दोहा : धादिङ सेवा समाज कतारले चर्चित लोकदोहोरी गायिका अस्मिता डल्लाकोटिसँग भेटघाट तथा सम्मान गरेको छ । कतारको नज्मा स्थित ओल्ड दरबार रेष्टुरेन्टको सभाहलमा विशेष कार्यक्रम आयोजना गरि भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
समाजका संयोजक सोमनाथ कडेलको सभापतित्व तथा गायिका अस्मिता डल्लाकोटिको प्रमुख आतिथ्यतामा तनहुँ सेवा समाजको आयोजनाको कार्यक्रमको निमन्त्रणालाई सांगितिक प्रस्तुति मार्फत सम्बोधन गर्न कतार आएको अवसर पारेर धादिंङ सेवा समाज कतारले दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको छ ।
प्रमुख अतिथि कलाकार अस्मिता डल्लाकोटिले नेपालबाट कतार आएर आफ्नो प्रस्तुति दिन पाउँदा आफूलाई निकै गौरव भएको अनुभुती बताइन् । कतारसम्म आउने अवसर मिलाई दिएकोमा तनहू सेवा समाज कतारलाई आभार प्रकट गर्दै धादिङ सेवा समाज कतारले दिएको यो माया र सम्मानले जन्मभुमि प्रती जिम्मेवारी थपिएको र थप गित संगितमा मिहेनत गर्न ऊर्जा मिलेको बताइन ।
सम्मान कार्यक्रममा नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष सुवास तामाङ ,प्रवासी नेपाली एकता मञ्च कतार प्रमुख सल्लाहकार गणेश ढकाल,कबिन्द्र कडेल, नेपाल आदिवासी जनजाति महासंघ कतार शाखाका महासचिव धीरेन तामाङ,महिला समाज कतारकी महासचिव मेनुका खतिवडा, तनहू सेवा समाज कतारका अध्यक्ष पदम गिरी लगाएत विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
सम्मान कार्यक्रममा धादिङ सेवा समाज कतारका सह-संयोजक रोम राना मगरको स्वागत मन्तब्य रहेको थियो भने संचालन समाजका सचिव आयुस घलेले गरेका थिए ।
कार्यक्रमको अन्तमा कार्यक्रमका सभापतिसोमनाथ कँडेलले धादिङको माटोले जन्माएको कलाकार अस्मिता डल्लाकोटीलाई कर्म भुमिमा सम्मान गर्न पाउँदा खुसी लागेको बताएका थिए । साथै आगामी दिनमा कलाकार डल्लाकोटिलाई लोक-दोहोरीको सांगीतिक यात्रा र सफलताको शुभकामना समेत दिएका थिए साथै गृह जिल्लाकि चेली कोइलीकण्ठ भएकि कलाकार भेटघाट तथा सम्मान गर्ने अवसर प्रदान गराइदिएकोमा तनहू सेवा समाज कतार प्रति हार्दिक आभार प्रकट गरे।