दिलमाया तामाङ
काठमाडौं, १५, भदौ – अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बहुभाषिक शिक्षा सम्बन्धि बिशेष छलफल भएको छ।
५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्वसन्ध्यामा नेपाल सरकारले "Promoting multilingual education: Literacy for mutual understanding and peace" "बहुभाषिक शिक्षाको प्रवर्धन पारस्परिक समझदारी र शान्तिको लागि साक्षरता" भन्ने नारासहित विशेष अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरमा सम्पन्न यो अन्तर्क्रिया कार्यक्रममा विभिन्न अनौपचारिक शिक्षाका संघ संस्थाहरु साथै सामुदायिक सिकाइ केन्द्र (CLC) का प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा रहेको थियो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकालको अध्यक्षतामा भएको यस कार्यक्रममा बहुभाषिक शिक्षाको प्रवर्धन र यसको महत्त्वबारे विभिन्न वक्ताहरूले आ-आफ्ना विचार प्रस्तुत गरे। उनीहरूले बहुभाषिक शिक्षाले पारस्परिक समझदारी र शान्ति प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सक्छ भन्ने विषयमा गहन छलफल गरेका थिए। साथै, आगामी ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने तयारी सम्बन्धी छलफल समेत भयो।
आगामी २०८१ भदौ २३ गते मनाउन गइरहेको ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा मन्त्रीको प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना हुने जानकारी दिइयो। उक्त कार्यक्रममा साक्षरता सम्मान, साक्षरता सम्बन्धि गीत-संगीत, कविता, कथा लगायतका आकर्षक प्रस्तुतिहरू समावेश हुनेछन्।
निर्देशक ढकालले कार्यक्रममा सहभागीहरूलाई अनिवार्य ब्यानर, सांस्कृतिक पोषाक सहित र्यालीमा सहभागी हुनुपर्ने निर्देशन समेत दिएका थिए। शिक्षामा पिछडिएका समुदायहरूको सहभागिता सुनिश्चित गर्ने र बजेटको सही उपयोगको प्रतिवद्धता व्यक्त गर्दै, ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसलाई प्रभावकारी रूपमा मनाउन सम्पूर्ण सरोकार वालाहरुलाई आ-आफ्नो क्षेत्रबाट योगदान पुर्याउन आह्वान गरिएको थियो।
कार्यक्रमको संचालन शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत बैकुण्ठ आचार्यले गरेका थिए। आगामी साक्षरता दिवसको कार्यक्रम संयोजकका रूपमा कोपिला खतिवडा (काठमाडौं), बिना देउजा (भक्तपुर), र टीका ढकाल (ललितपुर) लाई तोकिएको छ।