काठमाण्डौ । गोकर्णेश्वर नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन आफ्नै नवनिर्मित स्पोर्ट्स सिटि हलमा समापन गरि ऐतिहासिक काम गरेको छ।
''स्वास्थ्यको लागि खेलकुद र गोकर्णेश्वरका लागि खेलाडी '' भन्ने मूल नाराका साथ नगरपालिकाका सामुदायिक र निजी गरि ३४ वटा विद्यालयहरू सहभागि रहेको जारी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन नगरपालिकाको वडा नं १ पाथिभरा स्थित स्पोर्ट्स सिटि हलमा भएको हो।
यहि गत पौष १५ गते वडा नं २ मा रहेको बाल सुधार माबि नयाँपाटी बाट शुभारम्भ गरिएको राष्ट्रपति रनिङ शिल्ड पौष २० गते सम्म प्रतियोगिता चलेको थियो।उक्त प्रतियोगिताको प्रथम उपाधि इष्टपोल स्कुलले जितेको छ । यस्तै मनकामना सेकेन्डरी स्कुल द्वितीय र चामुण्डा माध्यामिक विद्यालय तृतीय भएको छ भने अहिलेसम्म इष्टपोल स्कुलले लगातार दुई पटक रनिङ सिल्डको उपाधि जित्न सफल भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यालयहरूलाई क्रमशः रू २५ हजार, १५ हजार र १० हजार नगदसहित सम्मानपत्र, मेडल र सिल्डद्वारा सम्मान गरिएको छ ।
रनिङ शिल्ड प्रतियोगितामा मार्च पास, उसु, तेक्वान्दो, कराते,एथलेटिक्स, कबड्डी,भलिबल लगायतका विविध खेल खेलाइएको थियो ।कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख दिपक कुमार रिसालले प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिएका छन् ।
नगर प्रमुख रिसालले गोकर्णेश्वर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड बिगतका वर्षहरु भन्दा फरक र ऐतिहासिक रहेको बताएका थिए।उनले लामो समयको प्रयास पछि आफ्नो प्रतिबद्धता अनुरुप नगरपालिकाकै नवनिर्मित स्पोर्ट्स सिटिहलमा समापन गर्न पाएकोमा औधी खुशी लागेको बताएका थिए। क्षेत्रको बिकासको लागि लामो समयदेखि बृहत् काम गर्दै आएको थियो।
प्रत्येक वडामा कबड हल र खेलकुद संरचना निर्माण पुर्वाधार बिकास गर्ने मात्र नभई च्याम्पियनसीप खेल समेत ल्याउदै गरेको नगर प्रमुख रिसालले बताउदै आएका छन्। उनले अब खेल क्षेत्रको बिकासका लागि खेलकुद प्रशिक्षक सहित गोकर्णेश्वर स्पोर्टस राखिने समेत जानकारी दिएका छन् भने प्रत्येक विद्यार्थीले कुनै एक खेलमा अनिवार्य सहभागी हुनुपर्ने गरि आउँदो नीति तथा कार्यक्रमबाट व्यवस्था लागु गरिने समेत बताउदै आएका छन।