दोहा, पहिला घरदेखि अनि परदेश’को नारासहित विश्व भ्रमणमा निस्केको सांगीतिक ब्यान्ड ‘कन्दरा’ बुधबार बिहान कतार आइपुगेको छ ।
आफ्नो सांगीतिक यात्राको ३२औं वर्षगाँठको अवसर पारेर ‘‘कन्दरा’ले आउँदो १७ जनवरीमा कतारको ‘प्लानेट लन्ज एन्ड क्लब’मा प्रस्तुति दिनको लागि कतार आइपुगेको हो ।
ब्यान्डलाई कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम संयोजक रोशन अर्यालसहित सञ्चारकर्मी तथा अन्य व्यक्तित्वहरू विमानस्थल पुगेर स्वागत गरेका थिए ।
कन्दराका ‘तिमी पारी’, ‘चन्चले कान्छी’, ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ जस्ता गीत प्रस्तुत हुनेछन् ।
क्लबका सञ्चालक प्रवीण गुरुङले नेपाली संगीत धरोहरको रूपमा रहेको कन्दरा ब्यान्डको यस ऐतिहासिक साँझको हिस्सा बनी नेपाली गीत सङ्गीत प्रवर्द्धनमा सरिक बन्न सबैलाई अनुरोध गरेका छन् ।
कार्यक्रममा प्रवेशका लागि भिआइपी १००, पुरुष ७० र महिलाका लागि ३५ कतारी रियालको टिकट लाग्नेछ भने भिआइपी टेबलका लागि पूर्व बुकिङसमेत खुला गरिएको र पूर्व बुकिङ गर्नेका लागि विशेष छुट मिल्ने कार्यक्रम संयोजक अर्यालले जानकारी दिए । अर्यालले कार्यक्रमका लागि क्लबको ढोका साँझ ६ बजेबाट खुल्ने र साँझ ८ बजेबाट सांगीतिक प्रस्तुति सुरु हुने बताए ।
मुग्लिनामा रहेको भिआइपी होटेलको मीजाइनिन फ्लोरमा हुने सांगीतिक ब्यान्ड ‘कन्दरा’ बेलायतको सांगीतिक कार्यक्रम सकेर कतार आइपुगेको हो ।