काठमाडौं, बुढानीलकण्ठ नगरपालिकामा नगर उद्यमशीलता विकासको लागि ल ३ महिने एड्भान्स ढाका तथा कपडा बुनाई तालिम वडा नं. ११ स्थित न्यू सेडलमा सञ्चालन भएको छ ।
उक्त तालिम उद्घाटन कार्यक्रममा नगर उपप्रमुख अनिता लामा, नगर प्रवक्ता नवराज भट्टराई, वडा नं. ११ का वडा अध्यक्ष राजु अधिकारी, वडा नं ०९ का वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, वडा नं ११ सदस्य सर्मिला गौतम, राजेन्द्र अधिकारी, समर गुरुङ लगायत न्यु सेडलका कार्यकारी अध्यक्ष श्रेष्ठ प्रशिक्षक बेनु श्रेष्ठ लगायत सहभागि प्रशिक्षार्थिहरुको बाक्लो उपस्थितिमा उद्घाटन गरिएको थियो ।
नगरपालिका भित्र बसोबास गर्ने महिलाहरुका लागि उद्यमशिलता बिकास मार्फत महिला उद्यमी सिर्जना, विकास तथा प्रवर्द्धन गरी स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यका साथ छनौट भएका १२ जना महिलाहरुको सहभागीतामा ३ महिने ढाका तथा कपडा बुनाई तालिम सञ्चालन गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप प्रमुख अनिता लामाले नगरपालिकामा सञ्चालन भएको ‘मेड्पा’ को सफल अभियान पश्चात उद्यम सम्बन्धी विभिन्न तालिम र अवसर प्राप्त गरेका लगायत छुटेका नगरका अन्य व्यक्ति, महिला र समूहलाई समेट्दै नगरको उद्यमशिलता विकासको लागी नगर स्तरीय अभियानको सुरुवात यस ढाका बुनाई तालिमबाट भएको जानकारी दिनुभएको छ ।
उहाँले यस अभियान मार्फत व्यवसाय गर्न उत्प्रेरणा जगाउने, व्यवसाय गर्ने विधि/तरिका सिकाउने, सिप सिकाउने, व्यवसाय गर्न आवश्यक पुँजी तथा प्रविधि खरिद गर्न सहजीकरण गर्ने र बजारीकरण गर्न आवश्यक प्राविधिक सहयोग गर्नेजस्ता कार्य गरी उद्यमशीलताका व्यवहारमा परिवर्तन गर्न निरन्तर रूपमा लागि पर्ने बताउनुभयो ।
यस्तै, नगर प्रवक्ता नवराज भट्टराईले सहभागीहरुलाई सामाजिक सञ्चालकको प्रयोगबाट गर्न सकिने बजारीकरणका रचनात्मक विधि र शैलीबारे जानकारी गराउँदै यस ढाका बुनाई तालिम पश्चात सञ्चालन हुने ढाकाका उद्योगले नगरको आर्थिक उन्नतिमा सहयोग पुर्याउने आशा राखेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित वडा नं ११ अध्यक्ष राजु अधिकारीले यस तालिमबाट तयार भएका दक्ष जनशक्तिलाई आफ्नै उद्योग निर्माण गर्न प्रेरित गर्दै आवश्यकता परेको खण्डमा अझै उच्चस्तरको प्रशिक्षणको व्यवस्था पनि गर्न सकिने बताउनुभयो ।