काठमाडौँ, शंखरापुर नगरपालिकामा एक महिना सम्म लाग्ने शालीनदी माघ मेलाको नगर प्रमुख रमेश नापितको नेतृत्वमा अनुगमन सम्पन्न भएको छ।
नगरप्रमुख रमेश नापितको नेतृत्वमा उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, अधिकृतहरू सुभद्रा पुडासैनी, राममणि ढकाल, सीतादेवी गुरागाईं, अर्जुनप्रसाद चौलागाई, नगर प्रहरी प्रमुख आङकाजी शेर्पा लगायतको टोलीले बजार अनुगमन गरेको हो।
शंखरापुर नगरपालिकाको साँखु स्थित पौष शुक्ल पूर्णिमा देखी माघ शुक्ल पूर्णिमा १ महिना सम्म लाग्ने माधवनारायण ब्रत तथा सालीनदी माघ मेलाको बजार अनुगमन गरिएको हो।अन्य दिनको दाँजोमा शनिबारको दिन अत्यधिक रुपमा भक्तजनको घुइँचो लाग्ने हुनाले मेलाको अवस्था,ब्यवस्थापन ,खानपिनमा गुणस्तरीयतालाई ध्यानमा राख्दै शुक्रवारको दिन नगरप्रमुख रमेश नापितको नेतृत्वमा दर्जन बढी खाद्य सामग्री पसलहरु लगायत विविध क्षेत्रको अनुगमन गरिएको हो।
अनुगमनका क्रममा सम्पुर्ण भक्तजनहरुको लागि कुनै पनि प्रकारको कठिनाई झेल्नु नपरोस र सहज वातावरणमा पूजापाठ तथा दर्शन गरि घर फर्किने तिर्थयात्रीका लागि लक्षित गरेर सञ्चालन गरिएका होटलहरुले मूल्य सूची राखे–नराखेको, खाद्य बस्तु सफा,स्वच्छ भए नभएको,मूल्य दर उपयुक्त भए नभएको, पार्किङमा बढी शुल्क लिए, नलिएको, यात्रुबहाक बसले यात्रुले देख्ने ठाउँमा भाडा दर राखे–नराखेको लगायतका बारेमा अनुगमन गरिएको हो ।
यसैक्रममा नगरप्रमुख रमेश नापितले सालीनदी मेलामा आउने भक्तजनहरु नठगिउन र सहज रुपमा माधवनारायण भगवानको दर्शन गर्ने वातावरण मिलाउन नगरपालिका प्रतिबद्ध रहेको बताउदै शालीनदी मेलामा आउनुभएका भक्तजनहरूले ताजा खानेकुरा,सरसफाई अवस्था, उपर्युक्त निर्धारित मूल्य सूचि, पार्किङ शुल्क,सार्वजनिक बसको भाडादर लगायतका विषयमा अनुगमन गरिएको बताउदै कानुनविपरित गर्नेहरुलाई कार्बाही गर्ने चेतावनी समेत दिइएको बताउनु भयो।
मेयर नापितले अनुगमनका क्रममा भक्तजनहरूले कुनै गुनासो नगरेको र सन्तुष्टि रहेको बताउदै सालीनदी मेलामा देश विदेशबाट आउने भक्तजनहरूलाई ऐतिहासिक साँखु बजार, बज्रयोगिनी, मणिचूड, नारायणेश्वर, सलम्बुदेवि मन्दिर लगायतका क्षेत्रहरूको पनि भ्रमण गर्न आग्रह गर्नुभएको थियो।