तिल विक्रम थेवे–दोहा कतार
११ अक्टोबर २०२४ (शुक्रबार) – पूर्वका तीन जिल्ला संस्थाहरु ताप्लेजुङ पाथीभरा सेवा समाज कतार, पाँचथर सेवा समाज कतार र ईलाम सेवा समाज कतारले नेपालीहरुको महान चाडपर्व बडादशैं, तिहार, बलिहाङ तङनाम, नेपाल सम्बत, छठपर्व–२०८१ को अवसरमा संयुक्त रुपमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्पन्न गरयो ।
ईलाम सेवा समाज कतारका महासचिव ज्ञानेन्द्र रसाइलीको संचालन रहेको संयुक्त शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा ताप्लेजुङ पाथीभरा सेवा समाजको अध्यक्ष कुमार खडकाले कार्यक्रमको अध्यक्षता गर्दै नजिकका छिमेकी जिल्लाहरु मिलेर संयुक्त रुपमा नेपालीहरुको महान चाडबाडहरुको शुभकामना आदानप्रदान गर्न ठुलो अवसर मिलेको वताए । कोशी प्रदेश अन्तर्गतका सवै जिल्लाहरुको साझा संस्था भनेर २०१७ मा कतारमा स्थापना भएको कोशी प्रदेश समन्वय परिषद कतार जिल्ला संस्थाहरुको साझा संस्था नभएर राजनीति चलखेल गर्ने संस्था, जिल्ला समितिहरु भित्र नै राजनितिक चलखेल गरेर बिटुलो पार्ने संस्था भएकोले कोशी प्रदेश समन्वय परिषद कतारको गत २० सेप्टेम्बरको परिषदको अधिवेशनपछि ताप्लेजुङले परिषद बहिष्कार गरेको र अब ताप्लेजुङ त्यहाँ जादै नजाने बताए ।
ताप्लेजुङले अध्यक्षको लागी, इलामले प्रथम उपाध्यक्ष र पाँचथरले उपाध्यक्षको उमेदवारी दिदै कोशी प्रदेशमा आपसी सल्लाह र समझदारीबाट समन्वय गरेर जान अन्तिम घडीसम्म प्रयास गरेपनि कोशी प्रदेश समन्वय परिषद र त्यहाँभित्र चलखेल गर्ने राजनितिक अनुहारहरू, निर्वाचन समितिको विधी विधान विपरित पर्दा पछाडिबाट निर्देशित भई निर्वाचन सम्पन्न गर्ने अवैधानिक कार्यशैली, पुरानो र संशोधित विधानको अस्पष्टतामै अलमलिएको कोशी प्रदेश समन्वय समितिले तीन जिल्लाहरुलाई अवमुल्यन गरेको र नजरअन्दाज गरेको हुनाले तीन जिल्लाबाट गएका सवै दश–दश जना परिषद सदस्यहरु समेत फिर्ता गरी कोशी प्रदेश समन्वय समितिलाई बहिष्कार गरेको स्पष्ट पार्दै तीन जिल्लाहरु छिमेकी जिल्ला रहेका, प्रकृति, भुगोल, जातजाति, भाषा भेषभुषा लगायत सवै कुराहरु एकअर्कामा समान भएकोले यी तीन जिल्लाहरुको संस्थागत सामाजिक, सांस्कृतिक भावना, चेतनापनि सवै समान छन् र एकता पनि बलियो भएको अध्यक्ष कुमार खडकाले बताउदै शुभकामना कार्यक्रम मार्फत सवैलाई देश विदेशमा छरिएर रहेका नेपालीहरुलाई चाडबाडको शुभकामना दिए ।
स्वागत तथा शुभकामना मन्तव्य राख्दै पाँचथर सेवा समाज कतारका अध्यक्ष लीला राईले एउटै भुगोलमा जोडिएका तीन जिल्लालाई एउटा विशेष परिस्थितिले एकढिक्का बनायो र यो एकता अब निरन्तर रहनुपर्दछ भन्दै कोशी प्रदेश समन्वय परिषदको अधिवेशन कार्यशैली ठिक नभएकोमा पाँचथर सेवा समाज कतारपनि वाहिरीएको वताए । पाँचथरलाई विधानमै उल्लेख नभएको महिला उपाध्यक्षको लेपन लगाएर पाँचथर सेवा समाजलाई पंगु बनाउन खोजेकोमा संस्थाको असहमति रहेको र अन्य अनेक जालझेल र प्रपञ्चको चलखेल भएकोले विशुद्ध सामाजिक संस्थालाई आँच आउन नदिन त्यो परिषदबाट पाँचथर बाहिरिएको बताए ।
आफनो शुभकामना मन्तव्य दिदै ईलाम सेवा समाज कतारका अध्यक्ष खडक फागो लिम्बुले ईलाम, पाँचथर र ताप्लेजुङमाथि पक्षपातको व्यवहार गर्दै परिषदले यी तीन जिल्लालाई होच्याउन खोजेको बताउदै इलाम सेवा समाज कतार पनि परिषद बहिष्कार गरेको बताए ।
असहमति परिषदसँग हो । जिल्ला संस्थाहरुसँग सदैव भाइचाराको सम्बन्ध रहिरहने, सामाजिक संस्थागत सम्बन्ध र सहकार्य रहिरहने तर कोशी प्रदेश समन्वय परिषदमा इलाम नरहने स्पष्ट पारे ।
सामाजिक अनि साझा संस्थाको नाममा घिनौना चलखेल गर्ने सामाजिक संस्थासँग ईलाम सेवा समाज कतारको सम्बन्ध नरहने र यस्ता संस्थामा ईलाम संलग्न भएर सामाजिक संस्था इलामको सामाजिक मुल्य र मान्यतालाई अवमुल्यन नगर्ने र ईलाम सेवा समाजलाई आँच आउन नदिने बताए ।
कार्यक्रममा ताप्लेजुङ सेवा समाजका प्रमुख सल्लाहकार दुर्गा प्याकुरेलले शुभकामना मन्तव्य राख्दै ताप्लेजुङ पाथीभरा सेवा समाज कतारको तर्फबाट कोशी प्रदेश समन्वय परिषदमा अध्यक्षको उमेदवार रहेकोमा अनेक चलखेल स्वरुप एकपक्षीय निर्णय गर्दै निर्वाचन समितिले विधिविधान विपरित कार्यसमिति बनाएकोमा असन्तुष्ट रहेको बताउदै निर्वाचन नै गर्नुपर्ने परिस्थिति आएको भएपनि परिषद सदस्यहरुको मताधिकारलाई हनन गर्दै चलखेलबाट जवरजस्ती कार्यसमिति बनाएको स्पष्ट पारे ।
यसैगरी ताप्लेजुङ पाथीभरा सेवा समाजका सल्लाहकार धन गुरुङ, पाँचथर सेवा समाजका प्रथम उपाध्यक्ष भवानी प्रसाद ओझा, द्धितीय उपाध्यक्ष सपना राई, ईलाम सेवा समाजका तर्फबाट संरक्षक धन बहादुर गहतराज (रोशन), बरिष्ठ उपाध्यक्ष तोरण बस्नेत र संस्थापक सल्लाहकार तिल विक्रम थेवे लगायतले सवै चाडबाडहरुको एकमुष्ठ शुभकामना दिएका थिए ।
कार्यक्रममा ताप्लेजुङ, पाँचथर र इलामका कलाकारहरुको गायन, नृत्यको बेजोड प्रस्तुतीले कार्यक्रम संगीतमय, थप रोचक र आकर्षक बनेको थियो ।
तीन छिमेकी जिल्लाहरुको एकता एक उदाहरणीय बनेको विषयमा ईलाम सेवा समाज कतारका महासचिव ज्ञानेन्द्र रसाइली, ताप्लेजुङ पाथीभरा सेवा समाज कतारका महासचिव सागर तुम्बाहाम्फे र पाँचथर सेवा समाज कतारका महासचिव सुजन गुरुङले छिमेकी जिल्लाहरुका जिल्ला संस्थाहरु एकापसमा मिलेर महत्वपुर्ण सामाजिक कार्यहरुमा सहकार्य गर्नु समन्वय गर्नु उदाहरणीय कार्य भएको र ताप्लेजुङ पाँचथर र ईलाम यी तीन संस्थाहरुले आपसी सहकार्य र समन्वय गर्दै भविष्यमा पनि थप सामाजिक कार्यक्रमहरु संयुक्त रुपमा गर्दै जान सक्ने बताए ।