महोत्तरी, ३० असार महोत्तरीका एक सय ३१ जनालाई होटल व्यवस्थापन विषयका विभिन्न विधामा तीन महिने सीप मूलक तालिम प्रदान गरिएको छ । मधेश प्रदेश, श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को बर्दिबास शाखाले होटल व्यवस्थापनसम्बन्धी तालिम लिएका उनीलाई आज बर्दिबासमा आयोजित एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिएको छ ।
नाथमका कार्यकारी निर्देशक सङ्गीता ओझा, मधेश प्रदेश श्रम तथा रोजगार मन्त्रालयका अधिकारी र बर्दिबास नगरपालिका प्रमुख प्रहलादकुमार क्षेत्रीलगायतले प्रमाणपत्र प्रदान गर्नुभयो । तीन महिने तालिममा खाना पकाउने आधारभूत सीप, फुड एण्ड वेभरेज सर्भिस, बारिष्टा (कफी मेकिङ्ग) बेकरी (ब्रेड केक मेकिङ्ग), हाउस किपिङ्ग र टुरिष्ट गाइडसहित छ विधामा एक सय ३१ जनाले सीपमूलक तालिम प्राप्त गरेका हुन् । तालिम लिनेमा ४२ जना महिला छन् ।
नाथम बर्दिबास शाखा प्रमुख शिवेन्द्र मल्लिकले प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा बर्सेनी आवश्यक तालिम प्रदान गर्ने गरिएको बताउनुभयो ।सोही संस्थाका सीपमूलक तालिम संयोजक सतिश मिश्रले तालिमप्राप्त जनशक्तिले आआफ्ना विधामा जुनसुकै मुलुकमा सेवा दिनसक्ने बताउनुभयो ।
बर्दिबास नगरप्रमुख क्षत्रीले नाथम बर्दिबास शाखासँगको सहकार्यमा प्राविधिक शिक्षा र उद्यमशीलता प्रवर्द्धनका लागि काम भइरहेको बताउनुभयो । नाथमका प्राचार्य रामकैलाश बिच्छाले तालिम प्राप्त दक्ष जनशक्तिले स्वदेश वा विदेश राम्रो आयआर्जन र स्वरोजगार बन्नसक्ने धारणा राख्नुभयो ।
विसं २०७७ मा स्थापना भएको नाथम बर्दिबास शाखाले र २०७९ सालदेखि स्नातक विषयको पठनपाठनका साथै अभ्यास गराउँदै आएको शाखा प्रमुख मल्लिकले जानकारी दिनुभयो ।