बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले विद्यार्थी नेतृत्वको क्रान्तिपछि सत्तामा पुगेको एक सय दिनको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै बहुप्रतीक्षित चुनावको तयारीका लागि देशको ‘धैर्य’ को याचना गर्नुभएको छ ।
विद्यार्थी नेतृत्वको विद्रोहले शेख हसिनाको १५ वर्षको कठोर शासनको अन्त्य गरेको केही दिनपछि अगस्ट ९ मा सरकारको ‘मुख्य सल्लाहकार’ का रूपमा ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता नियुक्त हुनुभएको थियो ।
करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा लोकतान्त्रिक संस्थाहरू पुनःस्थापना गर्ने ‘अत्यन्त कठिन’ चुनौतीलाई सम्बोधन गर्न लघुवित्तकका अग्रणी युनुसले अस्थायी प्रशासनको नेतृत्व गरिरहनुभएको छ ।
‘केही दिनभित्रै’ निर्वाचन आयोग गठन गर्ने वाचा गर्दै युनुसले चुनावका लागि समयसीमा दिन नसक्ने र यो निर्वाचन र संवैधानिक सुधारमा निर्भर रहेको बताउनुभयो ।
“म प्रतिज्ञा गर्छु कि आवश्यक सुधारहरू पूरा भएपछि हामी बहुप्रतिक्षित चुनाव गर्नेछौँ”, उहाँले प्रसारणमा भन्नुभयो, “म तपाईँलाई त्यसबेलासम्म धैर्य राख्न अनुरोध गर्दछु । दशकौँसम्म चल्ने निर्वाचन प्रणाली निर्माण गर्ने हाम्रो लक्ष्य छ । यसका लागि हामीलाई केही समय चाहिन्छ ।”
उहाँले आफ्नो प्रशासनले हसिनालाई हटाउनका लागि विरोध प्रदर्शनमाथि कारबाही गर्ने दोषीहरूलाई न्यायको सामना गर्न सुनिश्चित गर्नमा पनि ध्यान केन्द्रित गरेको र आफूले अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रमुख अभियोजक करिम खानसँग कुरा गरेको बताउनुभयो ।
बङ्गलादेशले ७७ वर्षीया हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उहाँलाई अन्तिम पटक भीडले उहाँको दरबारमा आक्रमण गर्दा हेलिकप्टरबाट भागेर छिमेकी भारत पुगेको देखिएको थियो ।
हसिनालाई ‘नरसंहार, हत्या र मानवता विरुद्धको अपराध’ को आरोपको सामना गर्न सोमबार ढाकाको अदालतमा उपस्थित हुन बोलाइएको छ तर उहाँ भारतमा निर्वासनमा हुनुहुन्छ ।
हिरासतमा रहेका उहाँको पूर्व सरकारका केही मन्त्रीहरू समान आरोपको सामना गर्न अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ ।
“हामीले जुलाई–अगस्ट विद्रोहको समयमा जबरजस्ती बेपत्ता, हत्या र सामूहिक हत्याका लागि जिम्मेवारहरूलाई मुद्दा चलाउन पहल गरिसकेका छौँ”, युनुसले भन्नुभयो ।
क्राइसिस ग्रुपका विश्लेषक थोमस किनले युनुसले सामना गरिरहेको चुनौतीलाई ‘विशाल’ भन्दै उहाँलाई सत्तामा धकेल्ने ‘नाजुक गठबन्धनमा दरारहरू देखा परेका छन्’ भनी चेतावनी दिनुभएको छ ।
“अहिलेलाई युनुस र उहाँका सहयोगीहरूको व्यापक समर्थन छ तर जनअपेक्षाहरू दोधारे छन्”, थिङ्क ट्याङ्कले बिहीबार एक प्रतिवेदनमा भनेको छ, “यदि अन्तरिम प्रशासन सुधार गर्नमा चुक्यो भने परिणाम थोरै प्रगतिसहित चाँडै चुनाव हुने सम्भावना छ; सबैभन्दा खराब अवस्थामा, सेनाले सत्ता हातमा लिन सक्छ ।”