दोहा : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपाली महिला समाज कतारको संयुक्त आयोजनामा दोहामा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
"यासमित मेडिकल सेन्टर मदिना खलिफा (साउथ) मा आज "शुक्रबारका" दिन निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको हो ।
बिहान ७ :०० बजे देखि सुरु भएको निशुल्क स्वास्थ्य शिविर मध्याह्न सम्म संचालन गरिएको थियो । शिविरबाट १९० भन्दा बढिले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा बिमआइ, ब्लड प्रेसर, ब्लड सुगर, जनरल डाक्टरहरूबाट कन्सल्ट, डेन्टल चेकअप, कोलस्ट्रोल लगायतका रोगहरूका बारेमा निःशुल्क चेकजाँच सहित सल्लाह सुझाव सहित दाँतको उपचारमा विशेष छुट रहेको थियो।
स्वास्थ्य शिविरमा आयोजक संस्था एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, महिला समाज कतार कि अध्यक्ष माया केसी,नेपाली दूतावास कतारबाट मिनिस्टर काउन्सुलर कुमार राई,अस्पताल यासमेदका तर्फबाट डा.यास्मिन लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै डा.यास्मिनले नेपाली समुदायले आयोजना गरेको स्वास्थ शिविर प्रती धन्यवाद व्यक्त गर्दै अस्पतालले नेपाली नागरिकका लागि विशेष छुट सहित सहुलियत प्रदान गर्ने बताइन ।
स्वास्थ्य शिविरमा आर्थिक अभावका कारण अस्पताल जान समस्यामा रहेका नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।