इलाम, १० माघ : रैथाने कला–संस्कृतिलाई पर्यटनसँग जोडेर उजागर गर्ने उद्देश्यले इलाममा कला–साहित्य महोत्सव हुने भएको छ । नेपालमा लोपोन्मुख लेप्चा समुदायको बहुसङ्ख्यक बसोबास रहेको रोङ गाउँपालिका–६ मा यही माघ २७ देखि २९ गतेसम्म कला–साहित्य महोत्सव आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
इलामस्थित चेतना नाट्य समूह र झापाको ट्रेक–८५८६ को समन्वयमा वडाले महोत्सव आयोजना गर्न लागेको वडाध्यक्ष सत्यम राईले जानकारी दिनुभयो । महोत्सवका विषयवस्तु स्थानीय विषयसँग सम्बन्धित रहने उहाँको भनाइ थियो । उहाँका अनुसार फरक किसिमले कला, संस्कृति र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा वडाले प्रयास गरेको हो ।
“कृषि, कला र संस्कृतिले सम्पन्न जिल्लाको यो वडा देशकै लोपोन्मुख लेप्चा समुदायको थातथलो रहेको ठाउँ पनि हो,” राईले भन्नुभयो, “तामाङ, राई, लिम्बू, नेवारलगायत विभिन्न जाति र संस्कृतिका झाँकीसमेत प्रदर्शन गरिनेछन् ।”
सरकारको जिम्मेवारी नागरिकका लागि रोजगारी सिर्जना गर्नु पनि भएकाले कला–संस्कृति र कृषिमा नागरिकलाई स्वरोजगार बनाउन महोत्सवले सहयोग गर्ने वडाध्यक्ष राईले अपेक्षा गरेको बताउनुभयो । “रोजगारी पाउनु भनेको कुनै कारखाना र उद्योगमा बिहान १० देखि बेलुका ५ बजेसम्म काम गर्नुमात्रै होइन,” उहाँले भन्नुभयो, “आफूसँग भएको कला र मेहेनत बेच्न सक्यो भने व्यक्ति स्वरोजगार बन्छ । अवसर नपाएर कतिपय प्रतिभा गाउँमै लुकिरहेका छन्, उनीहरूको कला उजागर गर्न सघाउनु पनि हाम्रो लक्ष्य हो ।”
महोत्सव आयोजनाका लागि नवीन तामाङको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समिति सदस्यमा धिरेन सुन्दास र धनवीर राई हुनुहुन्छ । झाँकी प्रदर्शनका लागि उपसमिति गठन गरिएका छन् । उपसमितिले सम्बन्धित समूहलाई प्रशिक्षित गर्दै नयाँ पिँढीलाई कला–संस्कृति सिक्ने अवसरसमेत प्रदान गर्नेछन् । महोत्सवमा लेप्चा समुदायको नृत्य, साकेला नृत्य, च्याबु्रङ, तामाङ सेलो, मारुनीलगायत प्रस्तुत गरिने वडाध्यक्ष राईले जानकारी दिनुभयो ।
महोत्सवको उद्घाटन माघ २७ गते पर्यटकीय झन्डीडाँडामा गरिने छ । उद्घाटनपछि सोही दिन साहित्यकार राजन मुकारुङले मुख्य वक्ताका रूपमा ‘रैथाने ज्ञानको आवश्यकता’ विषयमा मन्तव्य राख्नुहुनेछ । ‘कृषि ः सम्भावना, समस्या र सीमा’ विषयमा डा योगेन्द्रमान श्रेष्ठसहित थप दुई वक्ताबीच बहस हुनेछ । ‘कला–साहित्यभित्र गाउँको चित्रण’ विषयमा हाङयुग अज्ञात र अरू दुई वक्ताबीचको बहस पनि पहिलो दिनमा हुनेछ ।
दोस्रो दिनको कार्यक्रम सलकपुरमा आयोजना गरिएको छ । त्यस दिन ‘कविहरू गाउँ फर्किन्छन्’ कार्यक्रम सञ्चालन गरिनेछ । यसमा १० स्थानीय र १० गैरस्थानीय कवि–कवयित्रीले आफ्ना रचना सुनाउने छन् । “विश्वव्यापीकरणभित्र गाउँ’ शीर्षकमा आहुति, समुना श्रेष्ठ र अन्य दुई वक्ताबीच छलफल हुनेछ । ‘गाउँ–सहरका महिला र पुरुष’ विषयमा कैलाश राई र अन्य दुई वक्ताबीच भलाकुसारी हुनेछ । ‘हामी इतिहासमा बाँच्छौँ’ विषयमा वीरबहादुर लेप्चा र अन्य दुई वक्ताबीचको बहस सोही दिन हुनेछ ।
तेस्रो दिनको कार्यक्रम सांस्कृतिक सर्किटको जौबारीमा हुनेछ । ‘एक चित्रकारले देख्ने गाउँ’को प्रदर्शनी (चित्रकला) गरिने छ । यसमा २० स्थानीय तथा गैरस्थानीय चित्रकार सहभागी हुनेछन् र त्यही दिन स्थानीय विषय समेटिएको नाटक मञ्चन गरिनेछ । नाटकमा चेतना नाट्य समूह र स्थानीय कलाकार रहनेछन् ।
वडाध्यक्ष राईले स्थानीय कवि–कवयित्री चाहिँ वडाले सूचना प्रकाशित गरी छनोट गर्ने बताउनुभयो । वडाको कला–संस्कृति प्रचार गर्न विषयवस्तु पनि यहाँकै राखिने उहाँले बताउनुभयो । “एक कलाकारले वा कविले यो वडाको विषय लेखिँदिँदा, बोलिदिँदा र चित्र बनाइदिँदा ठूलो प्रचार हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले सबैलाई हामी गाउँकै विषय उठान गरिदिन अनुरोध गर्नेछौँ ।” स्थानीय कलाकारलाई जीविकोपार्जनसँग जोड्न महोत्सवले सहयोग गर्ने वडाध्यक्ष राईको भनाइ थियो ।
जति पुस्तान्तरण हुँदै जान्छ, गाउँको इतिहास र कथावस्तु क्रमशः हराउँदै गएको भन्दै वडाले महोत्सवमार्फत इतिहास, कला र संस्कृतिको जगेर्ना प्रयास गरेको हो । “यसअघि पनि बाँस, अलैँचीको सुत्लालगायत स्थानीय कच्चापदार्थलाई सामग्री बनाएर व्यावसायिक बन्नेबारे तालिम, गोष्ठीहरू भए तर उहाँहरू अझै व्यावसायिक बन्न सक्नुभएको छैन,” वडाध्यक्ष राईले भन्नुभयो, “यो पटक क्षमता हुने व्यक्तिको सीप प्रदर्शन गर्ने अवसर पनि हो यो ।”
स्थानीय विषयमै नाटकको तयारी गरिरहेका निर्देशक अन्वेश थुलुङले अहिले जसले पनि ठूला–ठूला भौतिक पूर्वाधारलाई मात्रै ‘विकास’को नाम दिएकाले गाउँको कला–संस्कृति संरक्षणमा चुनौती रहेको बताउनुभयो । “कला–संस्कृति भनेको समाजलाई बचाएर राख्ने माध्यम हो”, उहाँले भन्नुभयो, “गाउँ, कुनाकन्दराका सयौँ–हजारौँ कथा अझै बाहिर आउन सकेका छैनन्, तिनलाई पर्यटनसँग जोड्न पनि प्रचारको आवश्यकता छ ।”
महोत्सवको आर्थिक व्यवस्थापन भइरहेको वडाले जनाएको छ । अहिले वडामा महोत्सवका लागि बजेट व्यवस्था नभए पनि विभिन्न सहयोगीबाट यसको खर्च व्यवस्थापन गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो । “हामी खर्च गर्नमा सधैँ पारदर्शी छौँ, त्यसैले दाताले हामीलाई विश्वास गर्नुभएको छ”, उहाँले भन्नुभयो, “यसमा करिब रू चार लाख खर्च हुने अनुमान गरेका छौँ ।”