दोहा : किरात समुदायले हरेक वर्ष मनाउँदै आएको साँस्कृतिक पर्व साकेला उधौली / रापावा श्यादर पिदारमा विभिन्न कार्यक्रम गरी यसवर्ष पनि कतारमा मनाइएको छ ।
यहाँ स्थापित २ किरात संस्थाहरु किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको संयुक्त आयोजनामा महान राष्ट्रिय चाड "साकेला उधौली / रापावा श्यादर पिदार -५०८३, शुभकामना आदानप्रदान तथा स्थानिय कलाकार हरुको बेजोड साङ्गितिक प्रस्तुतिमा वेलफेयर रेस्टुरेन्टको सभाहलमा भब्यतरिकाले सम्पन्न गरिएको हो ।
किरात समुदायले मनाउने प्रमुख चाडमध्ये यसलाई किरात राई जातिले साकेला, लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवार जातिले फल्षाँदर भनेर मनाउने गर्दछन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रवासी आदिबासी जनजाती महासङ्घ कतारका अध्यक्ष डिएन मगर रहेका थिए ! मन्तव्यको क्रममा मगरले बोल्दै प्रवासी भुमी कतारमा रहेरपनि आफ्ना मौलिक चाडपर्व,रिति रिवाज परम्परा जोगाउनु, मनाउन पाउनु ठुलोकुरा रहेको वताए । किराँती राष्ट्रिय चाड मनाउन जसरी ठूलो जनमानसमा आज उपस्थिति रहेको छ यो दिगो रुपमा रहोस भन्दै सुभकामना ब्यक्त गरे ।
किरात समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसितिर बसाइँ सर्ने समय भएको तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिएको विभिन्न बक्ता हरुले बताए ।
आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गलगाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता भयवह रोगव्याधिले दुःखयीनै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको जानकारी गराए ।
आफूले लगाएको बालीनाली पाकेपछि माङलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा मानिएको यस चाडमा सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिआएको बक्ताहरुले जानकारि गराए ।
कार्यक्रममा एनसिसि कतारका दृतिय उपाध्यक्ष केशव कार्की, नेपाली जनसम्पर्क समिती कतार महामन्त्री केदार भुसाल, प्रवासी नेपाली मञ्च कतार प्रतिनिधि लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।
साङ्गितिक कार्यक्रम अन्तरगत दुइओटै किराँती सस्थाहरुको तर्फबाट मौलिक भेषभुसामा कलाकार हरुले हामी हौं किराति बोल्को स्वागत नृत्य प्रस्तुति दिएका थिए भने अन्य थुप्रै स्थानिय कलाकारहरुले मौलिक सांस्कृतिक झाँकी सहित विभिन्न साँस्कृतिक प्रस्तुती पस्किएका थिए ।
गैर आवासीय नेपाली ताराको फाइनलमा पुग्न सफल गायिका गुना मगरले सुनुवारको मात्री भाषाको गीत पस्किएकी थिइन भने, कतारमा चल्दै गरेको गैर आवासीय नेपाली तारा २०२३ मा तेस्रो राउन्डमा पुग्न सफल सुनिता सेर्पाले पनि सुनुवारकै मात्री भाषाको गीतमा नृत्य पस्किएकी थिइन ।
कार्यक्रमको अन्त्यमा किरात मुल समारोहका संयोजक किरात राई यायोख्खा शाखा कतारका अध्यक्ष कार्यक्रमका सभापति जीवन राईले मन्तव्य राख्दै विभिन्न समस्याका बावजुद पनि २ ओटा संस्था मिलेर कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गरे । आगामी दिनमा कतारमा स्थापित सम्पुर्ण किराँती संस्था एकजुट भएर आफ्नो भाषा, धर्म सस्कृती, रितिरिवाज जोगाउनु पर्ने बताउदै कार्यक्रमको समापन गरेका थिए ।
औपचारिक कार्यक्रमको सन्चालन मुल समारोह समितिका महासचिव लक्ष्मी प्रसाद राइ र स्वागत मन्तव्य सुनुवार सेवा समाजका का:बा अध्यक्ष उप संयोजक कमल बिक्रम सुनुवारले राखेका थिए।