काठमाडौँ, १५ असोज: निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सरकार, निजी क्षेत्र र आमसञ्चार क्षेत्रको समन्वयात्मक पहलको आवश्यकता औँल्याउनुभएको छ ।
अन्नपूर्ण एक्सप्रेसद्वारा यहाँ आज आयोजित ‘सलुट अल द पायोनियर्स अफ नेपाल’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासका लागि सञ्चारमाध्यमको रचनात्मक भूमिका हुने बताउनुभयो ।
संविधानले सबै प्रकारका विभेदको अन्त्य गर्दै समन्वयात्मक र समविकासको सिद्धान्तका आधारमा सबै धर्म, जातजाति, भाषाभाषी र क्षेत्रका जनताका लागि राज्यका निकायमा समावेशी समानुपातिक सहभागिता सुनिश्चित गरेको भए पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।
“ठूलो राजनीतिक परिवर्तनपश्चात् हाम्रो देश अहिले आर्थिक समृद्धिको बाटोमा अग्रसर छ, तर अझै पनि मुलुकले विकासका अनेकौँ चुनौतीको सामना गरिरहनु परेको छ”, उहाँले भन्नुभयो ।
जल, जमिन, जङ्गल, जडीबुटी, जैविक विविधताका साथै खनिजलगायत हाम्रा अनेकौँ प्राकृतिक स्रोतहरुको सदुपयोग र उचित व्यवस्थापन हुन नसकेको बताउँदै उहाँले कृषिप्रधान देशमा अहिलेसम्म पनि कृषिजन्य उत्पादनमा समेत आत्मनिर्भर हुन नसकेको बताउनुभयो ।
मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदाको दिगो उपयोग तथा युवा जनशक्तिको परिचालनमार्फत कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र विकास गर्नु नेपालका निम्ति मुख्य चुनौती बनेको उहाँको भनाइ छ ।
“रोजगारीका अवसर तथा गुणस्तरीय शिक्षाको खोजीमा युवा जनशक्तिका साथै ठूलो धनराशिसमेत विदेश पलायन हुनु दुःखको कुरा हो, त्यसलाई रोक्न स्वदेशमै गुणस्तरीय शिक्षाको व्यवस्था एवम् रोजगारीको सिर्जना गर्नु अति आवश्यक छ”, निवर्तमान राष्ट्रपति भण्डारीले भन्नुभयो ।
कार्यक्रममा साहित्यकार झमककुमारी घिमिरे, डा भगवान कोइराला, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, समाजसेवी डा विष्णुमाया परियार, सीमाविद् बुद्धिनारायण श्रेष्ठ र पत्रकार भैरव रिजाललगायत ५० जना पायोनियर्स व्यक्तित्वलाई सम्मान गरिएको थियो ।