दोहा : सनैयामा अवस्थित फुलबारी रेस्टुरेन्टको आयोजनामा बृहत साङ्गितिक कार्यक्रम सम्पन्न भएको छ ।
नेपालबाट आमन्त्रित कलाकारहरु सर्जक तथा बहुचर्चित लोक गायक पशुपति शर्मा, मोडल तथा चर्चित नृत्य कलाकारद्वय करिश्मा ढकाल र सबिता भुसालको साथै कतारमा रहेका स्थानिय कलाकार हरुको विशेष प्रस्तुतिहरुमा बृहत साङ्गितिक कार्यक्रम सम्पन्न गरिएको हो ।
फुलबारी रेस्टुरेन्टका संचालक श्याम प्रसाद पौडेलको सभापतित्व, नेपाली राजदुतावास कतारका उपप्रमुख कुमार राईको प्रमुख आतिथ्यता, एनसीसी कतारका अध्यक्ष रमेश भट्ट लगायत कतारमा स्थापित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक अभियान्ता, समाजसेवी, बुद्धिजीवीहरुको साथै कलाकार, पत्रकार, र उल्लेखनीय दर्शकहरुको बृहत उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक रोशन अर्यालले स्वागत मन्तव्य राखेका थिए भने एनसीसी कतारका अध्यक्ष रमेश भट्ट र प्रमुख अतिथी नेपाली राजदुतावास कतारका उपप्रमुख कुमार राईले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मोडल सबिता भुसालले घर कता हो बहिनीको, उखु गुलियो, मेरो माया नरिसाउ त्यसरी, गल्बन्दी लगायतका गीतमा आकर्षित बनाएकी थिइन ।
अब भेट खाडितिरै हो भन्ने गीत गाउदै स्टेजमा देखिएका गायक शर्माले स्याङ्जा जाने बाटैमा तनहुँ, सात समुन्द्र पारी तिरै हो, क्यार्न मया मारिच्यौ, लुट्न सके लुट,मेरी मया बसेको ठाउँमा लगायतको उत्कृष्ट गीतहरू गाएर माहोल अझै धेरै सङ्गीतमय बनाएर दर्शकलाई झुमाएका थिए ।
चर्चित मोडल तथा डान्सर करिश्मा ढकालले उपस्थित सबैलाई सम्बोधन गर्दै मीठो मुस्कान सहित स्टेजमा देखिँदा दर्शहरु निकै उत्साहित देखिएका थिए करिश्माले केही गीतमा उत्कृष्ट नृत्य पेस गरेकी थिइन ।
दिपजङ्ग शाहीले औपचारिक र भानु शर्माले सहजीकरण गरेका “फुलबारी साँस्कृतिक कार्यक्रम”को अन्तमा सास्कृतिक प्रस्तुति दिने सम्पुर्ण कलाकारहरुलाई पारिश्रमिक सहित मायाको चिनो सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रमका सभापति तथा रेस्टुरेन्ट संचालक श्याम प्रसाद पौडेलले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए ।