विरेन्द्र कुमार याक्थुम्वा,
झापा: सुदुरपुर्बी नेपालमा ठूलो संख्यामा रहेका याक्थुङ लिम्बू समुदायहरूको आफ्नै धर्म-संस्कार संस्कृती, भेषभुषा र भाषा लिपि रहेको यस समुदायमा आफ्नो अस्तित्व र अधिकारको लागि राजनितिक आन्दोलनहरू लामो समयदेखि गर्दै आईरहेका छन ।
आदिवासी जनजातिहरूमा पहिचानको सवालमा सक्रियताका साथ जुटेको यो समुदायको पछिलो राजनीति परिवर्तन संगै मुलुक संघीयतामा गएपछि र प्रदेश न. १-को नाम कोशी राखेपछि त्यस विरुद्धको आन्दोलन अहिलेपनि जारी छ।
प्रदेश न.१-मा सरकारले याक्थुङ/लिम्बू र मैथिली भाषालाई सरकारी भाषा कामकाजको रुपमा मान्यता दिएपनि अपबाद बाहेक उक्त भाषालाई कार्यन्वयनमा अहिलेपनि सरकार उदारवादी भएको पाईदैन र भाषा लिपिको संरक्षणको लागि समेत फाटफुट बाहेक खासै त्यो पाईदैन।
तरपनि पछिलो पुस्तामा आफ्नो मौलिक संस्कार संस्कृती, भेष भुसा/पहिरन, स्थानिय स्थलगत नाम र ब्यक्तिगत आफ्नो नाम राख्ने जस्ता रुपान्तरित चिन्तनहरू मिहिन ढङ्गले हेर्ने हो भने यो समुदायमा सभ्यताको चेतना ह्वात्तै बढेको देखिन्छ। बिगतमा लाहुरे हरुको शहर भनेर चिनिने धरान एकताका भारतको दार्जिलिङसँग पाश्चात्य संस्कृती र फेसन डिजाइनमा होडबाजी चल्ने गर्दथ्यो ।
परन्तु अहिले त्यो फेन्टासी सुन्दर नगरी धरानमा लिम्बुहरूमा घरेलु उत्पादित ढाका पहिरनको लोकप्रियताको क्रेज सास्कृतिक गतिविधिहरुमा परिवर्तन आएको प्रस्ट देख्न पाईन्छ।
एवम प्रकारले भन्दा लिम्बू समुदायमा आफ्नो पहिचान र अस्तित्व प्रतिको चेतनाको बिकासका प्रा रुपमा झापा कमल गाउँपालिका वडा न.४मा दुई बर्ष अघि स्थापित संस्था किराँत के चुम्लुङले मिति २०८१ श्रावण २० गते एक हप्ते भाषा तथा किराँत श्रीजङ्गा लिपि प्रशिक्षण कार्यक्रम सञ्चालन वडा न.४ को किराँत चोकस्थित सिंहदेवी मन्दिरको सभाहलमा गरेको थियो ।
सोही कार्यक्रममा श्रावण २६, गते शनिबार संस्थाका अध्यक्ष लक्ष्मी बेघाको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरि भव्य रुपमा समापन कार्यक्रम सम्पन्न गरेको छ।
ज्ञात अज्ञात वीर-सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण र राष्ट्रियगान बाट शुरु गरिएको उक्त कार्यक्रममा जम्मा १८ जना प्रशिक्षार्थीहरूले आफुहरुले सिकेको भाषा लिपि र अनुभव बारे सबैले मञ्चमा आएर ढुक्कसँग ब्यक्त गरेको त्यो दृष्य देख्दा अबका पुस्तामा आफ्नो भाषा र लिपिप्रति नयाँ क्रान्तिको बिगुल फुकिएको देखिन्थियो।
प्रशिक्षकका रुपमा रहेका किराँत याक्थुङ चुम्लुङका अध्यक्ष सेसेहाङ फ्याकलाई सम्मान गर्दै मायाको चिनो पनि दिएको थियो।प्रशिक्षक सेसेहाङ फ्याकले प्रशिक्षार्थीहरू मध्ये आन्तरिक परीक्षामा सुनिता लक्सम राई प्रथम र दोश्रो सुमन केरुङ भएका घोषणा गरेका थिए ।उहाँहरुलाई अग्रज समाज सेवी सुर्य याक्पाङ्देनले हौसला स्वरुप नगद पुरस्कार पनि प्रदान गरेका थिए।त्यस्तै शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथी आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद कमलका अध्यक्ष बदी साम्पाङ राईले आफ्नो बिद्यार्थी कालिन समयमा भारतको सिक्किममा अध्यनरत समयमा लिम्बू/चोङ भाषा अध्यन शुरु हुँदाका कथन र केही महिना अघि पुन: सिक्किम जादा यसै आफ्नै ठाउँको लिम्बुहरूले के-अर्थात च्याब्रुङ नाच प्रतियोगितामा जितेको सिक्किममा सुन्न पाउँदा गर्व महसुश भएको सुनाउँदै अबको पुस्ताले आफ्नो मौलिकता र भाषा लिपि अनिवार्य सिक्न जरुरी भएको बताएका थिए, किराँत याक्थुङ चुम्लुङ जिल्ला सल्लाहकार सुर्य याक्पाङ्देनले अब आफुले नगरे अरुले नगरिदिने हुदा कमल वडा न.४ बाट शुरु भएको याक्थुङ लिम्बू भाषा लिपिको तालिम सबै ठाउँमा हुनुपर्ने र सरकारले शिक्षामा विभेद गरेको भन्दै सरकारले सबै जातिको भाषामा अध्यापन गराउन ध्यान जानुपर्ने बताएका थिए।
त्यस्तै सामाजिक व्यक्तित्व विरेन्द्र कुमार याक्थुम्वाले सुदुर पुर्बका आदिवासीहरूमा पछिल्लो समय याक्थुङ लिम्बू युवा पुस्तामा आफ्नो यथार्थता मौलिकतामा चासो लिन थालेको ज्वलन्त उदाहरण सहित ब्यक्त गर्दै किराँत के चुम्लुङले एक हप्ते भाषा तथा लिपि तालिममा विद्यार्थीहरुको प्रस्तुती र शिक्षकका रुपमा रहेका लिम्बु भाषा/लिपिका अभियान्ता सेसेहाङ फ्याकको उच्च प्रसंशा गरेका थिए।
त्यस्तै किराँत राई यायोखा कमल शाखाकी उपाध्यक्ष सेलिना र नव-जागरण महिला समाजकी अध्यक्ष बिष्णु बेघाले आ-आफ्ना मन्तव्य सहित शुभकामना दिएका थिए।
त्यस्तै अथितिहरुम किराँत याक्थुङ चुम्लुङ केन्द्रीय संरक्षक एवम सामाजिक व्यक्तित्व नरेन हाङ लिम्बू, याक्थुङ युवा मन्च झापा जिल्ला सदस्य एवम कमल गा.पा संस्थापक बसन्त राज योङहाङ ( निशाम हाङ ), किराँत याक्थुङ चुम्लुङ कमल शाखाका अध्यक्ष दिवस लिम्बू, कियाचु कमलका उपाध्यक्ष मावोहाङ अमर, कियाचु कमल वडा न.३ अध्यक्ष तथा याक्थुङ कलाकार हिमाल लेछर्बो लगायत उपस्थिति रहेका थिए।
संस्थाकी सचिव राधिका केरुङ द्वारा संचालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जमुना केरुङ्ले राखेकी थिइन भने आयोजकतर्फ बाट सबैले आफ्नै याक्थुङ/लिम्बू भाषा बाटै प्रस्तुत भएका थिए।
अन्तमा: सभाध्यक्ष लक्ष्मी बेगाले किराँत के चुम्लुङले पहिलो चोटि आयोजना गरेको एक हप्ते लिम्बु भाषा तथा किराँत श्रीजङ्गा लिपि प्रशिक्षण कार्यक्रमलाई सफल पार्न शुरुदेखि अन्त्यसम्म प्रत्यक्ष अप्रत्यक्ष सबै सहयोगी र सहभागी, प्रशिक्षक सेसेहाङ फ्याक, १८ जनाले आफ्नो भाषा लिपिलाई बुझेर माया गर्ने प्रशिक्षार्थी बिद्यार्थी, उपस्थिति अंकगणितीय सबैमा धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।
भने समापनपछि याक्थुङ लिम्बुहरूको मौलिक धान नाचेर छुटेका थिए।