भेरीगङ्गा (सुर्खेत) , २७ मङ्सिर : दैलेख गुराँस गाउँपालिका–७ जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष हुनुभयो । उहाँले थाहा पाउने बेलादेखि नै घर वरपर पैयँुका बिरुवा प्रशस्त थिए । जब पैयुँ फुल्न थाल्थ्यो त्यतिबेला वनमा नै ढकमक्क देखिन्थ्यो । तर केही वर्षदेखि पैँयुका बिरुवाहरु हराउँदै गएको भन्दै भीमबहादुर चिन्ता व्यक्त गर्नुहुन्छ । पहिले त पैयुँ वनैभरि थियो । पछिल्ला आठ÷दश वर्षदेखि हराउँदै गएको बताउँदै भीमबहादुर भन्नुहुन्छ, “कात्तिक लाग्न सुरु भएपछि फुलेर ढकमक्क हुन्थ्यो, यो बिरुवालाई केही रोग लाग्यो कि रु अचेल त देख्नै मुस्किल हुन थाल्यो ।”
हिन्दू धर्मावलम्बीहरुको विभिन्न धार्मिक कार्यमा समेत पैँयुको प्रयोग गर्ने गरिन्छ । शुद्ध बिरुवा मानिने यो धर्मअनुसार ब्रतबन्ध, पूजाआजा गर्दा मौलो पुज्दा प्रयोग गरिने भए पनि हिजोआज पैयुँ नै हराउन थालेको छ । भीमबहादुर भन्नुहुन्छ, ‘‘विवाह गर्दा पैयुँ चाहिने, पूजाआजा गर्दा पैयुँचाहिने, कुल पूजा गर्दा समेत मौलो पैँयुकै हाल्नुपर्ने हुन्छ । तर अहिले यो बोट हराउन थालेपछि हाम्रो संस्कृतिमा समेत असर पर्न थालेको छ ।’’
हेमन्त ऋतुको सुरुआत भएसँगै पैयुँ ढकमक्क फुल्न थाल्छ भने गुराँस फूल वसन्त ऋतुको सुरुवातसँगै फुल्ने गर्छ । हिउँदको सुरुवातसँगै फूलहरु फुल्ने क्रम रोकिएपछि पैयुँ फुल्ने भएकाले यसलाई हिउँदमा फुल्ने फूलको रानी समेत भनिन्छ । यो फूलको रस माहुरीको लागि प्रमुख आहारा मानिन्छ । पैयुँ फुल्न थालेपछि पहाडी क्षेत्रमा गहुँ खेती गर्ने याम सुरु भएको समेत विश्वास गरिन्छ । गुराँस गाउँपालिका–८ का जगत बिसी पनि पछिल्लो पाँच÷सात वर्षदेखि पैयुँको बिरुवा हराउँदै गएको देख्दा अच्चमित हुनुहुन्छ ।
पैयुँको बिरुवा कसैसँग आयत गरेर ल्याएको बिरुवा नभएको र नेपालको रैथाने वनस्पति मानिन्छ । गुराँस गाउँपालिका–८ का वडा सदस्य महेश केसी पैयुँका बारेमा विगतदेखि नै आफू जानकार भएको बताउनुहुन्छ । ‘‘म पैयुँको बारेमा सानोदेखि नै जानकार छु । यो पहाडी क्षेत्रमा पाइन्छ । यसको फूल फुल्ने समयमा माहुरी झुल्ने गर्छ, माहुरीको प्रमुख आहारा रहेको यो बिरुवा हराउँदै गएको छ ।” यसले समग्र पर्यावरणमा समेत असर पार्न सक्ने केसी बताउनुहुन्छ ।
पैयुँमात्र होइन, फूल फुल्ने अन्य बिरुवाहरुमा समेत परिवर्तन हुन थालेको छ । यही क्षेत्रमा प्रशस्त मात्रामा पाइने लालीगुराँसलगायतका फूलहरु पनि फुल्ने महिनामा परिवर्तन आउन थालेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार गुराँस फागुनबाट फुल्न सुरु हुन्थ्यो तर अहिले पुस महिनादेखि नै फुल्न थालेको छ । पहाडी क्षेत्रमा पाइने अन्य बिरुवा पनि फुल्ने समयमा परिवर्तन आउँदा भविष्यमा ठूलो समस्या पार्न सक्ने वातावरणविद्हरु बताउँछन् ।
गुराँस गाउँपालिकास्थित कालिका माविमा वातावरण विषयका शिक्षक लोकबहादुर खड्का लालीगुराँस फुल्ने समयमा परिवर्तन भएको बताउनुहुन्छ । पहिले लालीगुराँस फुल्न थालेपछि फागुन महिनादेखि वसन्त ऋतुको आगमन भयो भनेर बुझ्ने गरिथ्यो तर अहिले पुस महिनादेखि फुल्न सुरु गर्छ । यसको फूल पनि सानो आकारमा रहेको उहाँको भनाइ छ ।
नेपालको पैयुँभनिने जापानको साकुरा अमेरिकाको चेरी भनेर चिनिन्छ । खासगरी अप्रिलमा फुल्नुपर्ने यो फुल विश्व तापमानको कारण मार्चमै फुल्ने क्रम देखिएको अध्ययन अनुसन्धानहरुले देखाएको छ । अमेरिका र जापानमा गरिएको ९० वर्षको समयावधिमा चेरी अर्थात् पैयँुको फूल फुल्ने समयको तथ्याङ्क हेर्दा अप्रिलमा फूल फुल्ने प्रवृत्ति एक महिना अगाडि नै सरेको देखिएको छ ।
जलवायु परिवर्तनका कारणले वनस्पति प्रणालीमा आएको फेरबदलको घटनालाई विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका सम्प्रेषण गर्ने गरेका छन् । यसका कारणहरुका बारेमा विश्वका विभिन्न देशमा विभिन्न अध्ययनहरु भइरहेको भए पनि नेपालमा त्यति महत्व दिइएको पाइँदैन । नेपालका पहाडी क्षेत्रमा पाइने पैँयुलगायत वनस्पतिहरु हराउँदै जानु र फूल फुल्ने समयमा समेत परिवर्तन हुनाका कारण जलवायु परिवर्तनको असर हुनसक्ने मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान सङ्कायमा अध्यापन गराइरहनुभएका प्राडा पुष्पराज आचार्य बताउनुहुन्छ ।