कास्की, २२ पुस : पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति श्रीपती समाज सेवा पुरस्कार– २०८० बाट पुरस्कृत भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित सो पुरस्कार विन्ध्यवासिनी मन्दिरको विकाससँगै मानवीय सेवामा समर्पित समितिलाई शनिबार अर्पण गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोइरालालगायतले समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्यसचिव तीर्थ श्रेष्ठलाई नगद रु दुई लाख २२ हजार दुई सय २२ ताम्रपत्र, दोसल्ला र पदकले सम्मान गर्नुभयो ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति प्रमुख शक्तिपीठहरूमध्येमा पर्दछ । समितिले मन्दिरको संरक्षण, विकास, विस्तार र सौन्दर्यकरणमा काम गरिरहेको छ । समितिले बहुउद्देश्यीय सत्सङ्ग भवन, विन्ध्यवासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञमण्डप र पूजामण्डप, विन्ध्यावासिनी बौद्धिक विद्याश्रम, विभिन्न देवीदेवताका मठमन्दिर निर्माण गरेको छ ।
यसैगरी विन्ध्यवासिनी गुरुकूल विद्याश्रम निःशुल्क आवासीयरूपमा सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिक सेवा केन्द्रको रूपमा दिवा सेवासमेत सञ्चालनमा छ । प्राकृतिक चिकित्सालय, एम्बुलेन्स सेवा तथा शारीरिक असक्षमता भएका नागरिक र ज्येष्ठ नागरिक मन्दिर दर्शनका लागि विद्युतीय भर्याङ राखेर समाज सेवा गरेका कारण समितिलाई पुरस्कृत गरिएको गुठीका सदस्यसचिव नवराज कोइरालाले बताउनुभयो ।
यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माइती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रम पुरस्कृत भइसकेका छन् ।