जाजरकोट, ११ मङ्सिर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीकोतर्फबाट ‘अस्थायी संरचना निर्माण’ अभियानको सुरुआत गर्नुभएको छ । भेरी नगरपालिका–३ थाप्लेस्थित सुशीला केसीको अस्थायी संरचनाको कामबाट अभियानको सुरुआत गरिएको हो ।
भूकम्प पीडितका कम्तीमा एक सय घर निर्माण गरेर हस्तान्तरण गरिने अध्यक्ष नेपालले जानकारी दिनुभयो । यो विपद्को समयमा सबै मिलेर अगाडि बढ्नुपर्ने भन्दै सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष नेपालले जाजरकोटका पाँच सय भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको काम भइरहेको जानकारी दिनुभयो । भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिम र जाजरकोटमा चिसोका कारण सर्वसाधारणको ज्यान गइरहेको समाचार आएको भन्दै उहाँले सरकारका संयन्त्र धेरै प्रक्रियागत कुराको पछि नलागी युद्धस्तरमा काम गर्नुपर्ने बताउनुभयो । समाजवादी पार्टी हरेक नेता तथा कार्यक्रता समाजिक सेवामा लाग्नुपर्ने उहाँको भनाइ थियो ।
राहत वितरण र अस्थायी संरचना निर्माण सँगसँगै
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भूकम्पपीडितका लागि अस्थायी संरचना निर्माण र राहत वितरणलाई सँगसँगै लैजानुपर्ने बताउनुभएको छ । उहाँले समस्यामा परेका, आर्थिक अवस्था कमजोर भएका तथा विपन्न र सुत्केरीलाई लक्षित गरेर अस्थायी संरचना निर्माण गर्न आग्रह गर्नुभयो ।
प्रक्रियाका नाममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको भन्दै युद्धस्तरमा काम गर्न मन्त्री ज्वालाले सम्बद्ध सबैलाई आग्रह गर्नुभयो । उहाँले भूकम्पपीडितको साथमा सरकार भएको भन्दै जनताको जीवन सहज हुनेग गरी काम गर्न निर्देशनसमेत दिनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा मन्त्री ज्वालाले बोलेर भन्दा काममार्फत नतिजा देखिनुपर्नेमा जोड दिनुभयो । दैनिक चिसोका कारण मानिसको मृत्यु भइरहेको खबर आइरहेको भन्दै उहाँले स्थानीय तह तथा सबै सम्बद्ध निकायलाई नजितामुखी काम गर्न आग्रह गर्नुभयो ।