काठमाडौँ, २८ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ ।
जितका लागि कर्णाली याक्सले दिएको एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २३ रनमा समेटियो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रनको योगदान दिए । ३५ बल खेलेका उनले चार चौका र एक छक्काको सहयोगमा ३६ रन जोडेका हुन् ।
त्यसैगरी सन्दिप जोराले २४ रन बनाए भने आशुतोष घिरैया र साद विन जफरले समान १६÷१६ रन बनाए । अर्जुन साउदले १३ रन जोड्दा कप्तान रोहितकुमार पौडेल १० रनमा आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । लुम्बिनीलाई एक सय २३ रनमा समेट्नेक्रममा कर्णाली याक्सका जिसन मक्सुदले दुई विकेट लिए भने सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र विलियम बोसिस्टोले समान एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय २८ रनको योगफल बनाएको थियो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४४ रन जोडेका हुन । त्यसैगरी अर्जुन घर्तीले २५ बलमा दुई चौका र एक छक्काको सहयोगमा २५ रन बनाए ।
ओपनर बाबर हायातले २२ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे । त्यसैगरी अर्का ओपनर देव खनाल तीन रनमा आउट भए । चालडिक वाल्टनले १३ रन जोड्दा गुलसन झा आठ रनमा आउट भए । कप्तान सोमपाल कामीले सात रन जोडे । लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका विकास आग्रीले तीन विकेट लिए भने तिलकराज भण्डारीले दुई विकेट झारे । त्यसैगरी साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान एक एक विकेट लए ।
यसै खेलबाट लुम्बिनी एनपिएलबाट बाहिरिएको छ । जितसँगै कर्णाली याक्सले प्लेअफको सम्भावनालाई बलियो बनाएको छ । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।