दोहा कतार : क्षत्री समाज नेपाल कतार शाखाले आफ्नो १४ औं स्थापना दिवस तथा विशेष भेला सम्पन्न गरेको छ । समाजका केन्द्रीय अध्यक्ष रिव बहादुर थापाको प्रमुख आतिथ्यता तथा कतार शाखाका अध्यक्ष श्याम कुमार डाँगीको सभापतित्वमा भेला सम्पन्न भएको हो ।
कार्यक्रममा केन्द्रीय महासचिव कृष्ण बहादुर थापासहित कतारमा समाजसेवी बौद्धिक व्यक्तित्व, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको विशेष आतिथ्यता रहेको थियो ।
वक्ताहरूले लामो समयदेखि सुस्ताएको समाज पुनः जुरमुर्याएको हुँदा निरन्तरताका लागि शुभकामना दिएका थिए ।
समाजका संरक्षक रेशम बहादुर बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रममा कोसेली रोकाले स्वागत नृत्य पस्किएकी थिइन । गायिका गुना मगर, जिया हमालले आकर्षक नृत्य पेस गरिन् भने गायिका सुमित्रा भट्टराई र गायक सुरेश विसीले आफ्ना गीतमार्फत उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए ।
भेलामा रेशम बस्नेत, महेश तामाङ, गोविन्द कटुवाल र बिर्मा खत्रीले सामूहिक गीत प्रस्तुत गरेका थिए भने नवीन नबिनाका साथमा पूरण सिंह मिलेर तयार पारेको गीति कथाले सबैको मन जितेको थियो ।
कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै महासचिव थापाले समाजलाई नेपालसहित विश्वभर सञ्जाल विस्तार गर्ने समाजले लक्ष्य लिएको बताए । उनले आगामी २ सालभित्र ५ करोडको अक्षयकोषको स्थापना गर्न लागिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि थापाले समाजको पछिल्लो संशोधित विधान समाजलाई हस्तान्तरण गर्दै कतार शाखालाई केन्द्रीय समितिले नयाँ विधान बमोजिम वैधानिकता प्रदान गरेको घोषणा गरेका थिए । उनले कतार शाखालाई शुभकामना दिँदै क्षत्री समाज विशुद्ध समाज मात्र भएको र यस भित्र राजनीति खेल नखेलिएको स्पष्ट पारे । उनले प्रत्येक शाखाले आजीवन सदस्यता विस्तारलाई तीव्रता दिन आग्रह गरे ।
भेलामा नेपालबाट आएका अतिथिहरूले समाजका संस्थापकदेखि वर्तमान कार्यसमितिलाई संस्थाको लोगो अंकित ब्याच प्रदान गरेका थिए । सचिव शिवलाल केसीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति डाँगीले समाजलाई तीव्र गतिमा लक्ष्य हासिलतर्फ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।