दोहा, माछापुच्छ्रे बैंकले कतारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । कतार स्थित होटल र्याडिसन ब्लुमा एक कार्यक्रमका बिच बैंकले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । कतारको अलफरदान एक्सचेन्ज सँगको ब्यवसायिक साझेदारीमा कतारमा रहेका नेपालीहरु माझ सेवा सुरु गरिएको बैंकका नायब प्रमुख अधिकृत विश्वम्भर न्यौपानेले जानकारी दिनु भयो ।
पश्चिमाञ्चलको पहिलो क बर्गको कमर्शीयल बैंक माछापुच्छ्रे बैंकले कतारबाट रेमिट्यान्स सेवासँगै सम्पुर्ण बैंकिङ्ग सेवा उपलब्ध गराउने जनाएको छ । कार्यक्रममा बोल्दै अधिकृत न्यौपानेले कतारमा रहेका सम्पुर्ण नेपालीहरु माझ साझा बैंकको रुपमा स्थापित हुदै सरल सहज र भरपर्दो सेवा प्रवाह गर्न बैक प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी ब्यवसायिक साझेदार अल्फर्दान एक्सचेन्जका हेड अफ अपरेशन मोहम्मद हिसाबले नेपाली हरु माझ नेपालको क बर्गको बैक सेवा लिएर आएकोमा खुशी ब्यक्त गर्दै सबै नेपालीहरुलाई सरल र सहज सेवा लिन सुझाब दिनु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुतावासका कार्यबाहक राजदुत कुमार राईले माछापुच्छ्रे बैंकको कतारमा भएको व्यावसायिक सेवा बिस्तारले कतारमा रहेका नेपालीहरु माझ बैंकिङ्ग साक्षरता र वित्तिय ज्ञान दिलाउन सहयोग पुग्ने बताउनु भयो । साथै उहाँले दूतावास पनि बैंकिङ्ग साक्षरताका कार्यक्रममा सहभागी हुँदै कतारमा रहेका सबै नेपालीहरु सहकार्य गर्ने योजनामा रहेको बताउनु भयो ।
यस्तै कार्यक्रममा माछापुच्छ्रे बैंकका मध्यपूर्व व्यावसाय प्रमुख सुजन सापकोटाले बैंकले प्रवासमा रहेका नेपालीहरुलाई दिने सेवा सुविधाबारे स्पष्ट पार्नु भयो । बैंकसँग सहकार्य गर्दै रेमिट्यान्स सेवा लिनेहरूले बैंक मार्फत पाउने विभिन्न सेवा सुविधाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमा सहभागीहरुले बैंक र बैंकिङ्ग साक्षरता तथा रेमिट्यान्स बारे विभिन्न जिज्ञासा राखेका थिए ।
कार्यक्रममा कतार स्थित विभिन्न राजनीति दलका बैचारिक सङ्गठन प्रमुख , जिल्ला संस्थाका प्रमुख , सामाजिक संघ संस्थाका प्रमुख , कतारमा लामो समय देखि काम गर्दै आएका सामाजिक अभियान्ता तथा अग्रजहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सामाजिक अभियान्ता तथा अग्रज ब्यक्तित्व डा. देबकाजी डङ्गोल , सागर नेपाल , कमल मणि गुराई , चानक पोख्रेल , गैरआवासीय नेपाली संघ कतारका उपाध्यक्ष कृष्ण पन्थीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
माछापुच्छ्रे बैंकले मध्यपूर्वका विभिन्न देशहरुमा आफ्नो सेवा बिस्तार गर्ने क्रममा कतारमा पनि गरेको हो । यस अघि बैंकले बहराइन, दुबाइ , कुबेत लगायतका मध्यपूर्वका देशहरुमा आफ्नो सेवा बिस्तार गरिसकेको छ ।