जाजरकोट, २२ पुस : बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ । केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो । केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताउनुभयो । उहाँले केही वर्षयतादेखि हिमालमा हिउँ पनि देखिन छोडेको जानकारी दिनुभयो ।
लालीगुराँस फुल्ने भेरी नगरपालिकाका तिमिले, डिँगा, राङ्सी, मछाइना, कुशेका पाँचकाटीया, समाइला, नलगाडको लहाँ, करुवा, डाँडागाउँ, बारेकोटका रामीडाँडालगायत गाउँमा प्रशस्तमात्रामा लालीगुराँस फुल्ने गरेका छन् । सबै लालीगुराँस नफुले पनि फाट्टफुट्टरुपमा लालीगुराँस फुलेको देख्न सकिने भेरी नगरपालिका–४ का ७७ वर्षीय खम्बजङ्ग शाहले बताउनुभयो । पहिला यस्तो हुदैन्थ्यो, अहिले हिउँ पर्न पनि छोड्यो लालीगुराँस पनि पुसमै फुल्न थालेको छ । बाह्रै महिना सेताम्यै हुने यहाँका हिमालमा पनि हिउँ देखिन छोडेको छ ।
जाजरकोटका कुशेपाटन, कराँचुली, जलजला, बारेपाटनलगायत हिमालमा अहिले हिउँ देखिन छोडेको उहाँको भनाइ थियो । “अहिले हिउँ परेकाबेला मात्र हिमाल सेता देखिन्छ अरुबेला कालापत्थर देखिन थालेका छन्”, शाहले भन्नुभयो, “यसैकारण हिउँ चितुवा, कस्तुरी, डाँफे, मुनाललगायतका जङ्गली पशुपक्षी लोप हुन थालेका छन् । चिसो र गर्मी अत्यधिक बढ्न थालेको छ ।” हिउँ नपर्दा फलफूलका बोटबिरुवा, गहुँ, जौलगायत हिउँदेबालीमा समेत असर पर्ने र उत्पादनमा ह्रास आउने स्थानीयवासीको भनाइ छ ।