मुग्लानि खबर असार २६
विश्वकपका दुई बलिया युरोपेली राष्ट्र फ्रान्स र बेल्जियमबीचको रोचक भिडन्त आज राती ११ बजेर ४५ मिनेटदेखि सुरु हुँदैछ।
[caption id="attachment_8016" align="alignnone" width="639"]
सन् १९९८ मा विश्वकप जितेको फ्रान्स १२ बर्ष पछि फाइनल प्रवेशका लागि भिड्दै छ। फ्रान्सलाई पराजित गरेको खण्डमा बेल्जियम तेह्रौं प्रयासमा पहिलो पल्ट फाइनल प्रवेश गर्नेछ।[/caption]
फ्रान्स समूह चरणको खेलमा अस्ट्रेलियालाई २–१, पेरुलाई १–० र डेनमार्कविरूद्ध गोलरहित बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेको थियो। दुई पल्ट विश्वकपको फाइनल प्रवेश गरिसकेको ‘लेस ब्लुज’ ले दक्षिण अमेरिकाका दुई बलिया प्रतिद्वन्दी अर्जेन्टिनालाई प्रि–क्वाटरमा ४–३ र उरुग्वेलाई क्वाटरफाइनलमा २–० ले पराजित गर्दै सेमिफाइनलको समिकरण तयार पारेको हो।
फ्रेन्च टोलीको अग्रपंक्तिमा आन्टन ग्रिजमन, केलियान एमबापे र ओलिभर जिरुड फर्ममा देखिन्छन। ग्रिजमन र एमबापेले ३–३ गोल गरिसकेका छन्। मिडफिल्डमा पाउल पोग्बा, एनगोलो कान्टेको उपस्थिति निकै प्रभावशाली रहेको छ। उरुग्वेविरूद्ध क्वाटरफाइनलमा निलम्बन झेलेका ब्लेइस माटुडी आज खेलमा फर्किदै छन्। प्रशिक्षक डिडियर डेस्च्याम्पसले कोरिन्टिन टोलिसोको स्थानमा उनलाई मिडफिल्डबाट उतार्ने सम्भावना बलियो छ।
डेस्च्याम्प सन् १९९८ को विश्वकप फ्रान्सले जित्दा टोली कप्तान थिए। उनको प्रशिक्षणमा फ्रान्सले अपराजित रहँदै सेमिफाइनलको समिकरण पुरा गरेको कारणले उनीबाट धेरै आशा गरिएको छ।
फ्रान्सले यसअघि विश्वकपमा भएको दुई भिडन्तमा बेल्जियमलाई पराजित गरेको छ। ‘लेस ब्लुज’ ले १९३८ मा पहिलो चरणको खेलमै बेल्जियमलाई ३–१ ले पराजित गरेको थियो भने १९८६ मा तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियम ४–२ ले पराजित हुन पुगेको थियो।
आजको खेल बेल्जियमका लागि ३२ वर्ष अगाडिको बदला लिने अवसर पनि हो। बेल्जियम पनि यसपालि निकै सन्तुलित देखिन्छ। ‘रेड डेभिल्स’ टोलीले विश्वकपको कुनै खेल हारेको छैन।
समूह चरणको खेलमा पानामालाई ३–०, ट्युनिसियालाई ५–२ र इङ्ल्यान्डलाई १–० ले पराजित गर्दै नकआउट प्रवेश गरेको बेल्जियमले प्रि–क्वाटरमा जापानलाई ३–२ र क्वाटरफाइनलमा पाँच पल्टको विश्व च्याम्पियन ब्राजिललाई २–१ ले पराजित गरेको थियो।
बेल्जियम टोलीमा रोमेलु लुकाकु र इडेन हजार्डजस्ता विश्वस्तरीय स्ट्राइकर समावेश छन्। लुकाकुले ४ गोल गरिसकेका छन्। तर, उनी नकआउट चरणमा गोल गर्न असफल छन्। अघिल्लो खेलमा कार्ड पाएका कारण राइट विङमा थोमस मुनियर आजको खेलमा उपलब्ध हुने छैनन्। उनी निलम्बित अवस्थामा भएपनि बेल्जियम टोलीमा भिन्सेन्ट कोम्पानी र यान भेर्टुङ्घनजस्ता स्टार डिफेन्डर उपस्थित छन्।
बेल्जियमको मिडफिल्ड केभिन डि ब्रुयन र फेलानीका कारण सशक्त मानिन्छ। ब्रुयनले ब्राजिलविरूद्ध उत्कृष्ट गोल गरेका थिए। फेलानीले पनि प्रि–क्वाटरमा जापानले दुई गोलको अग्रता लिएको अवस्थामा बेल्जियमलाई खेल जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले एक गोल पनि गरेका थिए।
बेल्जियम टोलीको प्राविधिक प्रशिक्षकमा नियुक्त फ्रान्सका पूर्व स्टार स्ट्राइकर थियरी हेनरीको उपस्थिति सबैभन्दा बलियो मानिन्छ। जापानविरूद्ध दुई गोलले पछि रहेको अवस्थालाई उल्टाउन उनले दोस्रो हाफमा फेलानी र चाड्लीलाई मिडफिल्डमा गरेको परिवर्तन प्रभावशाली रहेको थियो। बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेजले प्राविधिक र रणनीतिक पक्षमा हेनरीसँग सुझाव लिने गरेका छन्।