दोहा । कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना" भन्ने मूल नाराका साथ सन् : २००२ मा स्थापना भएको दोहा कतारको पुरानो संस्था कास्की आदर्श समाज कतारले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली राष्ट्रिय चाड्पर्वहरु तथा अङ्ग्रेजी नयाँ वर्षलाई सम्झदै शुभकामना आदानप्रदान गरिएको कार्यक्रमको सभापति संस्थाका अध्यक्ष अग्निधर देवकोटा थिए भने प्रमुख अतिथि नेपाली नियोगमा प्रथम सचिव कृष्ण कुमार सुवेदी रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले समाजले गरेका कार्यको तारिफ गर्दै आगामी दिनमा पनि अझै उत्कृष्ट सामाजिक कार्यको अग्रिम शुभकामना व्यक्त गरेका थिए । उनले कार्यक्रमलाई उदेश्य परक बनाउनु पर्ने भन्दै कास्की आदर्श समाजले भकुण्डो खेलाउने काम सङ्गै राष्ट्रको प्रतिनिधित्व गर्दै जिल्लाका महत्वपूर्ण स्थान र पोखराको प्रचारप्रसार गर्दै पर्यटन प्रबर्द्धन गर्न सुझाव दिएका थिए ।
सोहि कार्यक्रममा एनआरएनए कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी लगायत कतारको नेपाली समाजका सामाजिक अभियान्ताहरु तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले समेत शुभकामना दिएका थिए ।
कार्यक्रममा समाजले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद विभागको समन्वय र सहकार्यमा आयोजना गरेको लोकप्रिय "खुला पुरुष भलिवल प्रतियोगिता २०२३" मा सहयोग गर्ने ब्याक्तित्वहरु, संघसंस्थाहरु, खेलाडी, पत्रकार तथा विभिन्न सामाजिक क्रियाकपालहरुमा सहभागी सबैलाई सम्मान गरेको थियो।
कास्की आदर्श समाज कतारले सम्पन्न गरेको शुभकामना कार्यक्रम न्यु सलाता स्थित कतार च्यारिटीको हलमा सम्पन्न भएको थियो । समाजका अध्यक्ष अग्निधर देवकोटाले सभापतित्व गरेको कार्यक्रमको संचालन सचिव बिष्णु तिमिल्सिनाले गरेका थिए ।