दोहा : नेपाली व्यवसायी आयुसा श्रेष्ठले कतारमा सञ्चालन गरेको अल दाना ब्युटी सैलुन र आयुषा ब्युटी सैलुनको आयोजनामा तिज विशेष कार्यक्रम -२०२४ सम्पन्न भएको छ । "शुक्रवार साँझ नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसी सहित कतारमा रहेका महिलाहरूको समुपस्थितमा लालीगुराँस रेस्टुरेन्टमा तिज कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा सृष्टि लामा, सृष्टि श्रेष्ठ, बिन्जु श्रेष्ठले स्वागत नृत्य पेस गरे । रेस्मी सेन्चुरी, रोशन अर्याल, ईशान रेग्मी, साना महर्जन, सपना घलान, सागर सुनार, बिरेन मादेन र भुवन परियारले आफ्नो गायनले उपस्थित महिला पुरुष सबैलाई नचाए l एलिना लामा, एरिका, मनीषा जिसी बोहोरा शान्ति ओली लगायतका कलाकारहरूले आकर्षक नृत्य पेस गरे l
कार्यक्रम आफ्ना भनाइहरू राख्दै पार्लर सञ्चालिका श्रेष्ठले पछिल्लो वर्षबाट आफूले तिज कार्यक्रम मनाउन थालेको बताउँदै सबै चेलीबेटीसँग भेटघाट होस र सामूहिक रूपमा तिज मनाउन सकियोस् भन्ने हेतुले तिज कार्यक्रमको आयोजना गरिएको बताइन ।
उनले व्यवसायले मात्र सम्बन्ध बिस्तार नहुने बताउँदै एक दिन ब्युटी पार्लर बन्द गरेर सबै चेलीबेटीसँग महान् चाड तिज मनाउन पाउनु व्यापार भन्दा ठुलो हुने बताउँदै सबैलाई शुभकामना व्यक्त गरिन ।
प्रमुख अतिथि र सभापति नराखी पूर्ण मनोरञ्जन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको पहिलो चरणलाई अन्जु सुबेदी बस्नेतले सहजीकरण गरिन l कार्यक्रम सुचारु भएको केही समयमा नै सञ्चारकर्मी तथा प्रभावशाली सामाजिक व्यक्तित्व मनु खड्काले कार्यक्रमलाई सहजीकरण गरिन भने कार्यक्रमको अन्त्यमा सञ्चारकर्मी पर्ल लक्ष्मी र गायक अर्यालले सहजीकरण गरेका थिए l साँझ ६ बजे बाट सुरु भएको कार्यक्रममा महिला समाजकी अध्यक्ष केसीले शुभकामना मन्तव्य राखेकी थिइन भने राति १२ बज्दा समेत तिज गीतमा नाच्ने क्रम रोकिएको थिएन l