काठमाण्डौ - शंखरापुर सक्व नगरपालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयोजनमा “शंखरापुर सक्व महोत्सव २०८१” आयोजना हुने भएको छ ।
शंखरापुर सक्व नगर पालिकाका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठका अनुसार आउँदो माघ १६ गतेदेखि माघ १९ गतेसम्म प्राचीन सम्पदा बस्तीमा शंखरापुर सक्व महोत्सव २०८१ हुनेछ ।
उनका अनुसार महोत्सवको मूल उद्देश्य सक्वको प्राचीन बस्ती र सम्पदा बारे जानकारी गराउनु तथा शंखरापुर नगर पालीकाभित्र रहेका बिभिन्न समुदायको संस्कृति बारे प्रचार प्रसार गर्नुका साथै साँखुको बारे प्रचार प्रसार गर्नु पनि रहेको छ ।साँखु नगर मणि शैल महावदान अनुसार आजभन्दा तीन हजार वर्षभन्दा अगाडि स्थापित नगर हो ।
यहाँ भेटिएका शिलालेखहरू अध्ययन गर्दा पनि पाचौं शताब्दी देखिका शिलालेखहरू प्रमाणका रुपमा भेटिएका छन् यी शिलालेखहरूको अध्ययन गर्दा पनि यस नगरको प्राचीनता पुष्टि गर्दछ । यस नगरमा रहेको शालिनदीमा हरेक वर्ष मेला लाग्दछ तर धेरैलाई प्राचीन नगर साँखुको बारेमा जानकारी नरहेको देखिएको हुँदा यसबारे जानकारी गराउनुका साथै शंखरापुर नगर पालिकाको कृषि, पर्यटन तथा सम्पदा संस्कृतिबारे जानकारी गराउने हेतुले यो महोत्सव गर्न लागिएको हो” प्रवक्ता राधाकृष्ण श्रेष्ठले स्पष्ट गरे ।शंखरापुर सक्व यस्तो नगर हो जुन नगर काठमाडौंका अन्य नगरभन्दा अलि पृथक छ ।
काठमाडौं उपत्यकाका अन्य नगरजस्तै यो नगर, सभ्यता र सम्पदा, संस्कृतिका दृष्टिकोणले धनी नगर पालिका हो । यो नगर उपत्यकाकै सबैभन्दा पहिलो बौद्ध बिहार रहेको स्थल भनी इतिहासकार धनबज्र बज्राचार्य लगायत धेरै विद्वानहरुले पुष्टि गरेको स्थल हो ।प्रवक्ता राधाकृष्ण श्रेष्ठका अनुसार महोत्सव सफलता पूर्वक सम्पन्न गर्नका लागि नगर प्रमुख रमेश नापितको संयोजकत्वमा मूल आयोजक कमिटी गठन भएको छ ।
उपप्रमुख समिता श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत तथा ९वटै वडाका वडा अध्यक्ष सदस्य रहने गरी मूल आयोजक कमिटी गठन गरिएको छ । कमिटीको उपसंयोजकमा उपप्रमुख समिता श्रेष्ठ, सदस्य सचिवमा प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल रहनु भएको छ ।महोत्सवको उद्देश्य सहित स्थानिय उत्पादनलाई प्रवद्र्धन तथा स्थानिय व्यापारीको संरक्षण गर्ने र प्रोत्साहन गर्ने मुख्य उदेश्य सहित माघ १६ देखि १९ गतेसम्म आयोजना गर्न लागिएको महोत्सव सम्पन्न गर्नका लागि २३ उप कमिटी गठन भएको छ ।
जसमा महर्जन रत्नको संयोजकत्वमा प्रचारप्रसार उप कमिटी गठन गरिएको छ ।महोत्सवमा शंखरापुर नगर पालिकाका ९ वटै वडामा रहेका धार्मिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने, झाँकि सहित नगर परिक्रमा गर्ने, कृषि, व्यापार, हस्तकलाको प्रवद्र्धन गर्ने, नेवार खाजा, कासा खेल, परम्परागत गर गहना, भेषभुषाको प्रदर्शन बिभिन्न समुदायको जन्मदेखि मृत्युसम्मका बिभिन्न सँस्कारहरूको प्रचार, चित्रकला प्रदर्शनी, हराएका मुर्तिहरूको जानकारी गराउने तथा परम्परागत जात्राहरूको प्रदर्शनी गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
शंखरापुर नगर पालिकाका मेयर तथा महोत्सव संयोजक रमेश नापितले सबै जनसमुदायमा महोत्सवमा सहभागी भई मनोरञ्जनका साथै यस नगरका विविध पक्षका जानकारी हासिल गर्नका लागि आह्वान गरेका छन् ।