काठमाडौँ, ४ साउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस– एमाले गठबन्धनको सरकार पूरा कार्यकाल टिक्ने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको नेतृत्वमा आज गएको नगरपालिका सङ्घका पदाधिकारीहरुसँगको छलफलमा उपप्रधानमन्त्री पौडेलले अहिलेको सरकार देश र जनताको लागि भएको भन्दै त्यही गतिमा काम गर्न नगरप्रमुखहरुलाई आग्रह गर्नुभयो ।
“राजनीतिक स्थायित्व हुन्न कि भन्ने चिन्ता नलिनुस्”, उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, “यो सरकार पूरै अवधि रहन्छ, काम गर्दा केही अप्ठ्यारो भयो भने विकल्प खोज्न लागिँदैन, मिलेर काम गर्छौँ ।”
उहाँले नगरप्रमुखहरुलाई सङ्घीय गठबन्धनको गतिमा काम गर्न आग्रह गर्नुभएको छ । “यो गठबन्धन तलमाथि हुन्न, अब विकल्प पनि छैन, तपाईहरु त्यही गतिमा काम गर्नुुस्”, उहाँले भन्नुभयो । उहाँले वित्तीय समानीकरणको बाँकी रकम भुक्तानीका लागि पहल गर्ने बताउनुभयो । “वित्तीय समानीकरणको बाँकी रकम निकासाका लागि पनि म पहल गर्छु”, उहाँले भन्नुभयो ।
सङ्घका अध्यक्ष ढुङ्गानाले वित्तीय समानीकरण अनुदानवापतको रकम अझै सात प्रतिशत निकासा हुन बाँकी रहेको भन्दै सो रकम निकासा गरिदिन आग्रह गर्नुभयो । “वित्तीय समानीकरणको सबै अनुदान हामीले पाएका छैनौँ, त्यो रकम तत्काल निकास गराइदिनुहुन अनुरोध गर्दछु”, अध्यक्ष ढुङ्गानाले भन्नुभयो, “वित्तीय समानिकरणको पूर्ण अनुदान आउँछ भन्नेमा हामी विश्वस्त छौँ ।”
भेटघाटका क्रममा नगरपालिका सङ्घका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।