुङ पाथीभरा सेवा समाज कतारका साथीहरुसँग भेटघाट गर्न पाएकोमा र संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएकोमा खुशी व्यक्त गर्दै संस्थाप्रति कृतज्ञता व्यक्त गरे ।
प्रा.डा. केसीले देशको समसामयिक विषयवस्तु लगायत वर्तमान राजनैतिक परिदृश्यको वारेमा जानकारी दिदै देशको वर्तमान परिस्थितिको वारेमा आफनो विचार विश्लेषण गरेका थिए । राजनिति वाहेक पनि नेपालको वर्तमान सामाजिक, आर्थिक, शैक्षिक अवस्था, नेपाली जनताको जीवनस्तर, वैदेशिक रोजगारमा रहेका नेपालीहरुको विषयमा समेत विभिन्न संचार माध्यममार्फत आफनो धारणा राख्दै आएका प्रा.डा. केसीले पछिल्लो चरणमा ताप्लेजुङमा केवलकार बनाउने नवनाउने विषयमा भइरहेको आन्दोलन, कोशी प्रदेशको कोशी नाम खारेजीको आन्दोलनको वारेमा पनि आफनो धारणा व्यक्त गरेका थिए ।
नेपाली जनताहरु वैदेशिक रोजगारीमा हिड्नुपर्ने वाध्यता, नेपालमा अस्थिरता, भ्रष्टाचारको विगविगी यी सबैको कारक तत्व नेपालको अहिलेको राजनैतिक अवस्था र राजनैतिक नेताहरुको अदूरदर्शिता हो भनेर ठोकुवा गर्दै आएका प्रा.डा. केसीले यस्तो अवस्थामा नेपाली जनताले शान्ति र स्थिरता, अमनचैन पाउने, देशको विकास र प्रगति हुने आशा अझैपनि क्षीण रहेको बताए ।मायाको चिनोमा लेखिएको थियो “ताप्लेजुङ जिल्ला साबिकको सावादिन गाउपालिका पछिलो संघिय संरचना अनुसार फक्ताङलुङ गाउपालिका १ सावा दिनमा बिक्रम सम्बत २०१३ सालमा जन्म भई आफ्नो बाल्यकाल त्यही गाउँघरमा ब्यक्तित्व गरी उच्च शिक्षा हासिल गर्ने सिलसिलामा धरान क्याम्पस हुदै काठमाण्डौको विभिन्न कलेजहरुमा अध्ययन गरी पुर्ण उच्चशिक्षा हासिल गर्नुभएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, बुद्धिजीवी तथा राजनितिक विश्लेषक तपाई श्री डा.सुरेन्द्र केसीले नेपाल राष्ट्र, नेपाली र नेपाली समुदायको लागि शिक्षा तथा विभिन्न क्षेत्रमा पुरयाउनु भएको योगदानले हामी ताप्लेजुङबासीहरु अत्यन्त गौरवान्वित भएका छौ ।
तपाईले गर्नुभएको योगदानको उच्च कदर गर्दै ताप्लेजुङ पाथिभरा सेवा समाज कतारको तर्फबाट हार्दिक धन्यवाद सहित सम्मान–पत्र द्धारा सम्मानित गर्दछौ ।”
ताप्लेजुङ पाथीभरा सेवा समाज कतारको अध्यक्ष कुमार खडका, वरिष्ठ उपाध्यक्ष गोपाल खतिवडा, उपाध्यक्ष डीवी गुरुङ, महासचिव सागर तुम्बाहाम्फे, सचिव विवश मादेन, प्रमुख सल्लाहकार दुर्गा प्याकुरेल, सल्लाहकार राजेन्द्र साम्याङखाम, सल्लाहकार सोम माबोहाङ, एलिना लिम्बु, निरु लिबाङ लिम्बु लगायत संस्थाका अन्य पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेपालको राजनैतिक अस्थिरताको समाधानको विकल्पको रुपमा राजसंस्था पनि हुनसक्ने संभावनाको विषयमा पनि वहस गर्न सकिने खालको पछिल्लो चरणमा आफना विचार राख्दै आएका प्रा.डा. केसी कतारमा रहँदा राप्रपाको प्रवास संगठन प्रवासी नेपाली एकता समाज (पानस) कतारद्वारा आयोजित “३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८१ को शुभकामना आदनप्रदान कार्यक्रमको प्रमुख आतिथ्यता गरेका थिए भने, विभिन्न सामाजिक संस्थाहरुद्धारा आयोजित भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रमहरुमा समेत सहभागिता जनाएका थिए ।