मुग्लानी खबर २४ असार
प्रतिनिधिसभा निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार नेपाली काँग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफ्नै व्यक्तिगत खर्चमा रामेछाप जिल्लामा ९ वटा एम्बुलेन्स वितरण गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेपाली काँग्रेश रामेछापको उमेदवार पूर्ण बहादुर तामाङ (कान्छाराम) ले चुनावको समयमा रामेछापेली जनताको बीचमा गरेको प्रतिबद्धता अनुसार अषाढ २३ गते शनिबार एक भब्य कार्यक्रमको बीच कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट ६ वटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
निर्वाचनको क्रममा उनले रामेछापको दोरम्बा, सुनापति, उमाकुण्ड, खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिका लगायत विभिन्न स्थानमा एम्बुलेन्स दिने घोषणा गरेका थिए । नेपाली काँग्रेशको नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछापका जनतालाई वितरण गर्ने एम्बुलेन्सहरू फागुन अन्तिम हप्ता नै काठमाडौंमा आइसकेको भएपनि प्राबिधिक कारणले हस्तान्तरण हुन सकेको थिएन । पूर्ण बहादुर तामाङ (कान्छाराम) ले शनिबार रामेछापवासीका लागि फेरि अर्को गुन लगाएका छन् । उनले एकैपटक ६ वटा एम्बुलेन्स प्रदान गरे । एकैपटक ७० लाखभन्दा बढीको व्यक्तिगत लगानी गरी एम्बुलेन्स हस्तान्तरण गरेर उनी जिल्लाका एक्ला दानवीर भएका छन् । योसमेत उनले व्यक्तिगत रूपमा एम्बुलेन्स खरिद र मर्मतबापत खर्चिएको रकम १ करोड पुगेको छ ।
यसअघि पनि उनले जिल्लाका विभिन्न भागमा ३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेका थिए । शनिबार थपिएकासहित अब जिल्लाको दुर्गम क्षेत्रमा उनले सहयोग गरेका ९ वटा एम्बुलेन्स सञ्चालन हुनेछन् । तामाङले हस्तान्तरण कार्यक्रममा भने, ‘अझै १ शववाहन र ३ वटा एम्बुलेन्स आउँदै छन्, म चाँडै समुदायलाई प्रदान गर्छु ।’
हेर्दा एउटा परियोजनाजस्तै लाग्ने उनको सहयोगका लागि कसैको एक पैसा परेको छैन । उनको नामबाट दर्ता भएको कान्छाराम कन्स्ट्रक्सनलाई उनले सौजन्यको रूपमा राखेका छन् । अनि आफ्ना बुबाआमाको नाममा स्थापित शेरबहादुर तामाङ–जमुना तामाङ प्रतिष्ठानको नाम । जिल्लामा दु:ख परेका बेला धेरैले सम्झने नाम हो कान्छाराम ।
दुर्घटना होस् या सिकिस्त बिरामी, रामेछापको नागरिकलाई सन्चो नभएको कुरा थाहा पाएपछि उनी आफैं हेलिकप्टर लिएर उद्धारमा पुग्छन् । प्रीतिमा ६० वटाभन्दा बढी अरिंगालले टोकेर सिकिस्त भएका बिरामीलाई उनले हेलिकप्टरमार्फत उद्धार गरी बचाए ।
रामेछापको पालेवनमा भएको बस दुर्घटनामा परेका बिरामीलाई २ पटक हेलिकप्टरबाटै ओसारेर उनले पुण्य कमाएका छन् अनि खिम्तीमा गत वर्ष आएको बाढीपहिरोमा किचिएका ७ जनालाई उनले हेलिकप्टर ल्याएर उद्धार गरेका थिए । धारा बनाउन पाइप होस्, या सडक खन्न डोजर, मन्दिरलाई गजुर, गुम्बामा बुद्धको मूर्ति होस् या विद्यालयमा जस्तापाता उनी सहयोग माग्न जानेलाई रित्तो हात फर्काउँदैनन् । सहयोग गरेबापत कुनै सर्त पनि राख्दैनन् ।
गएको निर्वाचनमा कान्छाराम संघीय संसद् सदस्यमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । तर, पराजित भए । निर्वाचनमा होमिँदा उनले आफूलाई भोट हाल्नु नहाल्नु जनताको मर्जी भन्दै जिल्लावासी दाजुभाइको सुविधाका लागि आफ्नो कर्म नछोड्ने बताएका थिए । विगत वर्षहरूमा गरेका स्वास्थ्य सेवाका कुरा सुनाउँदै उनले भनेका थिए, ‘म चाँडै एम्बुलेन्स थप्छु, प्रक्रिया सुरु भइसकेको छ ।’
रामेछापको चुचुरे र ठोसे क्षेत्र समेटेर १, धोबी क्षेत्र समेटेर १ र ओख्रेनी क्षेत्रमा १ गरी केही वर्षअघिदेखि उनले सहयोग गरेका ३ वटा एम्बुलेन्स सञ्चालनमा थिए ।
शनिबार हस्तान्तरण भएका ६ वटामध्ये उमाकुण्ड गाउँपालिकाको प्रीति, गुप्तेश्वर र भुजीलाई एक, साँघुटार, देउराली र सालुलाई १, गेलु र चनखुलाई १, दोरम्बा, डडुवा र फुलासीलाई १, बेथान र हिलेदेवीलाई १ र माकादुम, खाँडादेवी र मझुवालाई १ रहेका छन् । शनिबार मन्थलीमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले एम्बुलेन्सको साँचो एम्बुलेन्स सञ्चालक समितिलाई हस्तान्तरण गरे ।
कार्यक्रममा देउवाले मानव सेवामा कान्छारामले गरेको योगदानको खुलेर प्रशंसा गरे । उनले विकट रामेछापमा सडक पुगेर पनि साधन नपुग्दा नागरिकले खेप्नुपरेको सास्ती अब अन्त्य हुने विश्वास व्यक्त गरे । कतिपय दुर्गम क्षेत्रका बासिन्दा साधन नपाएर सुविधा सम्पन्न अस्पतालसम्म पुग्न नसकेको बताउँदै देउवाले भने, ‘एम्बुलेन्सको पर्याप्तताले अब साधनको अभावमा कुनैले अकालमा मर्नु पर्दैन ।
एम्बुलेन्स हस्तान्तरण गर्ने क्रममा सभापति देउवाले व्यवसाय एवम् आम्दानीको केही रकम कट्टा गरेर सामाजिक कार्यमा लगाउनु समाजप्रति समर्पित भाव भएको बताए ।
शुक्रबारै मन्थली पुगेका देउवाले अर्को प्रसङ्गमा मुलुकमा एकदलीय तानाशाहको उदय हुने संकेत आएको भन्दै त्यसका विरुद्ध कांग्रेसले सडक र सदन दुवैतिर आन्दोलन गर्ने बताएका छन् । देउवाले पार्टीमा रहेका सबै गुटको अन्त्यका लागि अभियान थालेको पनि कार्यकर्तामाझ स्पष्ट पारेका छन् ।
कार्यक्रममा महामन्त्री डा. सशांक कोइराला, संसदीय दलका उपनेता बिजय गच्छदार, पुर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्यहरु : चित्रलेखा यादव, विर बहादुर बलाएर, शिव हुमागाईं, मोहनबहादुर बस्नेत, कांग्रेस नेता एवम् देउवाका सहपाठी शिवबहादुर खड्का लगायतको नेतृत्व तह रामेछापमा पुगेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति लवश्री न्यौपाने, पूर्व पार्टी सभापति रामचन्द्र खड्का, उपसभापति जितेन्द्र मोक्तान, नारायण बहादुर खड्का, बीरबहादुर तामाङ जील्लास्तरीय तथा स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती थियो ।
कार्यक्रमका अधिकांश वक्ताले कान्छारामको समाजप्रतिको योगदान उच्च रहेको भन्दै प्रशंसा गरे । ‘सामाजिक कार्यमा कान्छारामको सहयोगको सबैले प्रशंसा गरेका छन् । यो मानवजगत्का लागि ठूलो पुण्यको काम हो,’ गेलु चनखु एम्बुलेन्स सञ्चालक समितिका संयोजक खिलेन्द्रबहादुर खत्रीले भने, ‘सरकारले गर्न नसकेको सहयोग एक व्यक्तिबाट भयो ।’समादेशबाट