काठमाडौं । झण्डै १२ हजार नेपालीलाई चुना लगाएर ‘एमएफओसीएल’ नामको प्लेटफर्म गायब भएको छ । अनलाइनमा रकम जम्मा गर्दा हजारौं आम्दानी हुन्छ भन्ने प्रलोभन देखाएको यो प्लेटफर्म नेटवर्किङ शैलीमा सञ्चालन भइरहेको थियो ।
करिब तीन महिनाअघि सञ्चालन भएको सो प्लेटफर्ममा छोटो समयमा हजारौं नेपाली प्रयोगकर्ता जोडिएका थिए ।
सबैभन्दा पहिले कुनै व्यक्तिको रेफरल लिङ्कबाट वेबसाइटमा जाने र त्यसपछि रकम जम्मा गर्न लगाइन्थ्यो । “मलाई मेरो एक जना साथीले राम्रो आम्दानी हुन्छ भनेर यसको लिङ्क दिएको थियो,” एक पीडितले टेकपानासँग भने, “त्यो लिङ्कबाट अकाउन्ट बनाई सुरुमा दुई हजार रुपैयाँ जम्मा गरें । अहिले त्यो पैसा निकाल्नै मिल्दैन ।”
साढे १२ हजार बढी सदस्य रहेको एमएफओसीएललले आफूलाई ‘एम फोकस लिमिटेड’ नामबाट चिनाएको थियो । लिङ्कको यूआरएल भने नामसँग मिल्ने किसिमको राखिएको थिएन । जति बढी प्रयोगकर्ता थप्न सकियो, त्यति नै बढी आम्दानी हुने प्रलोभन देखाई रकम जम्मा गर्न लगाइन्थ्यो ।
“जति बढी मान्छे आफ्नो लिङ्कबाट ल्याउन सक्यो, त्यति नै बढी फाइदा हुन्छ भन्ने लोभ देखायो,” अर्का एक पीडितले भने, “मैले त्यति मान्छे बाहिर बनाउनुभन्दा भनेर २५ ओटा अकाउन्टका लागि आफैले ५० हजार रुपैयाँ राखेर गाउँका भाइहरूलाई अकाउन्ट बनाउन लगाएको थिएँ । अहिले यो प्लेटफर्म नै बन्द भयो ।”
पीडितहरूलाई यो प्लेटफर्मले कसरी काम गर्छ भन्ने पनि स्पष्ट जानकारी नभएको देखिन्छ । अर्का एक पीडितले भने, “मलाई त पैसा राख्यो अनि अरू युजरलाई आफ्नो रेफ्रल लिङ्क दियो भने आम्दानी हुन्छ भनेको थियो । मैले तीन/चार जनालाई जोडेको थिएँ । पैसा पनि जम्मा भइरहेको देखिन्थ्यो । तर, अहिले प्लेटफर्म नै बन्द भयो ।”
एमएफओसीएल नेपाल नाम राखिएको टेलिग्राम च्यानलमा अहिले पनि ११ हजारभन्दा बढी सर्वसाधारण रकम फिर्ता आउने आशमा बसेका छन् । पहिले मेसेज पठाउन सकिन्थ्यो भने अहिले कसैले मेसेज पठाउन नसकिने बनाइएको छ ।
उक्त प्लेटफर्म हेर्दै जाँदा अधिकांश प्रयोगकर्ताले न्यूनतम दुई हजार रुपैयाँ जम्मा गरेको देखिन्छ । र, उक्त कम्पनीले जे टास्क पूरा गर्न भनेको छ त्यही काम पूरा गरी आजको टास्क सकियो भन्दै मेसेज पठाएको देखिन्छ । हामीले यस प्लेटफर्ममा रकम डुबाएका केही पीडितसँग कुरा गर्यौं ।
यसमध्ये अधिकांशले १० हजार रुपैयाँ बढी गुमाएको दाबी गरेका छन् । कतिपयले भने नेटवर्किङ शैलीले अरू मान्छे जोड्ने तर उनीहरूको सट्टा आफैले रकम राखेर बढी रकम डुबाएको देखिन्छ ।