दोहा - किरात याक्थङ चुम्लङ कतारको आयोजनामा चासोक तङ्नाम (येल तङबे ५०८३) कतारमा मनाइएको छ ।
''लिम्बुवान स्यायत्तता हाम्रो प्रतिबद्धता'' भन्ने मुल नाराका साथ २२ डिसेम्बर २०२३ शक्रबारको दिन सहानियामा अवस्थित "अल दोसरी जु पार्कमा " शुभकामना आदान प्रदान तथा स्थानिय कलाकारहरुको साथमा बृहत साँस्कृतिक कार्यक्रम सप्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष सागर तुम्बाहाङ्फे लिम्बुको सभापतित्व रहेको उक्त कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष डि.एन. मगरको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका द्वितिय उपाध्यक्ष केशव कार्की, नेपाल आदिवासी जनजाति महासंघ कतारका सल्लाहकारहरु देवराज राई, धिरज चाम्लिङ राई शंखलाल तामाङ, नियम भुजेल, किशोर महर्जन लगायत विभिन्न बैचारिक,जिल्लागत सामाजिक संघ संस्था पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
सयौं दर्शकहरु सामु भव्य चलिरहेको कार्यक्रममा किरात याक्थुङ चुम्लुङ कतारका प्रमुख सल्लाहकार हर्क खजुम लिम्बु, डम्बर लिबाङ लिम्बु र राजेन्द्र सम्याङखाम लिम्बु द्वारा कार्यक्रमका सभापति र प्रमुख अतिथिलाई किराती फेटा अर्पण गरिएको थियो ।ब्यानर अनावरण पश्चात संयुक्त रुपमा आफ्नो जन्मभुमी नेपाललाई सम्झिदै नेपाली राष्ट्रिय गान गुनगुनाईयो र याक्थुङ/लिम्बुको पहिचानको क्रममा लडिरहदाँ सहिद भएका लाजेहाङ लिम्बुको नाममा मौन धारण राखिएको थियो ।
संस्थाका बरिष्ठ उपाध्यक्ष राम लुङ्वा लिम्बुले संस्थागत परिचय साथमा स्वागत मन्तव्य राखेका थिए ।भने औपचारिक र अनौपचारिक सहजिकरण संस्थाका महासचिव बिरेन मादेनले राखेको कार्यक्रममा झन्डै पाँच सय जनमानसको उपस्थिति रहेको थियो ।
सेवारो सेवारो बोलको गितमा संस्थाका कलाकारहरु उषा चेम्जोङ लिम्बु, निलसा केरुङ लिम्बु र निरु लिवाङ लिम्बु द्दारा स्वागत नृत्य पस्केका थिए । कार्यक्रमलाई अझै आकर्षक बनाउन कियाचु कतारका डेढ दर्जन कलाकारहरुद्वारा केलाङ (च्याब्रुङ नृत्य) नाच्दा वरपर रहेका अन्य विदेशी दर्शकहरुले पनि खुव खनोरञ्जन लिए ।
नेपाल मगर संघ शाखा कतार तथा मातृसंस्थाको साँस्कृतिक बिभागको तर्फबाट कियाचु कतारलाई कोसेली स्वरुप बिभिन्न भोजनजन्य खानेकुरा मिष्ठान हस्तान्तरण गरीएको थियो ।
साँस्कृतिक कार्यक्रममा गायन तर्फ गौतम सामी आङ्देम्बे लिम्बु, बिमल लिम्बु, बनिता राई, भिम कार्कीले मिठो मिठो गित पस्केका थिए गायन प्रस्तुती दिएका चारै जना अहिले कतारमा भैईरहको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित गैर आवासीय नेपाली तारा सिजन ४ का प्रतिस्पर्दी पनि हुन चारै जना गत शुक्रबार भएको दोस्रो छनौटबाट तेस्रो चरणको छनौटमा प्रवेश गरेका छन ।
यसैगरी नृत्य तर्फ उषा चेम्जोङ लिम्बु,निलसा केरुङ लिम्बु,निरु लिबाङ लिम्बु,सरिता बान्तवा राई,कुमारी लामा,जेनिसा तामाङ,प्रयागजन चौधरी, कृष्ण माया लिम्बु, खड्ग बस्नेत,सौरभ आचार्य र तनुजा तामाङ्ले उत्कृष्ट प्रस्तुति पस्केका थिए ।
कार्यक्रमका प्रमुख अतिथि श्री डि.एन. मगरले मन्तव्य राख्दै सात समुन्द्र पारी कतार प्रबासमा रहेर पनि आफ्नो भाषा,धर्म,रितिरिवाजलाई जगेर्ना गर्दै कियाचु कतारले आयोजना गरेको चासोक तङनाम येले तङ्बे ५०८३ सभ्य र भब्य रहेको बताए ।
साथमा झन्डै दुई दर्जन भन्दा बढिले धान नाच पालाम गाएका थिए र अन्त्यमा सभापतित्व गरिरहेका संस्थाका अध्यक्ष सागर तुम्बाहाङ्फे लिम्बुले समग्रमा कार्यक्रम सफलता पुर्वक सम्पन्न पार्नको निमित्त उपस्थित सबैमा धन्यबाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।