मुग्लानी खबर असार १२
लेखक-एनपी साउद
कार्यनीति बनाएर अघि बढ्नुपर्छ भन्नेबारे जिल्ला सभापतिहरूबाट आएका महत्वपूर्ण सुझाबले पार्टीलाई आगामी कार्यदिशा तय गर्न बल पुग्नेछ
कांग्रेसको वैधानिक परिधिभित्र पार्टीका जिल्ला सभापति भेलाको कुनै व्यवस्था गरिएको छैन । तर, विगतदेखि नै जिल्ला सभापतिहरूलाई संगठनको मूल आधारका रूपमा भने कांग्रेसले स्विकार्दै आएको छ । पार्टीको ७७ वटै जिल्लामा फैलिएको संगठनको वस्तुस्थिति र मुलुकको राजनीतिक परिवेशको सन्दर्भमा सभापतिहरूबाट लिने गरिएका सुझाबका कारण पार्टीको नीति–निर्माणका सम्बन्धमा पनि विगतदेखि नै सहयोग पुग्दै आएको छ । त्यसैको निरन्तरता हो– जिल्ला सभापतिहरूको हेटौँडा भेला ।
सभापति भेलाको औचित्य
पार्टीका आधारस्तम्भका रूपमा रहेका सभापतिहरूको भेला यसपटक अरू समयभन्दा बढी नै महत्वपूर्ण थियो । किनकि मुलुकमा जनप्रतिनिधिद्वारा जनताका लागि संविधानसभामार्फत निर्माण गरिएको संविधान कार्यान्वयनका लागि स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा गरी तीनै तहको निर्वाचन सम्पन्न भइसकेको छ । संविधान कार्यान्वयन गर्न गरिएको निर्वाचनसँगै प्रजातन्त्र स्थापनापछि प्रायः सत्ताको नजिक बसेको कांग्रेसको भूमिकामा पनि व्यापक परिवर्तन आएको छ । अधिकांश समय सत्तामा रहेको र प्रतिपक्षमा रहे पनि वैकल्पिक सरकारको प्रभाव छाड्ने गरी कांग्रेस रहँदै आएको थियो ।
तर, कांग्रेस यसपटक आगामी निर्वाचनसम्मै प्रतिपक्षमै रहने गरी नराम्रोसँग खुम्चिएको छ । यस्तो अवस्थामा हामी आफ्नो प्रभावलाई कसरी बढाउन सक्छौँ ? पार्टीको ध्यान आन्तरिक संगठन पुनर्निर्माणमा कसरी केन्द्रित गर्न सकिन्छ ? नेपालको राजनीतिमा देखिएका नयाँ चुनौतीलाई सामना गर्नका लागि आवश्यक पर्ने सुदृढ संगठन निर्माण गर्न देशव्यापी रूपमा कस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ ? भन्ने सन्दर्भमा जिल्ला सभापतिका सल्लाह र प्रस्ताव पार्टी नेतृत्वका लागि अत्यन्तै महत्वपूर्ण छन् । तसर्थ ५ देखि ७ असारसम्म हेटौँडामा सम्पन्न जिल्ला सभापतिहरूको भेला पार्टीको आन्तरिक जीवनलाई पुनर्जीवन दिन अत्यन्तै महत्वपूर्ण रह्यो ।
पार्टीभित्रका विपक्षीलाई सबक
जिल्ला सभापतिहरूको भेलाको तयारी अन्तिम चरणमा पुगेका वेला बाहिर विभिन्न माध्यमबाट भेलामा पार्टी नेतृत्व, नीति र संगठनबारे व्यापक आरोप–प्रत्यारोप हुन्छ भन्ने प्रचार गरियो । नेतृत्वलाई अप्ठ्यारो पर्छ भन्ने भ्रम पनि पार्टीभित्रैबाट फैलाउने प्रयास अथक रूपमा गरिएकै हो । तर, सभापतिहरूबाट पार्टी संगठन र नेतृत्व आगामी दिनमा कस्तो कार्यनीति बनाएर अघि बढ्नुपर्छ भन्नेबारे महत्वपूर्ण सल्लाह र सुझाब आएका छन् । ती सुझाबलाई पार्टीले एकीकृत रूपमा आत्मसात् गरेको छ । ती सुझाबले पार्टीलाई आगामी कार्यदिशा तय गर्नका लागि निश्चित रूपमा बल पुग्नेछ ।
सभापतिका यी सुझाबले पार्टीभित्र द्वन्द्व र झगडाको सन्देश प्रवाह गर्न चाहनेहरू निरुत्साहित भएका छन् । भेलामा मुलुकको विषम परिस्थितिबारे चर्चा–परिचर्चा भयो । निर्वाचनपछि कांग्रेसको वस्तुस्थितिबारे पनि चर्चा भयो । पार्टी नेतृत्व कहाँ–कहाँ सुध्रिनुपर्ने हो भन्ने विषयमा पनि जिल्ला सभापतिले लिखित र मौखिक सुझाब दिएका छन् । सँगसँगै भविष्यमा पुनः पार्टीलाई पुरानै स्थितिमा पु-याउन एकताबद्ध रूपमा मिलेर जाने आवश्यकतामाथि पनि सभापतिहरूले जोड दिएका छन् ।
गुट–उपगुटको अपसंस्कृति
अहिले कांग्रेस वास्तवमै नयाँ परिपे्रक्षमा पुनः संगठित हुन आवश्यक छ । भ्रातृसंस्थाका अधिवेशन त लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न भए । तर, उनीहरूले आआफ्नो संगठनलाई कसरी परिचालन गर्ने र जनतामाझ कसरी जाने भन्ने विषयमा स्पष्ट कार्ययोजना बनाउन सकिरहेका छैनन् । त्यसले भ्रातृसंस्थाको अधिवेशन सम्पन्न हुनु मात्रै पर्याप्त नभएको सन्देश बाहिर गएको छ । पार्टीका नर्सरीका रूपमा रहेका भ्रातृसंस्था सञ्चालनका लागि व्यवस्थित नीति र कार्ययोजना पार्टीले दिन सकिरहेको छैन । उनीहरुको वर्गीय संरचना, पार्टीभित्र उनीहरूको भूमिका, या पार्टीले वैचारिक क्षेत्रमा पनि उनीहरूलाई जसरी उपयोग गर्नुपथ्र्यो, त्यो बाटोमा पार्टी अहिले पनि लाग्न सकिरहेको छैन ।
यो पार्टीका लागि राम्रो हुँदै होइन । तसर्थ पार्टीका नर्सरीको विधानबमोजिम लोकतान्त्रिक प्रक्रियाबाट आवधिक महाधिवेशन भइसकेपछि पार्टीले तिनीहरूलाई कार्ययोजना र कार्यक्रम दिएर पार्टीले उनीहरूको भूमिकालाई विस्तार गर्नुपर्ने आवश्यकता छ । पार्टीभित्रको गुटबन्दी र अनुशासनहीनता पछिल्लो समय छताछुल्ल भएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको गुटबन्दी र अन्तर्घातको अपसंस्कृतिलाई कसरी अन्त्य गर्ने ? पार्टीभित्र अनुशासनको प्रक्रियाबाट संगठनलाई सन्तुलित रूपमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे पनि पार्टी नेतृत्वले अब तत्काल सोच्नुपर्ने आवश्यकता देखिएको छ ।
विदेशी सम्बन्धमा पुनर्विचार
पार्टीको वैदेशिक नीतिका सन्दर्भमा पनि अहिलेको भूराजनीतिक परिस्थितिअनुसार पुनः नयाँ शिराबाट चिन्तन गर्नुपर्ने अवस्था छ । भारतसँगको सम्बन्धलाई व्यवस्थित, स्वस्थकर र संस्थागत बनाउन आवश्यक छ । चीनको बढ्दो भूमिकालाई दृष्टिगत गरेर नेपालको आन्तरिक राजनीतिमा चीनले आफ्ना कुन–कुन सुरक्षा स्वार्थ कसरी पूरा गर्ने रणनीति अख्तियार गरेको छ, त्यो पहिचान गर्नु आवश्यक छ । युरोप र अमेरिकासँगको सम्बन्धलाई सामाजिक प्रजातन्त्र र लोकतान्त्रिक मूल्य पद्धतिका आधारमा यथोचित ढंगले पुनः परिभाषित गर्नु आवश्यक छ ।
व्यावसायिक कार्यकर्ता निर्माण
कांग्रेसका नेता, कार्यकर्ता र क्रियाशील सदस्य मुलुकभर फैलिएका छन् । पार्टीमा लागेकाहरूलाई व्यावसायिक रूपमा आत्मनिर्भर बनाउने पद्धतिको विकास नहुन्जेलसम्म पार्टी पनि आत्मनिर्भर हुन सक्दैन । तसर्थ, पार्टी आत्मनिर्भर बन्नका लागि पनि व्यावसायिक र सामाजिक सरोकारका क्षेत्रमा अब चासो र चिन्ता जाहेर गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत क्षेत्रमा पनि पार्टीले रणनीतिक रूपमा सहभागिता सुनिश्चित गर्नुपर्छ । उनीहरूलाई नेतृत्वदायी भूमिकामा लैजाने अथक प्रयास पनि पार्टीले गर्नुपर्छ । त्यसो नगर्दासम्म पार्टीप्रति अन्य कसैलाई पनि आकर्षित गर्न सकिन्न ।
कम भए पनि चुस्त, सशक्त र प्रखर तालिम प्राप्त सदस्यले मात्रै पार्टीको नीति, कार्यक्रम, सिद्धान्त र मूल्य–मान्यतालाई जनस्तरसम्म पु¥याउन सक्छन् । त्यसका लागि पार्टीको विधानले नै व्यवस्था गरेको प्रशिक्षण प्रतिष्ठानलाई पूर्णता दिएर देशभर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । जिल्ला सभापतिहरूको भेलाले पनि यो वर्षलाई प्रशिक्षण वर्षका रूपमा मनाउने गरी देशभर प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न सुझाब दिएको छ ।
सुझाब कार्यान्वयन
जिल्ला सभापतिहरूले दिएका लिखित र मौखिक सुझाबलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा नेतृत्व तहमा गम्भीर छलफल आवश्यक छ । सभापति शेरबहादुर देउवा शीर्ष नेताहरूसँग निरन्तर छलफलमा हुनुहुन्छ । पार्टीको पूर्णता पाउन बाँकी रहेका संरचनालाई पूर्णता दिने, केन्द्रीय समितिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र भ्रातृसंस्थालाई विस्तृत कार्ययोजना र कार्यक्रम दिएर परिचालन गर्ने विषयमा नेतृत्व गम्भीर हुनुपर्छ । केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशनपछिको दोस्रो ठूलो निकाय महासमिति बैठक बोलाउने निर्णय गरेको छ । त्यो बैठकसम्म पार्टीमा पूर्णता पाउनुपर्ने सबै निकायले पूर्णता पाएर संगठन निर्माणमा केन्द्रित हुनुपर्छ । नेता–कार्यकर्ताले जिम्मेवारी पाए भने मात्र तिनले संगठनलाई क्रियाशील बनाउन सक्छन् । केही गरेर देखाउने मनोभावना उनीहरूमा जागृत हुन्छ । यसले पार्टीलाई अर्को निर्वाचनसम्म पुरानै स्थितिमा पुर्याउन सहयोग गर्छ।