दाङ, २२ असारः अविरल वर्षाका कारण गढवा गाउँपालिका–५ स्थित गङ्गदी खोलामा आएको बाढीले रा१त २१६६ नंको ट्र्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ ।
खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षीय छेदीराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदीको आएको बाढीमा फसेकामध्ये दुईजनाको सकुशल उद्धार गरिएको छ भने एकजना बेपत्ता भएका छन् ।
दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार राजपुर गाउँपालिका–२ का तीनजना किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीनजनासँगै रहे पनि एकजनालाई बाढीले बगाएको हो भने दुईजना सिमलको रूखमा चढेकालाई सुरक्षाकर्मीले उद्धार गरेका हुन् ।
राजपुर गाउँपालिका–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको हो । उनीहरूसँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता भएको दाङका प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाँउपालिका–५ लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन् । सशस्त्र प्रहरी नेपालले डुबानमा परेकाहरुलाई उद्धार गरिरहेको बताइएको छ । वर्षाका कारण तुलसीपुर–घोराही सडक बन्द भएको छ । सो सडकखण्डमा पर्नेे सेवार खोलामा पुल निर्माण भइरहेको र त्यहाँ निर्माण भएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो ।
वर्षाका कारण राप्ती लोकमार्गअन्तरर्गत तुलसीपुर सल्यान सडक पनि अवरुद्ध भएको छ । कपुरकोटदेखि तल पहिरोसहितको लेदो माटो खस्दा बाटो अवरुद्ध भएको हो । बबई नदीमा पनि बाढी आएको छ । स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्यूठानको चकचकेमा पहिरो खस्दा दाङको भालुवाङ–प्यूठान सडक पनि अवरुद्ध भएको छ । त्यस्तै, रोल्पाको सहिदमार्ग, पहिरोका कारण सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।