सुदूरपश्चिम, २५ साउन चोरी मुद्दामा कैदसजाय भुक्तान गरिसकेका धनगढी उपमहानगरपालिकाका एक व्यक्तिलाई अर्को चोरीको घटनामा प्रहरीले पक्राउ गरेको छ ।
उपमहानगरपालिका–१८ फूलबारी टोलका ३१ वर्षीय हर्कबहादुर गिरीलाई चोरी गरेर राखेका चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायललगायत गरगहना, सिक्का, घडी र रु छ हजार एक सय ३५ सहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कार्यालयका सहप्रवक्ता लोकेन्द्र कार्कीले धनगढी उपमहानगरपालिका–४ का योगेन्द्र ओझाको घरबाट नगद रु २५ हजार, ५०÷६० तोला चाँदी र १४÷१५ तोला सुनका गरगहना चोरी भएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निज गिरीलाई उक्त चाँदीका गरगहनासहित पक्राउ गरिएको बताउनुभयो ।
ओझाको घरमा यही साउन २३ गते चोरी भएको जनाइएको छ । धनगढी उपमहानगरपालिका–१ का अमन नेपाली नामका व्यक्ति बस्ने घरको कोठाबाट पक्राउ परेका गिरीले चोरी गरेका चाँदीका गरगहना सहितका सामग्री सोही ठाउँका आशा भण्डारीको घरमा राखिएको अवस्थामा बरामद गरिएको हो ।
“गिरीमाथि अनुसन्धान भइरहेको छ,” प्रहरी निरीक्षक एवं सहप्रवक्ता कार्कीले भन्नुभयो, “सुन र सुनका गरगहना चोरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।”
चोरी मुद्दामा पाँच वर्ष कैदसजाय भुक्तान गरेर गिरी यही साउन १७ गते कारागारबाट छुटेको जनाइएको छ ।