सशस्त्र प्रहरी बलले रुपन्देहीबाट ९ महिनाको अवधिमा करिब १० करोड मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको तथ्यांकअनुसार २०८० माघ १ देखि असोज मसान्तको अवधिमा ९ करोड ७० लाख बढिको अवैध सामान नियन्त्रणमा लिई भन्सार तथा सम्बन्धित निकायमा पठाइएको उल्लेख छ ।
रुपन्देहीमा रहेको ७० किलोमिटर अन्तराष्ट्रिय सीमामा सशस्त्र प्रहरी बल खटिएको छ । खुला सीमाका कारण हुन सक्ने चोरी तस्करीलाई न्यूनीकरणमा प्रयासरत रहेको सशस्त्र प्रहरी बलका अधिकारीहरू बताउँछन् ।
यो ९ महिनाको अवधिमा सशस्त्र प्रहरीले ३ करोड ७४ लाख ५२ हजार मूल्य बराबरको कपडा, जुत्ता र खाद्यन्नलगायत वस्तु नियन्त्रणमा लिएको छ । त्यस्तै ३ करोड ७७ लाख बराबरको अवैध मालवस्तु ढुवानीमा प्रयोग भएका सवारीसाधन, ५३ लाख ८५ हजार मूल्य बराबरको प्याज, ७० लाख बढिको चिनी, ६ लाख बराबरको चिनी र ४८ लाख बराबरको ब्रोइलर कुखुरा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक दुर्गा थापाले बताए ।
यो अवधिमा गणले दुई जनालाई नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालय र एक जनालाई जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि पठाएको छ । अवैध कुखुरा तथा माछा बरामद गरी पशु क्वारेन्टाइनको रोहवरमा नष्ट गरिएको गणले जानकारी दिएको छ ।
त्यस्तै, चाडपर्वलाई लक्षित गर्दै रुपन्देहीमा ‘स्क्वायड डग’ बाट सीमा तथा शंकास्पद क्षेत्रमा निगरानी गरिँदै छ । खुला सीमाका कारण हुन सक्ने अपराध नियन्त्रण गर्न सशस्त्रले रुपन्देहीमा ५ जनाको टोलीसहित २ कुकुर परिचालन गरेको छ ।
सशस्त्र प्रहरीको प्रधान कार्यालय काठमाडौंबाट आएका स्क्वायड डग टिमले लागुऔषध, विस्फोटक पदार्थ तथा हातहतियारको निगारनी गर्नेछ ।