त्रिवेणी (नवलपरासी), ७ पुस : तनहुँ मित्रता मावीकी अस्मिता सुनारलाई राष्ट्र सेवामा लाग्ने उत्प्रेरणा जागेको छ । राष्ट्रिय सेवा दलले प्रदान गरेको तालिम पुरा गरि दीक्षित भएपछि प्रतिक्रिया दिँदै सुनारले भन्नुभयो, “अनुशासन, नेतृत्व भावनाको विकास अझ सबैभन्दा महत्वपूर्ण कुरा राष्ट्रलाई माया गर्नुपर्छ, राष्ट्रको सेवा गर्नुपर्छ भन्ने विषय तालिममा सिकेको छु, राष्ट्रको सेवामा लाग्नुपर्छ भन्ने भावना उजागर भएको छ ।”
राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तीखोर नवलपुरमा सञ्चालित तालिममा सहभागि अर्जुन इङ्लिस बोडिङ स्कुल गुल्मीका सलिन महतलाई राष्ट्रिय सेवा दलको तालिममा सहभागी भएपछि सिकेको विपद् व्यवस्थापनसम्बन्धी सीप समुदायस्तरमा प्रयोग गर्न सक्छु भन्ने लागेको छ । विपद्को समयमा उद्धार कार्यमा आफू लाग्नसक्ने र समुदायमा विभिन्न प्रकारका विपदको विषयमा जानकारी गराउँदै त्यसबाट क्षति न्यूनीकरणमा सहयोग पु¥याउन लाग्ने महतले बताउनुभयो । राष्ट्रलाई सङ्कट पर्दा आफूले सेवा गर्ने उहाँले बताउनुभयो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हात्तीखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा शुक्रबार राष्ट्रिय सेवा दल जुनियर डिभिजन ४९ औँ ब्याचमा सहभागी क्याडेट दीक्षित भएका छन् । उक्त ब्याचका पाँच सय ३८ जना क्याडेट दीक्षित भएका हुन् । काठमाडौँ, पर्वत, म्याग्दी, तनहुँ, लमजुङ, गुल्मी, रुपन्देही, चितवन, बाँके, पाल्पा र स्याङ्जाका गरी ११ जिल्लाका १५ विद्यालयका पाँच सय ३८ छात्र, छात्रा दीक्षित भएका हुन् ।
वार्षिक क्याम्पमा सहभागीलाई शारीरिक, सैनिक, विपद् व्यवस्थापन, व्यक्तित्व विकास तालिम साथै विभिन्न प्रतियोगितामा सहभागि गराउने गरिन्छ । एक्काइस दिनसम्म हुने वार्षिक क्याम्पमा सहभागी विद्यालयबीच प्रतियोगितात्मक खेलसमेत सञ्चालन हुने गर्दछन् ।
नेपाली सेनाको राष्ट्रिय सेवा दलले सिनियर र जुनियर डिभिजन गरी युवाहरूका लागि राष्ट्रिय सेवा दलको तालिम सञ्चालन गर्दै आएको छ । माध्यमिक तहको कक्षा ८, ९ र १० मा अध्ययनरत १४ वर्ष उमेर पूरा भएका विद्यार्थीलाई जुनियर डिभिजन र उच्च माध्यमिक तहका १६ वर्ष उमेर पूरा भएका विद्यार्थीलाई सिनियर डिभिजनको तालिम प्रदान गरिन्छ ।
सेवा दलको तालिम जम्मा एक सय दिनको हुन्छ । त्यसमध्ये ७९ दिन विद्यालयमा संस्थागत तहको तालिम सञ्चालन गरिन्छ भने २१ दिनको वार्षिक क्याम्प हुन्छ । विद्यालयका विद्यार्थीसहित दीक्षान्त समारोहमा सहभागी नारायण माध्यमिक विद्यालय पर्वतका एनसिसी समन्वय शिक्षक सञ्जय रेग्मीले राष्ट्रिय सेवा दलको तालिम धेरैभन्दा धेरैलाई प्रदान गर्ने गरी जानुपर्ने बताउनुभयो ।
तालिममा सहभागीलाई राज्यले विपद् व्यवस्थापन, राष्ट्र सेवामा समेत सहभागि गराउन सक्ने र स्वयम् व्यक्तिमा अनुशासन, इमान्दारिताको भावनासमेत बढ्ने उहाँको भनाइ छ । युवा शक्तिलाई अनुशासित, कर्तव्यनिष्ठ र निष्ठावान् बनाइ दक्ष नागरिक बनाउने उद्देश्यले विसं २०२२ मा राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । अठतालीसौँ ब्याचसम्ममा ६६ हजार सात सय ७६ जना दीक्षित भइसकेका छन् ।
उनपचासौँ दीक्षान्त समारोहमा उपस्थित मध्य पृतना हेडक्वाटरका पृतनापति उपरथी प्रदीपजङ्ग केसीले राष्ट्रिय सेवा दलको तालिमले नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जोगाइराख्न, राष्ट्रिय एकताको भावनालाई थप बलियो तथा विश्वासिलो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय सेवा दलको तालिमलाई अझ परिस्कृत र समयसापेक्ष बनाउने विषयमा पहल भइरहने बताउनुभयो ।
तालिमका क्रममा सिकेका विविध सैद्धान्तिक एवं व्यवहारिक ज्ञानले भविष्यमा आउन सक्ने चुनौतीमा आफूलाई सहजरुपमा सामना गर्न सहयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागीहरू राष्ट्रिय सङ्कटको अवस्थामा विचलित नभई समाजलाई एकीकृत र धैर्यवान् बनाइराख्न तथा राष्ट्र विकासका लागिसमेत आधारशीला भएको उपरथी केसीले बताउनुभयो ।